Comments Add Comment

कलेजबाट छुटेपछि औषधि पसलमा लाइन !

लागुऔषध ब्युरोको कार्वाहीमा परे ४ वटा औषधि पसल

medical_bagesori

७ साउन, काठमाडौं । चावहिलस्थित बागेश्वरी मन्दिर नजिकै बागेश्वरी फर्मा छ । बिहीबार त्यही फर्मामा करिब १७ वर्षका एक युवक  आइपुगे । उनले गोजीबाट २ सय रुपैयाँ निकालेर पसलेलाई दिए । औषधि पसलेले २ सयमा केही ट्याब्लेटहरु दिए । ती युवकले न आफ्नो कुनै समस्या बताए, न कुनै डाक्टरको प्रेस्किप्सन नै देखाए ।

दुई सय रुपैयाँमा तीन प्रकारका ट्याब्लेटहरु पाएपछि उनी औषधि पसलबाट बाहिरएका मात्रै के थिए, लागुऔषध नियन्त्रण ब्युरोको फन्दामा परे । उनले बोकेर ल्याएको औषधि ‘क्लोनोज स्पासमो’ नामको दुखाइमा प्रयोग हुने औषधि थियो, जुन औषधि डाक्टरको सिफारिसविना प्रयोग गर्न पाइँदैन । यो औषधि लागुऔषध दुव्र्यसनीहरुका लागि गतिलो नशा बन्ने गरेको प्रहरीको भनाइ छ ।

अवैधरुपमा औषधि विक्री गरेको आरोपमा ब्युरोको टोलीले बागेश्वरी फर्माकी सुजाता केसीलाई पनि पक्राउ गर्‍यो । पक्राउ परेका युवकले विगत एक वर्षदेखि त्यही औषधि लागुऔषधका रुपमा प्रयोग गर्न थालेको प्रहरीलाई बताए । जसलाई बागेश्वरी फर्माले नियमित ग्राहक बनाइरहेको थियो ।

पक्राउ परेका युवकले भने ‘विहान १० बजेभन्दा अगाडि र बेलुका पाँच बजेपछि हामी जस्ता थुपै्रलाई पसलेले यो औषधि विक्री गर्छन् । म पनि कलेज छुटेपछि यहीँ आउँछु ।’

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार गैरकानुनी तरिकाले लागुऔषध दुव्र्यसनीहरुलाई औषधि विक्री गर्ने पसलहरुमा छापा मारेको छ । फर्मा पनि अर्कैको नाममा दर्ता रहेको भेटिएपछि औषधि व्यवस्था विभागले औषधि शीलसमेत गरेको छ ।

लागुऔषध किन्नेको लाइन

ब्युरोको टोली चाबहिलकै जोशी फार्मेसी अगाडि गएर केहीबेर रेक्की गरेर बस्यो । पूर्वसूचना अनुसार पुगेको टोलीलाई औषधि पसलमा देखिएको दृश्यले चकित बनायो । भर्खरका युवाहरु हातमा दुई सय रुपैयाँ बोकेर आइरहेका थिए र केही ट्याब्लेटहरु किनेर लैजाँदै थिए ।

करिब २० मिनेटको वीचमा १२ जना त्यसरी नै आएर दुई सय बुझाउँदै ट्याब्लेट लिँदै जान थाले । ब्युरोको टोलीले २० मिनेटभन्दा बढी धैर्य गर्न सकेन र ट्याब्लेट किन्न आउनेमध्ये एकजनालाई नियन्त्रणमा लिएर औषधि पसलमा पुग्यो ।

medecine (2)औषधि दिनुको कारण र विक्री गरेको बिल खोज्दा पसले आत्तिए । उनले औषधिका नाममा युवाहरुलाई लागुऔषध बेचिरहेका थिए । ट्रामाडोल नामको ट्याब्लेट विक्री गरिरहेको अवस्थामा सुन्दरकाजी जोशी र नुच्छेलाल श्रेष्ठ पक्राउ परे ।

उनीहरुले एक सय रुपैयाँको औषपिध लागुऔषध दुव्र्यसनीहरुलाई तीन सय रुपैयाँसम्म विक्री गर्ने गरेको भेटिएको ब्युरोका इन्स्पेक्टर कृष्ण गोपाल पनेरुले बताए ।

त्यस्तै चावहिलको चुच्चेपाटीस्थित रुपन्देही ड्रग हाउसले पनि डाक्टरको सिफारिस बिनामै लागुऔषधको रुपमा विभिन्न औषधि विक्री गर्ने गरेको प्रहरीको भनाइ छ । सो औषधि पसलका सञ्चालक रामबहादुर केसी पक्राउ परेका छन् ।

त्यस्तै भीमसेनगोलास्थित शेरावली पोलिक्लिनिकबाट पनि ब्युरोको टोलीले ओपिडोल, स्पास्मो र ट्राफ्लास नामको औषधि अवैधरुपमा विक्री गरेको भेटिएको छ ।

डाक्टरको सिफारिस विना अवैधरुपमा विक्री गर्न राखिएको करिब १ हजार ट्याब्लेट औषधिसहित रोशन सापकोटा पक्राउ परेका छन् ।

ब्युरोको टोलीले बरामद गरेको ओपिडोल, स्पास्मो, ट्राफालास, ट्रमाडोल नामका ट्याब्लेटहरु औषधि नै हुन । तर, यी औषधिहरु डाक्टरको सिफारिस बिना विक्री वितरण गर्न पाइँदैन । तर, लागुऔषध दुव्र्यसनीहरुले विभिन्न प्रकारका तिनै ट्याब्लेटहरु लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको लागुऔषध नियन्त्रण ब्युरोका इन्पेक्टर कृष्ण गोपाल पनेरु बताउँछन् ।
औषधि पसलमा छापा मार्न पुगेका इन्स्पेक्टर पनेरुले भने-औषधिका नाममा कैयौं युवाहरुलाई लागुऔषध बेचिँदैछ, जसले समाजलाई सखाप बनाइसक्यो ।

विभिन्न औषधि पसलेहरुले अवैध तरिकाले लागुऔषध विक्री गरिरहेको भन्ने सूचना आएपछि छापा मारेको ब्युरोका डीआइजी जयबहादुर चन्दले अनलाइनखअबरलाई बताए । डीआइजी चन्दले भने ‘हेर्दा औषधि हो, तर सस्तो र सहजै पाउने भएपछि युवाहरुले त्यसैलाई लागुऔषधका रुपमा प्रयोग गरेको भेटियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment