Comments Add Comment

भारतीय तस्करद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण

baluwa-3

२३ साउन, काठमाडौं । नेपाली भूमिभित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरी घाइते बनाएका छन् ।

भारतीयको कुटाइबाट पर्साको भीखमपुरमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी जवान रत्नेस साह घाइते भएका छन् ।

भारतीयको कुटाईबाट सशस्त्र प्रहरी साहको हातमा गम्भीर चोट लागेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।

उनले घाइते सशस्त्र प्रहरी जवान साहको घाउ लागेको हातमा तीनवटा टाँका लगाइएको बताए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको बताए। कुटाइबाट सशस्त्र प्रहरी साहको देब्रे हातमा तीनवटा टाँका लगाउनु परेको उपरीक्षक थापाले जानकारी दिए ।

नेपाल-भारत सीमाभन्दा दुईसय ५० मिटरभित्र नेपालमा पर्ने ओरिया खोलाबाट ५०/६० जनाको सङ्ख्यामा रहेका भारतीयले छवटा ट्र्याक्टरमा बालुवा लोड गरिरहेका बेला सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीयले आक्रमण गरेको उपरीक्षक थापाले बताए ।
खोलाबाट भारतीयले बालुवा उत्खनन गरेको स्थानीय नेपालीले जानकारी गराएपछि नेपाली सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो । आजको अन्नपूर्णमा समाचार छ ।

सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट भीखमपुरका सशस्त्र प्रहरी नायब निरीक्षक हरिप्रसाद लम्साल, प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक निरीक्षक गोपाल खड्का र प्रहरी चौकी पिडारीगुठीबाट प्रहरी सहायक निरीक्षक राजकुमार घलानको नेतृत्वमा १७ जना सशस्त्र र नेपाल प्रहरी ओरीया खोलामा पुगी उत्खनन रोक्न खोज्दा लाठी र साबेलले आक्रमण गर्दा जवान साह घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने भारतीयमाथि नेपाली सुरक्षाकर्मीले लाठी चार्ज गरेपछि भारतीय भागेका थिए । घटनास्थलबाट बालुवा तस्करीमा प्रयोग गरिएको भारतीय आइचर ट्र्याक्टर र बीआर २२ एन २०२८ नंको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

दुवै सवारी साधन सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट भीखमपुरमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । उनले सीमा क्षेत्रमा केहीबेर तनाव रहेपनि हाल स्थिति नियन्त्रणमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment