+
+

बगरफाँट रासायनिक मल र विषादी मुक्त बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १०:१०

१ कात्तिक, म्याग्दी । रासायनिक मल र विषादीले वाक्क भएका बेनी नगरपालिका वडा नं ४ बगरफाँटका कृषक अहिले सो समस्याबाट मुक्त भएका छन् ।

कृषि विकास कार्यालयले दिगो भू–व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि बगरफाँटका कृषक यो समस्याबाट मुक्त भएका हुन् ।

बगरफाँटमा चार वर्षअघि २१ महिलासहित २६ जनालाई सङ्गठित गरी चेतना कृषक समूह गठन गरेर रासायनिक विषादी र मलले गर्ने हानिबारे जानकारी दिइएको थियो ।

बालीनालीमा रासायनिक विषादी र मलको प्रयोग गर्दा लगानीको तुलनामा कम उत्पादन हुने भएपछि आफूहरूले यसको प्रयोगमा कमी गर्न थालेको समूहका अध्यक्ष जीतबहादुर कार्कीले जानकारी दिए ।

बगरफाँटमा यो कार्यक्रम लागू गरिएपछि गोठेमललाई सुधार गरी घामपानीबाट बचाई नाइट्रोजनको मात्रालाई बचाउने प्रयास गरिएको छ । मल भण्डारण गरिएको स्थानमा छाप्रो हालिएको छ भने खेतबारीमा खनजोत गर्ने बेलामा मात्र मल छर्ने बानी बगरफाँटवासीमा परेको छ ।

बगरफाँटमा भकारो सुधार कार्यक्रम सुरु गरिएपछि गाईभैँसीको गोठमा सिमेन्टले प्लास्टर गरी गहुँत सङ्कलन गर्न थालिएको र यसैबाट किसानले जैविक विषादी बनाउने गरेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीका प्राविधिक श्याम क्षेत्रीले बताए ।

भाँडोमा जम्मा भएको गहुँतमा तितेपाती, बोझो, असुरो, निमपत्ता, बकाइनोलगायतका वनस्पति हालेर १५÷२० दिनसम्म भाँडो बन्द गरेर राखिन्छ ।

यसपछि पानीमा मिसाएर आवश्यकताअनुसार अन्नबाली र तरकारी बालीमा प्रयोग गर्न सकिन्छ । यसरी बनाई प्रयोग गरिएको विषादी हालेको तरकारी खाँदा मानिसको स्वास्थ्यमा नराम्रो असर पर्दैन भने यसबाट वातावरण संरक्षणमा समेत सहयोग पुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

चार वर्षअघिसम्म रासायनिक मल किनेर आम्दानीभन्दा धेरै खर्च गर्ने कृषक अहिले गोठेमलको सुधार गरी त्यसमा भएको नाइट्रोजनलाई बचाएर प्रयोग गर्न खप्पिस भएका छन् । जसले गर्दा अघिल्ला वर्षहरूमा प्रयोग गर्ने गरिएको भन्दा एक चौथाइमात्र रासायनिक मलमात्र प्रयोग गर्ने गरिएको समूहकी सदस्य तिलकुमारी कार्कीले बताए ।

बगरफाँटका कृषक अहिले हरेकले बर्सेनि खर्च कटाएर कम्तीमा १० हजारभन्दा बढीको आम्दानी गर्ने गर्छन् । धेरै आम्दानी गर्नेले रु एक लाखसम्मको आम्दानी गरेर रासायनिक विषादी र मललाई चुनौती दिइरहेका छन् ।

बगरफाँटका कृषकले सदरमुकाममा तरकारी ल्याएर बिक्री गर्दा प्राङ्गारिक तरकारी भनेर किन्नेहरूको घुइँचो लाग्ने गर्छ । प्राङ्गारिक खेती गर्न कस्सिएको बगरफाँट गाउँलाई जिल्ला कृषि विकास कार्यालय र जिविसले सहयोग गर्ने हो भने अन्य कृषकको अध्ययनका लागिसमेत उपयुक्त हुने विश्वास गाउँवासीको छ ।

रासायनिक विषादी र मलमुक्त गाउँ बनाउन जुटिरहेका बेला सबैको सहयोग भए यहाँको उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउने विश्वास बगरफाँटवासीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?