+
+

त्यो दसैं, यो दसैं : घरमा खसी काट्दा धुरुधुरु रोएँ

दसैं भन्नेवित्तिकै म सम्झिन्छु वीरगञ्ज माइस्थानमा लाग्ने मेला । वीरगञ्जमा बाल्यकाल बिताउँदा दसैंको मुख्य आकर्षण नै यहि मेला थियो ।

घटस्थापनाको दिनदेखि सुरु हुने मेलाका क्रममा रातदिन चहलपहल हुन्थ्यो । सबैभन्दा ठूलो भिडभाड चाहिँ हुन्थ्यो अष्टमीको दिन । म आफ्ना साथीहरुसित दसैंमा किनेको नयाँ लुगा लगाएर बिहानैए मेलामा पुग्थे । मेलाका लागि भनेर घरबाट एक रुपैयाँ दिनुहुन्थ्यो । अनि पहिलेदेखि नै खाजाखर्चबाट जोगाएर आफूले पनि एक दुई रुपैयाँ जम्मा गरेका हुन्थ्यौं । त्यो सबै पैसा मेलामा उडाइन्थ्यो । तीन-चार रुपैयाँ भयो भने जति खर्च गर्दा पनि नसकिने बेला थियो त्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते ९:२२

Khasi boka (11)

ध्रुवचन्द्र गौतम, साहित्यकार

दसैं भन्नेवित्तिकै म सम्झिन्छु वीरगञ्ज माइस्थानमा लाग्ने मेला । वीरगञ्जमा बाल्यकाल बिताउँदा दसैंको मुख्य आकर्षण नै यहि मेला थियो ।

घटस्थापनाको दिनदेखि सुरु हुने मेलाका क्रममा रातदिन चहलपहल हुन्थ्यो । सबैभन्दा ठूलो भिडभाड चाहिँ हुन्थ्यो अष्टमीको दिन । म आफ्ना साथीहरुसित दसैंमा किनेको नयाँ लुगा लगाएर बिहानैए मेलामा पुग्थे । मेलाका लागि भनेर घरबाट एक रुपैयाँ दिनुहुन्थ्यो । अनि पहिलेदेखि नै खाजाखर्चबाट जोगाएर आफूले पनि एक दुई रुपैयाँ जम्मा गरेका हुन्थ्यौं । त्यो सबै पैसा मेलामा उडाइन्थ्यो । तीन-चार रुपैयाँ भयो भने जति खर्च गर्दा पनि नसकिने बेला थियो त्यो ।

मेलामा भजन किर्तनदेखि लिएर खानपिन सम्मका कुराहरु हुन्थे । तर हामी भूराको लागि मुख्य आकर्षणका विषय थिए बेलुन र सिटी लगायतका खेलौनाहरु । ग्यास भरिएका बेलुन धागोमा बाँधेर चंगा जसरी आकाशमा उडाउनु, मुखमा सिटी च्यापेर फिर्र, फिर्र पार्दै बजारमा कुद्नु । बेलुन उडाउँदा कहिलेकाहीँ हातबाटो धागो फुस्किन्थ्यो । फुस्किएर आकाशतर्फ उडेको बेलुन हामी आँखाले देखिन्जेल हेरिरहन्थ्यौं । हाम्रो रमाइलोका लागि यस्तै सानातिना कुराहरु काफी थिए ।

मेलामा थरीथरीका पिङ हुन्थे । हाम्रो कुमाल गाउँमा समेत ठाउँ ठाउँमा लिङ्गेपिङ हुन्थे । म पिङमा उतिसारो पोख्त थिइनँ । मच्चिनै जान्दिनथेँ । तर अरुले पिङ मच्चाएको हेर्न पनि रमाइलो लाग्थ्यो ।

खसी काट्दा रोएँ

हाम्रो परिवार सामान्य आर्थिकस्तरकै भएकाले भनेको बेलामा माछामासु खाने र नयाँ लुगा लगाउने अवस्था थिएन । मासु खान र नयाँ लुगा लगाउन पाउने भएकाले पनि हाम्रो लागि दसैंको महत्व बेसी हुन्थ्यो । दसैंमा हाम्रै घरमा खसी ढालिन्थ्यो । मासुका परिकारहरु अहिले जस्तै हुन्थे । भुटुवा, कवाफ, रक्तिम, झोल आदि चार/पाँच परिकार हुन्थे । मलाई भुटुवा र कवाफ बढी मन पर्थ्यो ।

प्रायः दसैं आउनुभन्दा एक डेढ महिनाअघि खसी किनेर ल्याउनुहुन्थ्यो पिताजीले । एक पटकको दसैंमा चाहिँ अलि चाँडै ल्याउनुभयो ।

दसैंभन्दा तीन महिनाअघि ल्याएको खसीको मलाई माया लाग्न थालिसकेको थियो । जब त्यो खसी घरमा ढालियो म साह्रै रोएँ । मैले त्यो खसीको मासु नै खाइनँ । मासु नखाएरै त्यो दसैं टारेँ ।

दसैंमा सँधै कुर्ता र पाइजामा

दसैंका लागि लुगा सिलाउन पिताजीले मलाई हाटबजार लैजानुहुन्थ्यो । उहाँले सधैं लुगा किन्ने दुईवटा दुकान थिए । एउटा मुन्नीलालको र अर्को हरिप्रसादको । दुवै दुकानमा पिताजीको उधारो चल्ने । त्यहि भएर अन्त लैजानुहुन्नथ्यो । ती दुकानमा लगेर मलाई कुर्ता पाइजामा छान्न लगाउनुहुन्थ्यो । मलाई जुन हेर्‍यो त्यहि मन पथ्र्यो । तैपनि कुनै छानिदिन्थे । बाल्यकालमा मैले पाइन्ट कहिल्यै लगाइँन । एसएलसी दिएपछि हो पाइन्ट लगाउन थालेको । गर्मी ठाउँ भएकाले अरुबेला सँधै हाफपाइन्ट लगाइन्थ्यो । दसैंमा चाहिँ सधैं कुर्ता र पाइजामा ।

वयस्क हुँदै गएपछि दसैंमा नयाँ लुगाको मोह हुँदैन रहेछ । आजकाल त दसैंकै लागि भनेर लुगा किन्ने गरेको छैन । तैपनि टिका लगाउने दिन भएमध्येका नयाँ लुगा लगाउने गरिन्छ । यसपाली बुवाको मुख हेर्दा छोरीले एउटा स्वेटर र बुहारीले जुत्ता उपहार दिएका थिए । दसैंमा लगाउला भनेर साँचेर राखेको छु ।

पुच्छर भएको चंगा उडाउँथे

मसँगैका साथीहरु चंगा खुब उडाउँथे । तर म चंगा उडाउनमा पनि कमजोर नै थिएँ । पुच्छर नभएको चङ्गा उडाउनै जान्दिनथेँ पुच्छर भएको चाहिँ अलिअलि उडाउँथे । नत्र साथीहरुले उडाउँदा सहयोग गर्थेँ । अरुले चङ् उडाएको हेर्न पनि रमाइलो लाग्छ मलाई । आफैंले भने उल्लेखनीय रुपमा उडाइँन ।

दक्षिणाको पैसा सिनेमामा

बाल्यकालमा दसैंको अर्को मुख्य आकर्षण हुन्थ्यो टिका लगाएर दिइने दक्षिणा । कलैयामा मामाघर थियो । मामाघरमा चार आनासम्म दक्षिण प्राप्त हुन्थ्यो । दसैंभरीमा मैले दुई रुपैयाँसम्म जम्म गर्थेँ । दसैंमा कमाएको पैसा सिनेमा हेर्न खर्च गरिन्थ्यो । त्यति बेला नेपाली सिनेमा बनेका थिएनन् । हिन्दी सिनेमा नयाँ लाग्नासाथै हेर्न पुगिहाल्थ्यौं हामी ।

पढाइ र लेखाइ

किशोरावस्थामा प्रवेश गरेपछि दसैं मान्ने शैली फरक हुँदै गयो । दसैंको लामो छुट्टीलाई लेखपढमा सदुपयोग गर्न थालियो । वीरगञ्जमा रहेका पुस्तकालयहरुबाट किताब ल्याएर छुट्टीभरि पढ्ने गथेर्ँ । दसैंमा विभिन्नखाले सांस्कृतिक कार्यक्रमहरु पनि हुन्थे । त्यहाँ पुगेर हिन्दी फिल्मका गीतसमेत सुनाउने गर्थेँ । पछि आफैंले कविता लेखेर पनि सुनाउन थालेँ ।

पढाइको सिलसिलामा काठमाडौं आइयो । काठमाडौं पढ्न बसेका बेला दसैंको छुट्टीमा घर र्फकदाखेरीको उत्साह र उमंग नै अर्कै हुने । साथीभाइसित लामो समयपछि भेट हुनु नै त्यतिबेलाको मुख्य आकर्षण हुन्थ्यो ।

जुवातासमा वितृष्णा

दसैं लाग्नासाथ गाउँभरि जुवातास खुला हुन्थ्यो । मैले पनि बाल्यकालमै तास खेल्न सिकेँ । जुवा चाहिँ खेलिन । अरुले खेल्दा च्याँखे थाप्ने काम गरियो । तासमा प्रायः फलास खेलिन्थ्यो । एक रुपैयाँभन्दा बढीको जीतहार प्राय हुँदैनथ्यो । हाम्रो घर नजिकै कारागार थियो । प्रहरीको सुरक्षामा रहेको कारागारभित्रै मस्त जुवातास चल्थ्यो । हामीलाई भित्र आउजाउ गर्न बन्देज थिएन । त्यहाँ भित्र गएर पनि तास खेलिन्थ्यो ।
तर, बिस्तारै तासप्रति मेरो वितृष्णा बढेर गयो । तास जित्दा पनि मन बेचैन हुने हार्दा पनि बेचैन हुने । हार्दा फोकटमा आफ्नो पैसा गयो भन्ने चिन्ता, जित्दा, अर्काको पैसा फोकटमा लिइयो भन्ने सुर्ता । अर्कोतर्फ समयको बर्बादी । मैले तास खेल्न छोडेको एक जुगै भइसक्यो । दसैंको नकारात्मक पाटोको कुरा गर्दा म जूवा-तासलाई नै लिन्छु । तर अचेल प्रहरी प्रशासनले कडाई गरेको छ । पहिले जस्तो जुवामा हारेर घरखेत गुमाएका घटनाहरु त्यति सुनिँदैन ।

बुढेसकालको दसैं

बाल्यकाल र युवावस्थामा जस्तो दसैंको रौनक वृद्धावस्थामा पक्कै हुन्न । तैपनि यत्रो ठूलो चाडको एक किसिमको रमाइलो त भइहाल्छ । यो उमेरमा दसैंको महत्व भनेको प्रमुखरुपमा साथीभाई र आफन्तजनसितको भेटघाट हो । घरमा हामी बुढाबुढी र छोरा बुहारी छौं । घरमा केटाकेटी भएको भए चाडवाडमा अकै माहोल हुन्थ्यो होला ।

यो दसैंका लागि विशेष तयारी त केही गरेको छैन । दसैंको बीचमा कुनै यो बीचमा कुनै दिन साथीभाई बसेर सँगै खाना खाने योजना चाहिँ छ । किताब पढ्ने र नेपाली फिल्म हेर्ने सोच बनाएको छु ।

यसपाला वीरगञ्ज जाने अवस्था छैन । वीरगञ्जको माहोल ठीक छैन । बाहिर कतै घुम्न जानलाई पनि यस्तो तेलको हाहाकार छ । अरु नेपालीको जस्तै नाकाबन्दीले मेरो दसैं पनि प्रभावित हुने भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?