६ जेठ, काठमाडौं । ‘गुरु जी एसी चलाइदिनु त, धेरै गर्मी भयो, बच्चा चिच्याउन थाल्यो,’ आफ्नो ६ वर्षीया छोरी कञ्चनसँगै कैलालीको धनगढीबाट काठमाडौंको यात्रा गरिरहेका डोटीका पत्रकार झलक पालीले बस स्टाफसँग आग्रह गरे । बस मालिकले ‘एकछिनमा चलाउँछु’ भने । तर यात्राभरी त्यो एकछिन आएन ।
सुदूरपश्चिम यातायातले कैलालीको धनगढीबाट काठमाडौंका लागि सञ्चालन गरिरहेका ‘खप्तड एसी’ नामका बातानुकुलित बसहरु नाम मात्रका भएको यात्रुहरुको गुनासो छ । यात्रुहरुले पटक-पटक आग्रह गर्दा समेत एसी नचलाउने गरेको उनीहरुको भनाई छ ।
मंगलवार धनगढीबाट काठमाडौंका लागि हिँडेको ना ५ ख ५१९१ नम्बरको खप्तड एसीमा यात्रुहरुले पटक-पटक आग्रह गर्दासमेत एसी चलेन । ‘एसी नचलाउने भए अरु बस र यो बसमा के फरक भयो र ?’ पत्रकार पालीले यस्तो भन्दा उल्टो थर्काउने शैलीमा बोले गाडीका स्टाफहरु । उनीहरुले भने ‘के भन्नु भयो तपाईले ? फेरि भन्नुस् त ।’
काठमाडौं-नारायणघाट राजमार्गको मुग्लिन सडक खण्डमा सडक सुधारको काम भइरहेका कारण करीब ८ घण्टा रोकिनु परेपछि यात्रुहरु गर्मीले आक्रान्त बनेका थिए ।
बैतडीका भरत कुँवर भन्छन्, ‘एसी चलाउने भनेर अतिरिक्त शुल्क लिन्छन् तर एसी भने आफ्नै मर्जीले चलाउँछन् ।’ उनले यात्रुहरुलाई सेवा दिनेभन्दा पनि एसीको नाममा पैसा कमाउने धन्दा मात्रै बनेको आरोप लगाए । एसी शुल्क भनेर प्रत्येक यात्रुबाट समितिले दुई सय ७० रुपैयाँ अतिरिक्त शुल्क लिने गरेको छ ।
कैलालीको सुख्खडबाट यात्रा थालनी गरेकी ईन्दु केसी भन्छिन् ‘यात्रुहरुको सुबिधाअनुसार एसी चलाउने र बन्द गर्ने गर्नुपर्नेमा यहाँ गाडीका स्टाफहरुको मर्जी मात्रै हुँदो रहेछ ।’
राती एसी बन्द गर्नु भन्दा पनि नमानेको र दिउँसो धेरै गर्मी भएका बेला पनि सवै यात्रुहरुले आग्रह गर्दा समेत नमानेको उनको आरोप छ ।
यस्तै समस्या सुनाउँछन् बाजुराका यात्री मानबहादुर रोकाया । उनले पटक-पटक गाडी धनी र चालकलाई आग्रह गरे एसी चलाउनका लागि भनेर तर कुनै उपलव्धी भएन । उनी भन्छन् ‘एसी नचल्नुको कारण के हो भनेर सोध्दा पनि जवाफ दिएनन् ।’
टण्टलापुर घाममा त्रिशुलीको किनारमा जाममा परेका सवारी साधनहरुका यात्रुहरुलाई गर्मीले उकुसमुकुस बनाएको थियो । ‘भित्र जाँदा गाडी समेत तातेर खपिनसक्नु गर्मी, बाहिर टण्टलापुर घाम’ काठमाडौं घर भएका यात्रु दिपक अधिकारी भन्छन्, ‘गाडी स्टाफलाई जति भनेपनि एकछिनमा चलाउँछु मात्रै भन्छन् तर एसी चलाउँदैनन् ।’ गाडीमा यात्रा गरिरहेका एक जर्मन नागरिक पनि पसिनाले पुरै लतपत भए । उनले हाते रुमालले हावा लगाउँदै बाटो काटे ।
‘यो भन्दा त दुई/तीन हजार थप गरेर प्लेनमै जानु राम्रो नि’ एक यात्रु आफन्तलाई फोन गरेर बर्बराउँदै थिए । उनी भन्दैथिए, ‘लुट्ने पनि सीमा हुन्छ नि, के हो यो तरिका ?’
गाडीमा पानीसमेत नपाएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । खाना, नास्ता र पानी खर्च भनेर एक सय ५० रुपैयाँ प्रत्येक यात्रुहरुसँग टिकेटसँगै लिने गरेको भएपनि बाटोमा पानीसमेत नपाएको कैलालीका मोहन बोहरा बताउँछन् ।
उनी भन्छन् ‘किन अनेक बहानामा पैसा लुट्ने ? बढी पैसा तिर्नुको अर्थ यात्रुहरुले सुबिधा चाहान्छ, त्यो सुबिधा नै दिन नसक्नेले किन अतिरिक्त शुल्क लिनुपर्ने ?’
बाटोमा किन एसी चलाइएन त ? यसबारेमा गाडी स्टाफहरु भन्छन् ‘आवश्यकता अनुसार चलाइन्छ ।’ पटक-पटक यात्रुहरुले आग्रह गर्दा आवश्यकता महसुस हुन्न र ? यस प्रश्नमा उनीहरु कुनै उत्तर दिँदैनन् । भन्छन्, ‘ल अव एकछिनमा चलाउँछु ।’ तर एसी फेरि पनि चल्दैन ।
पानी नभएको बिषयमा भने गाडीस्टाफहरु बाटोमा जाममा परिएला भन्ने अनुमान नगरी सधैंको अनुपातमा पानी बोकिएकाले समस्या भएको बताउँछन् । ‘बाटो जाम भयो, सामान्यतया १५/१६ घण्टाको यात्रामा २८ घण्टा बिताउनु पर्यो,’ एक गाडीस्टाफ भन्छन् ‘पानी त सिद्धिहाल्छ नि !’
प्रतिक्रिया 4