११ पुस, राजविराज । मधेस जागरण तथा संवाद अभियान लिएर मधेस आन्दोलनको केन्द्रभाग सप्तरीको राजविराज पुगेका युवा संघका महासचिव किरण पौडेल र सचिव पर्शुराम बस्नेतमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।
प्रहरी र युवा संघका कार्यकर्ताहरुको ठूलो उपस्थितिका कारण मधेसी मोर्चाका कार्यकर्ताको आक्रमण प्रयास भने विफल भएको छ । शुक्रबार सिरहाको भेला सकेर राजविराज पुगेका युवा संघ नेताहरुको बैठक बसेको घरमा समेत मोर्चा कार्यकर्ताले आक्रमण गरेका थिए ।
मोर्चाका कार्यकर्ताले सप्तरीमा एमाले जिल्ला कार्यालयको बोर्ड तोडफोड गरे पनि झडप भने हुन पाएन । मोर्चा कार्यकर्ताले मधेस विरोधी भन्दै एमाले र युवा संघ नेताहरुको नामै लिएर नाराबाजी गरेका थिए । उनीहरुले किरण पौडेल मूर्दावाद, पर्शुराम बस्नेत मूर्दावाद जस्ता नारा लगाएका थिए ।
‘हामी युवा संघको विस्तारित बैठकका लागि गएका हुनाले कम संख्यामा थियौं, उनीहरुसँग भिड्ने उद्देश्य हाम्रो होइन’ सचिव बस्नेतले भने ।
युवा संघका केन्द्रीय सचिवालय सदस्य निरञ्जन झाको घरमा संघको विस्तारित बैठक बसेको थियो । जिल्ला अध्यक्ष पशुपति कर्णको अध्यक्षतामा बसेको बैठकले माघ २ गते राजविराजमा वृहत मधेस जागरण सभा आयोजना गर्ने निर्णय गरेको थियो ।
जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सत्यनारायण मण्डललगायत एमालेका मधेसी नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको बस्नेतले बताए ।
युवा संघले मधेस जागरण तथा संवाद कार्यक्रम अन्तर्गत तराई मधेसका जिल्लाहरुमा अभियान चलाइरहेको छ । यसक्रममा चूरे तथा राजमार्ग क्षेत्रमा केन्द्रित रहेका युवा संघका नेताहरु राजविराज पुगेपछि मोर्चाले अवरोध गर्न खोजेको हो ।
प्रतिक्रिया 4