+
+

नयाँ शक्तिः केही अन्तरंग प्रसंग र आशंका

राजनीतिक जीवनका अन्तरंग प्रसंग समाजलाई भन्नु राम्रो हो कि नभन्नु राम्रो हो ? कहिलेकाँही भ्रमित हुन्छु । भन्यो- व्यक्तिगत, आत्मकुण्ठाका कुरा गरेछ, बढप्पन छाँटेछ भन्ने आरोप लाग्ने हुन्छ । नेपाली समाज अझैं पनि पर्याप्त लोकतान्त्रिक, उदार र उदात्त मानवीय समाज भइसकेको छैन । आग्रह-पूर्वाग्रहका अड्चनहरुले हामीलाई सजिलै सत्यको नजिक जान दिँदैनन् । नभन्यो- पारदर्शिता प्रवर्धित हुँदैन, जनसमुदायमा कयौं प्रकारका भ्रमहरु छरिएर रहन्छन् । मानिसहरु सतहमा देखिएका विषयमा आधारित भएर दृष्टिकोण बनाउन थाल्छन् ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७२ माघ ९ गते १५:३०

राजनीतिक जीवनका अन्तरंग प्रसंग समाजलाई भन्नु राम्रो हो कि नभन्नु राम्रो हो ? कहिलेकाँही भ्रमित हुन्छु । भन्यो- व्यक्तिगत, आत्मकुण्ठाका कुरा गरेछ, बढप्पन छाँटेछ भन्ने आरोप लाग्ने हुन्छ । नेपाली समाज अझैं पनि पर्याप्त लोकतान्त्रिक, उदार र उदात्त मानवीय समाज भइसकेको छैन । आग्रह-पूर्वाग्रहका अड्चनहरुले हामीलाई सजिलै सत्यको नजिक जान दिँदैनन् । नभन्यो- पारदर्शिता प्रवर्धित हुँदैन, जनसमुदायमा कयौं प्रकारका भ्रमहरु छरिएर रहन्छन् । मानिसहरु सतहमा देखिएका विषयमा आधारित भएर दृष्टिकोण बनाउन थाल्छन् ।

Damber-Khatiwadaअमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘ड्रिम फ्रम माइ फादर’ उनले राष्ट्रपति हुनभन्दा अगाडि नै लेखेका थिए । यसमा उनले उनकी आमा को थिइन्, उनी कसरी १९ वर्षको उमेरमा छात्रवृत्तिमा अमेरिका पढ्न आएको केन्याली अधबैशे कालेको प्रेममा परिन् र उनी जन्मिए, कालो र गोरो दुई परिवारको फरक संस्कारबीच उनी कस्ता मानसिक तनाब बीच हुर्किए, उनकी आमाले कतिपटक डिभोर्स र बिबाह गरिन्, उनले कस्ता-कस्ता झट्केला बाबुहरुको सामना गर्नु पर्‍यो, ओबामा सबै कुरा लेखे ।

नेपाली समाजमा भए उनलाई अनैतिक आमाको बतासे सन्तान, विदेशीको विउँ भन्निथ्यो होला, उनले राष्ट्रपतिको चुनाव जित्नु असम्भव सपना मात्र हुन्थ्यो होला । तर, अमेरिकनहरुमा यो कुराले नयाँ विश्वास पलायो, जसले आफ्ना जीवनका ती असजिला कुरा त सार्वजनिक गर्न डराउँदैन, उसले देश र जनतालाई कहिल्यै ढाँट्ने छैन । संभवतः त्यही कोणबाट अमेरिकनहरुले ओबामालाई पत्याए । हामी नेपालीहरु त्यति उदार र उदात्त हुन सक्छौं भन्ने विश्वास अहिले पनि ममा पलाइसकेको छैन । तथापि ‘नयाँ शक्ति’ संग जोडिएका केही अन्तरंग प्रसंग भन्न चाहन्छु ।

वैकल्पिक विचारः

विसं. ०६६ को चैत्रमा हामीले एउटा सानो विचार समूह बनाएका थियौं, त्यसलाई ‘बैकल्पिक विचार मञ्च’ भन्यौं । तर, त्यो राजनीतिक वैचारिक समूह नभएर सम्वाद समूह थियो । सबै पार्टीका साथीहरु थिए त्यसमा । बहस गर्दै जाँदा हामी केहीले ‘बैकल्पिक राजनीतिको प्रस्ताव’ भन्ने एउटा पुस्तिका लेख्यौं । त्यसपछि विचार नमिल्ने साथीहरुसँग सम्बन्ध कमजोर हुँदै गयो ।

नेपालमा लेफ्ट- डेमोक्रेटिक धारको दलका लागि स्पेस सधैं खाली छ भन्ने लागिरहन्थ्यो । कांग्रेस र कम्युनिष्टभन्दा अलि फरक, अलि विकसित र आधुनिक एउटा राष्ट्रिय दल बन्दिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो

हामीले आफूलाई बैकल्पिक समाजवादी चिन्तन समूह भन्न थाल्यौं । त्यो पुस्तिकामा एक्काइशौं शताब्दिसम्म आइपुग्दा वैचारिक समस्याहरु कसरी गञ्जागोल भएका छन् र पुनर्परिभाषा गर्न सकिन्छ भन्ने प्रष्ट गर्न सात सिद्धान्तहरु प्रस्तावित गरेका थियौं । ती विचारलाई हामीले ‘वैकल्पिक विचार’ भन्ने गरेका छौं ।

जसरी पानी भूँइमा पोखिएपछि त्यसले बग्ने बाटो खोज्छ, विचार मनमा भरिएपछि त्यसले पनि गोरेटो खोज्दोरहेछ । नेपालमा लेफ्ट- डेमोक्रेटिक धारको दलका लागि स्पेस सधैं खाली छ भन्ने लागिरहन्थ्यो । कांग्रेस र कम्युनिष्टभन्दा अलि फरक, अलि विकसित र आधुनिक एउटा राष्ट्रिय दल बन्दिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

रवीन्द्र मिश्रका लेखहरुः

यही बीचमा बीबीसी नेपाली सेवाका पत्रकार रवीन्द्र मिश्रका नयाँ शक्तिको आवश्यकताबारे केही शक्तिशाली लेखहरु प्रकाशित भए । ती धारणाहरु हामीले भन्ने गरेका वैकल्पिक विचारसँग अनेक कोणबाट मिल्दाजुल्दा थिए । तर, मिश्रजीहरु राजनीतिक एक्टिभिज्ममा पनि आउने हो कि लेखी मात्रै बस्ने हो प्रष्ट थिएन । राजनीतिमा विचारलाई जबसम्म संगठनसँग जोडिँदैन र व्यवहारमा ल्याइँदैन, त्यसको महत्व त हुन्छ, तर सीमित भएर जान्छ ।

मैले पाएको जानकारीअनुसार मिश्रले एक झमट राजनीतिमा आउने इच्छा पनि गरे । कांग्रेस-एमालेभित्रकै केही राम्रा युवा नेताहरु, देशका केही स्वतन्त्र विश्लेषक र लेखकहरुसँग कुरा पनि गरे । नाम उल्लेख नगरौं, तर कांग्रेस-एमालेभित्रका जुन साथीहरु नयाँ शक्ति अभियानमा आउलान् भन्ने मिश्रजीको धारणा थियो, ती आफ्नै पार्टीमा शक्तिशाली हुँदै गएका थिए, नयाँ अभियानका लागि जोखिम मोल्ने साहस उनीहरुमा थिएन । राम्रो लेखनमार्फत मास अपिल गर्ने क्षमताबाहेक मिश्रजीहरुसँग संगठनको अनुभव र ग्रास रुट मान्छेहरुसँग सम्पर्क थिएन । आशा गरेका ती साथीहरुले निच मार्ने वित्तिकै उनको प्रयास सेलायो ।

बाबुरामसँगको सम्पर्कः

नयाँ शक्तिको उद्देश्य वैकल्पिक बाम-लोकतान्त्रिक दलको शुरुवात गर्नु हो । शुरुवात भन्नेवित्तिकै अहिले यसलाई असफलता असफलतासँग नजोडौंं । यो त जन्मिनेवित्तिकैको बच्चाले फुटबल खेलेन, त्यसैले बच्चा नै असफल भयो, त्यसको जन्मै निरर्थक थियो भन्ने जस्तो हुनेछ

दोस्रो संविधानसभा निर्वाचनलगत्तै सन्दर्भवंश डा.बाबुराम भट्टराईसँग भेट भयो । कुरा गर्दै जाँदा हामीले वैचारिक धार र तरंगहरु मिलेको पायौं । बाँकी जिन्दगी माओवादी आन्दोलनमा बिताउन उनमा कुनै इच्छा देखिँदैनथ्यो । हामीले नयाँ शक्ति र वैकल्पिक विचारका पक्षमा मिलेर काम गर्न अघोषित सहमति जनायौं ।

२०७१ को साउन १० गते इटहरीमा ‘नयाँ शक्तिको बहसः डा. भटट्राईसँगको अन्तक्रिर्या’ भन्ने कार्यक्रम राखियो । मेरो जानकारीमा भएसम्म ‘नयाँ शक्ति’ को ब्यानर प्रयोग गरेको नेपालकै सबैभन्दा ठूलो पहिलो सार्वजनिक कार्यक्रम त्यही थियो । मानिसहरु अनावश्यक फत्तुरजस्तो आजका घटनासँग नयाँ शक्तिलाई जोड्छन, तर डा. बाबुराम भट्टराईले एक वर्ष अगाडि नै संविधान बन्नेवित्तिकै आफूले पार्टी र सभासद पद छोड्ने, र बाँकी जीवन नयाँ शक्तिका लागि विताउने प्रतिवद्धता गरिसकेका थिए । त्यसको एउटा साक्षी म आफै हुँ । म एक्लै हैन, त्यो कुरा उनकै मुखबाट एक वर्ष अघि सुन्ने अरु ५ जना साथीहरु थिए । हाम्रो समूहसंग मात्र हैन, अरु पनि मान्छेहरुसँग त्यो कुरा भएको हुनसक्छ ।

तर, त्यो कुरा त्यतिधेरै प्रचार र हल्ला गरिएन । किनकि उनी संविधान निर्माणको महत्वपूर्ण पदमा थिए । संवाद समितिका सभापति थिए । नयाँ संविधान राम्रो पनि बन्दैन, तर दोस्रोपल्ट पनि संविधानसभालाई असफल पार्नु हुँदैन भन्ने उनको प्रष्ट धारणा थियो । आधारभूत सिद्धान्त ठीक राखेर संविधान बन्न पनि दिने, संविधानका कमजोरीहरु समातेर नयाँ राजनीतिक ध्रुवीकरणको पहल पनि गर्ने नयाँ शक्तिको घोषित रणनीति नै हो । यो कुरा लुकाउन जरुरी छैन । किनकि नयाँ शक्ति र वैकल्पिक विचारका कयौं धारणाहरु अहिलेको संविधानसंग मेल खाँदैनन, संविधानको दयराभित्र बसेर आफ्ना विचारका पक्षमा पैरवी गर्ने लोकतान्त्रिक अधिकार सबैलाई छ, त्यस कुरामा के अस्वभाविकता छ ? यति सामान्य कुरालाई कसैले पनि रहस्यजस्तो बनाउन आवश्यक छैन ।

विस्तारै हुँदै जानेछ ध्रुवीकरण

म यो प्रष्ट पार्न चाहन्छु कि म वैचारिकरुपमा ‘नयाँ शक्ति’प्रति सामीप्य राख्छु, यो भ्रम नपरोस् म पूर्वमाओवादी हैन, करिब एक दशकयता एक स्वतन्त्र नागरिक हुँ

नयाँ शक्ति जो जन्मेकै छैन, जसले आफूलाई पार्टी नै घोषण गरेको छैन, एउटा सामान्य अभियान मात्र छ, भ्रुणमै रहेको शक्तिसँग मानिसका अपेक्षा के हुन् र यतिधेरै नकारात्मक टिप्पणी गर्न खोजिएको होला ? यदाकदा आश्चर्य लाग्छ । यदि नीतिगत टिप्पणी नै गर्न खोजेको हो भने दस्तावेजहरु, नीति तथा कार्यक्रमहरु, संगठनात्मक सिद्धान्तहरु सार्वजनिक भएपछि गर्दा राम्रो हुन्छ । जो अहिले नै नयाँ शक्तिबारे टिप्पणी गर्दै छन, उनीहरु हावामा तरबार घुमाउँदैछन् । डा. भट्टराईप्रतिका पूर्वाग्रह मात्र ओकलिरहेका छन, नयाँ शक्तिको वास्तविक उद्देश्य, उपादेयता र रणनीतिमा उनीहरुले टिप्पणी नै गरिरहेका छैनन् ।

मैले बुझेसम्म नयाँ शक्तिको उद्देश्य वैकल्पिक बाम-लोकतान्त्रिक दलको शुरुवात गर्नु हो । शुरुवात भन्नेवित्तिकै अहिले यसलाई असफलता असफलतासँग नजोडौंं । यो त जन्मिनेवित्तिकैको बच्चाले फुटबल खेलेन, त्यसैले बच्चा नै असफल भयो, त्यसको जन्मै निरर्थक थियो भन्ने जस्तो हुनेछ । अहिले यति भन्न सकिन्छ दर्जनौं कारणले यो दल नेपालका अरु दलभन्दा फरकखालको हुने छ ।

त्यसले कुनै पनि स्थापित मान्यताहरुलाई मार्गदर्शक सिद्धान्त मान्ने छैन । आफै नयाँ सिद्धान्तको विकास गर्ने प्रयास गर्नेछ । त्यसले सहभागितामूलक लोकतन्त्रको पक्षमा पैरवी गर्ने छ । विकास, सुशासन, सम्मृद्धिको पक्षमा पैरवी गर्नेछ । त्यसले बजार-समाजवादको पक्षमा पैरवी गर्ने छ । जसको अन्तरपार्टी जीवन सम्पूर्णरुपमा लोकतान्त्रिक र पारदर्शी हुनेछ । जसले नेपालको भूराजनीतिक जटिलतालाई ‘दुई ढुंगा बीचको तरुल’ वा ‘बफर स्टेट’ मान्ने छैन, ‘भाइब्रेन्ट वि्रज’ मान्ने छ । जसले ‘बहुल राष्ट्रियताको एकता र सम्मिलन’ लाई ‘नेपाली राष्ट्रियताको आधार’ मान्ने छ । जसको संगठन संरचना पूर्ण समावेशी र समानुपातिक हुनेछ, जसले राज्यप्रणालीमा पनि त्यही प्रकारका नीतिको पक्षपोषण गर्ने छ ।

के यस्तो एउटा नयाँ दल देशलाई आवश्यक छैन ? यदि छ भने यस्तो चाहना राख्नेहरु सबै ध्रुविकरण हुँदै जानु राम्रो हो । बाबुराम एउटा व्यक्तिलाई अचानो बनाएर मात्र तुष्टीकरण नगर्नु राम्रो हो कि ? मिसनको मुख्य उद्देश्यलाई ध्यान दिनु राम्रो हो कि ?

सफल /असफलः

म यो प्रष्ट पार्न चाहन्छु कि म वैचारिकरुपमा ‘नयाँ शक्ति’प्रति सामीप्य राख्छु, यो भ्रम नपरोस् म पूर्वमाओवादी हैन, करिब एक दशकयता एक स्वतन्त्र नागरिक हुँ । यस मिसनमा मैले भेटेका अधिकांश मान्छेहरु के भन्छन् भने कुरा त ठीक हो, राम्रो हो, तर सफल हुने के ग्यारेन्टी छ ? सफल हुने सम्भावना छ भने हामी पनि आउँछौं । अझ मज्जाको कुरा त के छ भने व्यक्तिगत भेटघाटमा यसो भन्ने साथीहरु सार्वजनिक जीवनमा भने अनेक उल्टोपुल्टो कुरा गरिरहेका हुन्छन् ।

एउटा आव्हान गर्न चाहन्छु, अरुले अहिले विरोध नै गरुन् केही छैन, विरोध पनि लोकतन्त्रको सौन्दर्य नै हो । विरोध अलि रचनात्मक होस् भन्ने अपेक्षा गर्न सकिन्छ, निषेध गर्न सकिन्न

सफल हुने असफल हुने कुराको ग्यारेन्टी कसले के कामको गर्न सक्छ ? हामी कर्म गर्न स्वतन्त्र छौं । दायित्व पूरा गर्न स्वतन्त्र छौं । बाँकी कुरा त विस्तारै हुँदै जान्छ । मुख्य कुरा त आवश्यकता हो कि हैन, यो प्रश्न हो, यदि देशलाई विकल्प चाहिएको छ भन्ने लाग्छ भने यो मिसनमा जोडिदै जानु राम्रो हुन्छ । एउटा कुरा त ग्यारेन्टी छ, फुटबल खेल्ने सबै पेलो, मेसी, रोनाल्डो नहोलान्, तर तिनैमध्ये कोही पेले, मेसी वा रोनाल्डो हुन्छन जो फुटबल खेल्छन ।

तसर्थ हामीले नयाँ-नयाँ प्रयोग, प्रयास र चिन्ता त गर्नै पर्छ । त्यो मान्छे भएर जन्मिने वित्तिकैको दायित्व हो । मान्छे हुनुको दायित्व हो । यो देशमा जन्मेवापत यो देशप्रति हाम्रा दायित्व त छन नै । आजसम्मका अभ्यासहरु पर्याप्त नभएको बोध पनि सबैमा छँदैछ । ठीकै छ, पुराना दलबाटै हाम्रो विकास, सुशासन, समन्याय, स्वाधीनता र सम्मृद्धिको आकांक्षा सफल भएछन् भने नयाँ शक्ति असफल नै होस् केही छैन । तर, त्यो हुन अझै सकेन भने विकल्प दिने शक्ति पनि त लोकतन्त्रमा चाहियो । देशले केही न केही नयाँ कुरा खोजेकै छ, हामीले मान्नु नमान्नुृ त्यो भिन्नै कुरा हो ।

अन्त्यमा

एउटा आव्हान गर्न चाहन्छु, अरुले अहिले विरोध नै गरुन् केही छैन, विरोध पनि लोकतन्त्रको सौन्दर्य नै हो । विरोध अलि रचनात्मक होस् भन्ने अपेक्षा गर्न सकिन्छ, निषेध गर्न सकिन्न । तर, देशभरि छरिएर रहेका विकल्प चाहनेहरु भने एक हुनैपर्छ । ‘नयाँ शक्ति’ वा हरु कुनै नाममा बनेका सबै साना-ठूला समुहहरु एक हुनैपर्छ । त्यसो नगरिकन हामी आफ्नो विकल्प निर्माण गर्ने चाहनालाई सिद्ध गर्न सक्दैनौं । विशेषतः देश विगत केही दशकदेखि जसरी चलिरहेको छ, त्यसलाई नयाँ मोड दिनु नयाँ पुस्ताको दायित्व हो ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?