३० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व प्रस्ताव गर्न प्रधानमन्त्री केपी ओलीले ढिला गरेको टिप्पणी गरेका छन् ।
कांग्रेसले प्रधानमन्त्री बन्न पाइन्छ भनेर विकल्प नखोजेको उनको तर्क छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा देउवा निकट नेता लेखकले भने, ‘अब धेरै ढिला भैसक्यो, हामी धेरै अगाडि बढिसक्यौं ।’
ओली नेतृत्वको सरकारले राष्ट्रिय एजेण्डा बोक्न नसकेको कारण विकल्प खोज्न बाध्य नभएको उनले बताए । उनले ओली सरकारकै कारण बजारमा चरम महँगी बढेको, कालोबजारी र भ्रष्टाचार मौलाएको उनको आरोप थियो । उनले भने,’आफ्नै सहकर्मीलाई चिक्त बुझाउन नसक्नेले गजब गरेका छौं भनेर भाषणमात्रै गरेर हुन्छ ?’
निर्वतमान मन्त्री एवं माओवादी नेता हरिबोल गजुरेलले आफ्नो एजेण्डा नै धरापमा परेकाले सरकारबाट बाध्य भएर बाहिरिएको दाबी गरे । उनले वर्तमान सरकार संविधान कार्यान्वयन, पूर्ननिर्माण, शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने र निवार्चन गर्ने कुराम उदासिन भएकाले समर्थन फिर्ता दिएको स्पष्ट पारे ।
विदेशीहरुको स्वार्थ अनुरुप कांग्रेस-माओवादीको गठबन्धन बनेको भन्ने आरोपको खण्डन गर्दै नेता गजुरेलले भने, ‘यो सबै वाहियात हुन्, यदि त्यस्तो हो भने गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता पनि विदेशीले ल्याईदिएको भने भैगो नि त ?’
आफ्नो पार्टी राष्ट्र र जनताको पक्षमा दृढ रहेको भन्दै उनले एमालेकै कारण मुलुक दुर्घटनातर्फ जान लागेकोले आफूहरुले बाध्यात्मक कदम चालेको बताए ।
प्रतिक्रिया 4