+
+

यसरी बन्दैछन्- मोबाइल र फेसबुक चेलीबेटी बेचबिखनका माध्यम

१० पुस,काठमाडौं । रामेछापको उत्तरपूर्वी एक गाउँकी २६ वर्षीया युवती फेसबुकमा भेटिएर फेसबुकमै हराएका आफ्ना प्रेमी खोजी पाउँ भन्दै केही दिन अघि प्रहरीको अपराध महाशाखामा पुगिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते १७:२६

facebook-mobile-more-than-desktop

मात्रिका पौडेल

१० पुस,काठमाडौं । रामेछापको उत्तरपूर्वी एक गाउँकी २६ वर्षीया युवती फेसबुकमा भेटिएर फेसबुकमै हराएका आफ्ना प्रेमी खोजी पाउँ भन्दै केही दिन अघि प्रहरीको अपराध महाशाखामा पुगिन् ।

साइबर अपराध हेर्ने शाखाका प्रहरीले उनका फेसबुके प्रेमी खोज्न धेरै प्रयास गरे । तर, ती कथित प्रेमी सुरज केसीको फेसबुक अकाउन्ट डिएक्टिभ भइसकेको थियो ।

फेसबुकमा चिनेर च्याट भयो, च्याट गर्दा गर्दै लभ पर्‍यो । ऊ विदेशबाट आयो । केही रातसँगै बिताएर हिडेको सुरज त्यसपछि फर्किएन अहिले फेसबुक नै बन्द गरेर फरार भयो ।

यहि कथा बोकेर प्रहरी समक्ष पुगेकी बिनिता गुरुङ (नाम परिवर्तन)सँग सुरजको वास्तविक नाम, ठेगाना र उसको परिवारबारे थप कुनै जानकारी छैन ।

पेटमा सुरजको पाप हुर्किन थालिसक्यो तर, उनीसँग त्यो भ्रूण पाल्ने वा फाल्ने कुनै उपाय छैन ।

फेसबुकको नक्कली मायाले गाउँबाट शहर बोलाएर उनलाई घर न घाटको बनाइदियो । ‘यस्ता धेरै केस आउछन्, फेसबुक र मोबाइलले शहरका भन्दा गाउँका महिलालाई यो हबिगतमा पुर्‍याएको धेरै घटनाले देखाएको छ’ साइबर ब्रान्चमा लामो समय अनुसन्धानमै बिताएका पशुपति राय भन्छन् ।

यो एउटा उदाहरण हो । मिसकलले यसरी गर्‍यो जिन्दगीमा झेल भन्ने अनलाइनखबरमा कौशिला र शिल्पा तामाङ दिल्लीको कोठीमा बेचिएको समाचार प्रकाशित भएपछि प्रहरीको फाइलमा यस्ता अनगिन्ति घटनाहरु पल्टाउँदैछन् काठमाडौंका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापा ।

SSP Vikram Thapa (6)थापा भन्छन्-मैले २०/२५ वर्षअघि नै मानव बेचबिखनको गिरोह समातेर जेल पठाएको हुँ । तर, अहिले बेचबिखनको शैली फेरिएको पाइएको छ । अब काला बजारियासँगै बेचबिखनका अखडाहरुमा पनि धावा बोल्दैछु ।’

बेचबिखनको शैली फेरिएको भनेर सरकार र गैर सरकारी संस्थाहरुले कामको प्रकृति फेर्न लागेका बेला नयाँ खाले चुनौति थपिएको छ । पछिल्लो समयमा मोबाइल फोन र सामाजिक सन्जाल बेचबिखनको डरलाग्दो माध्यम बनेको निष्कर्षमा प्रहरी र बेचबिखन विरुद्धका अभियन्ताहरु पुगेका छन् ।

मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार मोबाइल र फेसबुक दलालहरुका लागि ग्रामिण महिला फसाउने बलियो माध्यम बनेका छन् ।

Sunita-danuwarबिभिन्न घटनाका पात्रहरुसँगको अध्ययनपछि दनुवारको निष्कर्ष छ-हामी बेचबिखनको शैली फेरियो भनेर मनोरन्जन क्षेत्रमा केन्द्रित भयौ तर दलालहरु त मोबाइल र फेसबुक मार्फत फेरि गाउँ पस्न थालिसकेछन् ।

मोबाइलमा मिसकल गर्ने वा फोन गर्दा केटी मान्छे बोलेपछि बिस्तारै उनका कमजोरी पत्ता लगाएर फकाउने प्रचलन बढेको छ । विदेशमा बस्ने नेपालीले साथीभाइकै आफन्त महिलालाई समेत मोबाइल र फेसबुकबाट सम्पर्क गरेर यौन शोषण तथा बेचबिखनमा पार्ने गरेको पाइएको छ ।

मानव बेचबिखनको गिरोहले पछिल्लो समयमा हाइटेक प्रबिधि अपनाएर चेलीलाई चंगुलमा पार्न थालेको देखिएको छ । ‘फेसबुकमै चिनजान,फेसबुकमै लभ र फेसबुकबाटै विहे गरेर बेचबिखनमा पारेका घटना समेत हामी समक्ष धेरै आएका छन्’ दनुवारले भनिन् ।

वैदेशिक रोजगारीमा गएका पति वा आफन्तले महँगा स्मार्ट फोन पठाउने र त्यहि स्मार्ट फोनबाट फेसबुक चलाउँदा चलाउँदै अपरिचितको विश्वासमा परेर यौन बजारसम्म पुगेका घटना पनि प्रहरी समक्ष धेरै आएको एसएसपी थापाले बताए ।

मोबाइल र फेसबुक बेचबिखन तथा यौन शोषणको माध्यम बनेका धेरै घटना आएपछि बेचबिखन विरुद्धको अभियानमाथि चुनौति थपिएको प्रहरी र अधिकारकर्मी दुवैले स्वीकार गरेका छन् ।

साइबर क्राइम हेरिरहेका प्रहरी निरीक्षक राय भन्छन्-यस्ता धेरै केस हामी समक्ष आउछन् । तर, बेचबिखनको केस हामी जिल्लातिर पठाइदिन्छौं, साइबर क्राइमको पाटोमात्र हेर्ने हो । तर, पनि यो समस्या शहरमा भन्दा गाउँमा बिकराल बन्दै गएको देखिएको छ ।’

पछिल्लो समयमा दलालहरु गाउँले युवती र किशोरीलाई फेसबुक र मोबाइलको माध्यमबाट नक्कली प्रेमको जालमा फसाउने र यौनबजार पुर्‍याउने धन्दामा सक्रिय भएपछि गाउँ गाउँमा नयाँ खाले चेतना फैलाउनुपर्ने ठहर गरिएको छ ।

मोबाइलमा मिसकल गर्नेसँग कलब्याक गरेर नजिकिदा दिल्लीको कोठीमा बेचिएकी कौशिला तामाङ भन्छिन्-‘नचिनेको मान्छेले मोबाइलमा फोन गर्दैमा विश्वास नगरौं । फेसबुकमा च्याट गर्दैमा भर नपरौं,त्यो व्यक्ति यौन बजारको दलाल हुन सक्छ ।’

बेचबिखनमा संलग्न दलालहरुले योजनाबद्ध रुपमा काम गर्ने भएकाले मोबाइल नम्बरका आधारमा पत्ता लगाउन समेत नसकिने र फेसबुक अकाउन्ट बन्द गर्ने भएकाले त्यस्ता जालमा नफस्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?