+
+

भीम रावललाई प्रचण्डले भने- तपाई टेन्सन नलिनुस्, राष्ट्रहित बाहेक केही गरिँदैन

'मसँग फर्मुला छ, त्यो फर्मुलामा एमाले नआई सुख्खै छैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २६ गते १०:५०
Prachand,-Bhim-Rawal,Prabhu
श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिमा प्रधानमन्त्री प्रचण्ड लगायत । तस्वीर: रासस

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलाई लिएर आशंका नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न आइतबार बोलाइएको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिमा एमाले नेता भीम रावल लगायतले केही सम्झौता हुँदैछ कि भन्ने आशंका व्यक्त गरे । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले नेता रावलको नामै लिएर भने, ‘तपाई टेन्सन नलिनुस्, नेपाल राष्ट्रको हित बाहेक केही गरिँदैन ।’

उनले अघि भने, ‘प्रचण्ड वा पुष्पकमल जान लागेको पनि होइन । प्रधानमन्त्री जाने हो । राष्ट्रहित बाहेक सोच्न सकिँदैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नेपाल-भारत सम्वन्धको नयाँ अध्याय खुल्ने विश्वास व्यक्त गरे । संविधान जारी गर्ने क्रममा नेपाल भारतको सम्वन्ध तितो-मिठो भएको स्वीकार गर्नुपर्ने भन्दै उनले भने, ‘विगतको समिक्षा गर्ने र त्यसबाट शिक्षा लिएर आगाडि जानेे सोचका साथ म भारत जाँदैछु ।’

भारत जानु अघि मधेसलाई सम्बोधन

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे छलफल गर्न २८ गते सर्वदलीय बैठक राखेको समितिलाई जानकारी दिए ।

त्यसअघि सोमबार मधेस जाने कार्यक्रम रहेको उनले जानकारी दिए । प्रचण्डले भने, ‘मधेसी जनताको विश्वास आर्जन गर्न चाहन्छु र मधेसलाई सम्बोधन गर्न मधेस जाँदैछु ।’

संघीय गठवन्धनसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको भन्दै उनले संविधान संशोधनको तयारी भइरहेको बताए । साथै संविधान संशोधनमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘मसँग फर्मुला छ, जुन मैले बाहिर भनेको छैन । त्यो फर्मुलामा एमाले नआई सुख्खै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?