८ कात्तिक, मुगु । मुगुस्थित नेपालकै सबैभन्दा ठूलो र सुन्दर रारा ताल हेर्न आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । यसैका कारण रारा छेउका दुर्इवटा होटेलसमेत भरिभराउ भएपछि केहि पर्यटकलार्इ गाँसबासका लागि असहज भएको छ ।
कच्ची भए पनि मुगु सदरमुकाम सडक सञ्जालसंग जोडिएको र ताल्चा विमानस्थल पनि कालोपत्रे भएपछि यातायातमा सहजता आएकाले रारा हेर्नेको संख्या दिन प्रतिदिन बढ्न थालेको छ ।
जैविक विविधतायुक्त र प्राकृतिक सुन्दरताले भरीपुर्ण रारा जति सुन्दर छ, त्यति नै असहजता पर्यटकहरुले खेप्नुपर्छ । रारामा बास बस्ने डाँफे र भिलेज हेरिटेज दुर्इ वटामात्र होटल भएकाले थुप्रै पाहुना आएको अवस्थामा आवश्यक सुविधा दिन समेत कठिन हुने गरेको छ ।
रारा हेर्न आएका पर्यटकहरुलार्इ भने जति सुविधा दिन बिजुली बत्ति इन्टरनेट प्रयाप्त होटलहरु लगायतका पुर्वाधार नभएकाले विभिन्न रहरले आएका कतिपय पर्यटकहरुको इच्छा पुरा हुन सकेको छैन ।
हिउँद होस् वा बर्षा कुने पनि सिजनमा राराको सुन्दरतामा कमी हुँदैन । यतिखेर पनि न त किनारमा हरीयाली छ, न त हिमालमा हिउ नै छ, तर पनि राराको सुन्दरतामा कमी छैन ।
पर्यटकहरु कोही डुङ्गा सयरमा मस्त देखिन्छन् त, कोही सेल्फी खिच्नमै व्यस्त भेटिन्छन् । खास गरेर रमाइलो गर्ने र विशुद्ध प्राकृतिकपनमा आनन्द लिने पर्यटकको रोजाइ बनेको छ, रारा ।
दशै तिहारकोबीचमा रारा हेर्नेको संख्या अत्यधिक बढेर दैनिक २ सय भन्दा माथि पुगेको कुरा डाँफे होटल संचालक गोपाल बम बताउँछन् ।
आउँदो समयमा राराको प्राकृतिक सुन्दरता बचाउँदै आसपासमा सुविधा सम्पन्न होटेल तथा लजको व्यवस्था हुने हो भने स्वदेशी तथा विदेशी पर्यटकहरु धेरै बढ्ने देखिन्छ ।
प्रतिक्रिया 4