३ वैशाख, रियाद। साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा प्रहार भयो ।

मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि डिस्चार्ज भएका छन् । शर्माको काँध र मुखमा टाँका लगाइएको छ ।
उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिए ।
राजदूतमाथि छुरा प्रहार गर्ने सुनसरीका लक्ष्मणबहादुर राई भएको खुलेको छ । दूतावासकै आश्रयमा बस्दै आएका राईले बिहीबार बिहान करिब ११ बजे कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए ।
शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए ।
शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर उद्धार गरिएको थियो । ‘तुरुन्तै उद्धार हुन नसकेको भए ठूलै घटना हुनसक्थ्यो’ राउतले भने ।
राई एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।
यसअघि राईलाई सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाउनका लागि दुई पटक एअरपोर्ट लगिए पनि विभिन्न बहाना बनाएर स्वदेश फर्कन मानेका थिएनन् । राईले आफू कार्यरत कम्पनीकै भारतीय कामदारलाई समेत चक्कु प्रहार गरी भागेर दूतावासको सरणमा आएको पाइएको छ ।
कार्यवाहक राजदूत शर्मामाथि छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
राससको सहयोगमा
प्रतिक्रिया 4