५ असार, काठमाडौं । ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने क्रममा ज्यान गएकाका पीडितका परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
गत जेठ ७ गते एचपी ग्यास सिलिण्डर पड्किँदा सुरेश ताम्राकार र धुव्र ताम्राकारको ज्यान गएको थियो भने उपचारका क्रममा जेठ २९ मा राजेश ताम्राकारको ज्यान गएको थियो ।
मृतकका परिवारले ग्यासको सिलिण्डरको गुणस्तरमा कडाइ गर्नुका साथै आफूहरुलाई क्षतिपूर्ति दिन माग गरेका छन् । ग्यास पड्किँदा हुने जनधनको क्षतिबापत पाउने रु १५ लाखलाई बढाएर रु ५० लाख बनाउन मन्त्रीसमक्ष माग गरेका हुन् ।
यस्तै सिलिण्डरको धरौटी रकम मागेका बेला तुरुन्त फिर्ता गनुपर्ने तथा दुर्घटना गराउने कम्पनीको अनुमतिपत्र तत्काल खारेज गर्न अपिल गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै आपूर्तिमन्त्री पुनले सङ्घर्ष समिति र पीडितका तर्फबाट बुझाएको ज्ञापनपत्रलाई नेपाल सरकारले गम्भीर रुपमा लिएको बताए । उनले मापदण्डविपरीत ग्यास सञ्चालन गर्ने कम्पनीमाथि कारबाही गरिने स्पष्ट पारे ।
मन्त्री पुनले चाँडै मन्त्रालयले ग्यास सिलिण्डरको गुणस्तरसम्बन्धी विज्ञसहितको टोली बनाएर त्यसको छानबिन गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया 4