Comments Add Comment

अन्जन विष्टः रोनाल्डो प्रेरणाको स्रोत

anjan-bista

फ्रान्समा जारी युरोपियन च्याम्पियनसीप हेर्न मात्र होइन, केही सिक्ने अवसर पनि हो नेपाली खेलाडीहरुका लागि । त्यसरी उनीहरु सकेसम्म कुनै पनि खेल छुटाउन चाहँदैनन् । नेपाली टोलीका युवा स्ट्राइकर अञ्जन विष्टपनि अछुतो छैनन् ।

युरोकपमा खेलहरु समय मिलेसम्म उनले छुटाएका छैनन् । पढ्नुहोस् नेपाली खेलाडी अञ्जनको नजरबाट युरोकप-२०१६

आधुनिक फुटबलको जन्मदाता युरोप यसैपनि फुटबलको केन्द्र हो । त्यहाँ अहिले फुटबलको महामेला चलिरहेको छ । एक से एक युरोपेली टोलीहरु विश्वस्तरीय खेलकला पस्किरहेका छन् । मैले पनि टेलिभिजनबाट समय मिलेसम्म युरोका खेलहरु छुटाएको छैन । मैले अघिल्लो संस्करणदेखि बुझेर युरोकप हेर्न थालेको हुँ । त्यसअघिको संस्करण हेरिएपनि त्यति याद छैन ।

फ्रान्सले रोमानियालाई दुई एक गोलले हराउँदै युरोकपको सुरुवात भयो । त्यसयता विश्वबिजेता जर्मनीले पनि युरोमा सुखःद सुरुवात गरिसकेको छ । हामीले युरोकप लगायत विश्वस्तरीय प्रतियोगिताका खेलहरु हेरेर धेरैकुरा सिक्न सक्छौं । मैलेपनि यस्ता प्रतियोगिताबाट धेरै सिकेको छु । स्ट्राइकर भएको नाताले युरोमा खेलिरहेका स्ट्राइकरहरुको खेल नजिकबाट हेरेर त्यसलाई मैदानमा प्रयोग गर्ने गरेको छु ।

मेरो मनपर्ने टोली पोर्चुगल हो । अब भनिरहनुपरेन कि मनपर्ने खेलाडी को भनेर । निश्चय नै रोनाल्डो हुन् । उनी मेरो प्रेरणाको स्रोत हुन् । मैले उनैको खेल हेरेर स्ट्राइकर बन्न सिकेको हुँ । पोर्चुगलमा अन्य खेलाडीहरु रोनाल्डो जतिकै प्रतिभावान नभएपनि यस युरोमा यो टोली फाइनलसम्म पुगोस भनेर कामना गरेको छु । यस युरोमा मलाई मनपर्ने स्ट्राइकरमा रोनाल्डोका अलावा जर्मनीका मुलर र इंग्ल्याण्डका रुनी हुन् ।

नेपालमा रोनाल्डोका समर्थक धेरै भएपनि पोर्चुगलका समर्थक भेटिन मुस्किल पर्छ । म तपाईहरुलाई गएको विश्वकपमा भएको रमाइलो घटना सुनाउँछुः ‘विश्वकप अन्तर्गत जर्मनी र पोर्चुगलको खेल भइरहेको थियो । हामी मेरा टिममेट र साथीहरुसहित बसेर हेरेका थियौं, तर १०/१२ जनाको हाम्रो समूहमा म मात्र पोर्चुगलको समर्थक थिएँ । जर्मनीले एकपछि अर्को गोल गर्दा निराश हुने म मात्र थिएँ । यद्यपि मेरो मनपर्ने टोली पोर्चुगल थियो, हो र रहनेछ ।’ यसपटकपनि पार्चुगलका खेलहरु साथीहरुसँग हेर्ने बिचारमा छु । मेरो कामना यो छ कि यसपटक त्यस्तो नहोस्, मैले पनि मेरो टोलीले जितेकोमा चियर्स गर्न पाउँ ।

तर, मलाई यसपटकको युरोकप फ्रान्सले जित्लाजस्तो लाग्छ । स्टार खेलाडीका अलावा फ्रान्सलाई घरेलु मैदान र समर्थकको साथ छ । तर, ओपनिङ खेलमा गरेको उसको प्रदर्शन भने युरो च्याम्पियन बन्न लायक थिएन । आफ्नो कमजोरीलाई सुधार गर्दै अघि बढेमा यस युरोमा फ्रान्सको भविश्य छ ।

यसपटकको प्रतियोगितामा पोर्चुगल, फ्रान्स, जर्मनी र इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गर्न सक्छन् । यो मेरो अनुमान हो । तथापि स्पेन, बेल्जियम र इटालीपनि कमजोर भने छैनन् । इंग्ल्याण्डको टोली उत्कृष्ट छ, तर अस्तिको खेलमा उनले रसियासँग बराबरी खेलेर अंक बाँढ्न पुग्यो । इंग्ल्याण्डको टोलीमा सन्तुलनता हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment