८ वैशाख, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ र ८ वडामा विद्युत् अवरुद्घ हुँदा त्यस भेगका स्थानीय एक हप्तादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
हावाहुरीले तारमा अवरोध भएपछि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा त्यस भेगका १६० घरधुरी अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् ।
सेवा बन्द भएपछि पटक पटक निर्माण गर्दा पनि सेवा सञ्चालन हुन नसक्दा सो वडाका सयौँ सेवाग्राही अन्धकारमा बस्नु परेको स्थानीयवासी अशोक तुम्बापोले बताए ।
विद्युत् सेवा अवरोधले गर्दा स्थानीयवासीले मोबाइल चार्ज, विद्युतीय मेसिन प्रयोग गर्न नपाएको तथा आफन्तजनसँग सम्पर्क विच्छेद भएको सेवाग्राहीले गुनासो गरेका छन् । इलाम विद्युत् प्राधिकरणले फिदिम नगरपालिका–६, ७ र ८ मा २५ केभी प्रसारण लाइन वितरण गरी सो क्षेत्रमा विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।
विद्युत् उपभोक्ता समितिका अध्यक्ष देवी तुम्बापोका अनुसार ट्रान्समिटरको भित्री तार जलेका कारण विद्युत् सेवा अवरुद्घ हुन पुगेको बताए ।
तुम्बापोका अनुसार फिदिम विद्युत् प्राधिकरणबाट प्राविधिक झिकाई निर्माण गर्न खोजिएपनि हालसम्म बन्न सकिरहेको छैन । फिदिम साना जलविद्युत् केन्द्र सञ्चालन परियोजनाले भने बिग्रिएको ठाउँमा मर्मत भइराखेकाले सेवा पुनः सुरु हुन अझै केही दिन लाग्ने बताएको छ ।
प्रतिक्रिया 4