निर्देशक तुलसी घिमिरेले १६ बर्ष अगाडि निर्देशन गरेको चलचित्र ‘दर्पणछायाँ’को सिक्वेल बन्ने भएको छ । यो चलचित्रको आज औपचारिक कार्यक्रम गर्दै घोषणा गरिएको छ ।
कार्यक्रमको सुरुवातमा शंख फुकेर स्वस्ती वाचन गरिएको थियो । यसपछि, चलचित्रका मुख्य कलाकारले गीतमा नृत्य गरे । ‘दर्पणछायाँ’मा समावेश ‘लहनाले जुरायो कि’को साथमा ‘दर्पणछायाँ २’मा समावेश ‘दर्पणमा छायाँ कति राम्रो ?’ बोलको गीतमा नृत्य गरेका थिए ।
यो चलचित्रमा मुख्य ३ जना कलाकार नै नयाँ हुने भएका छन् । निर्देशक तुलसी घिमिरेले ३ जना कलाकारलाई भविष्यका स्टार भन्दै सार्वजनिक गरेका छन् । चलचित्रमा मोडल पुष्प खड्काका साथमा २ नयाँ नायिका सहारा कार्की र श्रद्धा प्रसाइको मुख्य भूमिका रहनेछ । तर, चलचित्रमा आवद्ध कसैको पनि थर नलेखिने भएको छ । पुष्पले नाम पुष्पल राखेका छन् ।
तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् । सवु कार्की र रवि कार्की निर्माता रहने चलचित्रमा शिव ढकाल र रामेश्वर कार्कीको छायांकन, भारती घिमिरे एसोसियट निर्देशक रहनेछन् ।
रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत चलचित्रमा रहनेछ । चलचित्रमा सरोज खनाल, वीएस राना, शेर वहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको पनि मुख्य भूमिका रहनेछ ।
कार्यक्रममा बोल्दै निर्देशक तुलसी घिमिरेले भने-‘यसपटक यो चलचित्रमा सर्जकहरुको कथा भनिनेछ । सर्जकहरुले छाडेर गएको छायाँमा धुलो लाग्छ । तर, त्यो धुलो पुछेर सफा गर्ने कि झन् विगार्ने भन्ने कुरामा चलचित्र घुम्नेछ ।’
‘दर्पण छायाँ’मा काम गरेर चर्चा पाएका दीलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंह यसपटक नदेखिने भएका छन् । मुख्यतया, ३ जना कलाकारको व्यस्तताले गर्दा काम गर्न नसकिएको तुलसीले बताए । यी तिनै जना कलाकारलाई अतिथी भूमिकामा खेलाउने चाहना तुलसीको थियो । चलचित्रको छायांकन बिहिबारबाट सुरु हुनेछ ।
प्रतिक्रिया 4