२९ काठमाडौं । इस्लामिक स्टेटले पेरिसमा १२७ जनाको ज्यान जानेगरी आक्रमण गरेपछि त्यसको असर अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा देखापरेको छ । राष्ट्रपतिको दौडमा रहेकी डेमोक्र्यास पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टन उनको इराक नीतिलाई लिएर आलोचनाको शिकार भएकी छिन् ।
पेरिस आक्रमणको भोलिपल्ट अमेरिकाको ओयोवास्थित ड्रेक विश्वविद्यालयमा एउटा अन्तरक्रियाको आयोजना गरिएको थियो, जहाँ राष्ट्रपतिकी उम्मेद्वार हिलारी र उनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्स समेत सहभागी थिए । सो कार्यक्रममा स्याण्डर्सले हिलारीको आलोचना गर्दै सन् २००३ मा इराक आक्रमणको पक्षमा हिलारीले गरेको मतदान गल्ती भएको बताए ।
स्याण्डर्सले इराकमाथि अमेरिकाले गरेको आक्रमणलाई अमेरिकी विदेश नीतिको सबैभन्दा ठूलो भूल भएको बताए । यही गल्तीका कारण आइएसको जन्मलाई सहयोग पुगेको उनले तर्क गरे ।
‘अमेरिकाको आधुनिक इतिहासमा एउटा सबैभन्दा खराब विदेश नीतिका रुपमा यो रहेको छ,’ कार्यक्रममा स्याण्डर्सले भने,’मैले इराक आक्रमणको दृढतापूर्वक विरोध गरेको थिएँ ।’
स्याण्डर्सले यो पनि भने कि कुनै पनि समझदार व्यक्तिले यो इराक आक्रमणको समर्थन गर्दैनन् ।
इराकमाथि आक्रमणको अनुमोदनका लागि अमेरिकारमा भएको संसदीय मतदानमा हिलारीले आक्रमणको पक्षमा भोट हालेकी थिइन् ।शनिबार विश्वविद्यालयमा भएको छलफलमा स्याण्डर्सले आफ्नो आलोचना गरेपछि हिलारीले अट्टहास हाँसो हाँसिन् । उनले इराकमाथिको आक्रमणलाई आतंकवादविरोधी संघर्षको वर्षका सन्दर्भमा बुझ्न आग्रह गरिन् ।
पेरिसमा आइएसले भीषण हमला गरेको २४ घण्टा नबित्दै अमेरिकामा शुरु भएको विदेश नीतिसम्बन्धी बहस अमेरिकामा मात्रै सीमित छैन । आतंकवादलाई नियन्त्रण गर्ने नाममा अमेरिकाले सन् २००३ मा इराकमाथि गरेको हमलाको औचित्यमाथि विश्वभरि नै प्रश्न उठ्न थालेको छ ।
भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश मार्कण्डेय कात्जुले ब्लगमा लेखेका छन्-‘इराक र सिरियामा बमबारी आक्रमणभन्दा पहिले आइएसआइएस थिएन । सोही कार्यले गर्दा आइएआइएस बन्यो । यदि तपाई एउटा मानव वस्तीलाई जंगलमा परिणत गर्नुहुन्छ भने तपाई त्यहाँ मानवबाट पशुमा बदलिनुहुन्छ ।’
पूर्वन्यायाधीश कात्जुले लेखेका छन्- ‘सिरिया र इराकमा सैयौं हजारौं मानिसहरु मारिएका छन्, लाखौं घायल एवं बेपत्ता पारिएका मानिसका पिता, पुत्र, पुत्री, पत्नी, पति एवं भाइहरु थिए । के तिनीहरु नर्कको तापबाट बाहिर निस्केर सिजरले जसरी आफूलाई खानेहरुलाई बदला लिन चाँहदैनन् ? (हेर्नुहोस् सेक्सपियरको जुलियस सिजर) बदला लिनका लागि आइएसआइएसमा सामेल हुँदैनन् ?’
न्यायविद कात्जुको थप भनाइ छ- ‘मैले पेरिस हमलालाई न्यायोचित ठहर्याइरहेको छैन, म यो बताइरहेको छु कि केही मानिसहरुले जे गरेका थिए, यो त्यसैको एउटा अपरिहार्य परिणाम हो ।’
प्रतिक्रिया 4