+
+

पाथिभरा क्याम्पसको स्ववियु चुनावमा चार विद्यार्थी संगठनको संयुक्त प्यानल

रविन भट्टराई रविन भट्टराई
२०७३ फागुन १३ गते १७:३४

१३ फागुन, ताप्लेजुङ । फागुन १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा ताप्लेजुङमा चार विद्यार्थी संगठन एक भएर प्रतिस्पर्धामा उत्रने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी (प्रचण्ड), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र संघीय विद्यार्थी युनियनले शुक्रबार संयुक्त प्यानल निर्माण गर्दै उम्मेद्वार घोषणा गरेका हुन् ।

प्रत्यक्ष निर्वाचित ९ जनाका लागि संयुक्त प्यानलले नेविसंघका प्रेम कुमार राईको सभापतित्वमा उम्मेद्वारहरुको नामावली घोषणा गरेको हो । सचिव र कोषाध्यक्षमा क्रमशः जापान मादेन र अनिल पालुङ्वा छन् । मादेन अखिल क्रान्तिकारीका र पालुङ्वा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका हुन् ।

नेबिसंघका सबिना तुम्बाहाम्फे, अखिल क्रान्तिकारीका रबिन पालुङ्वा र होमकुमारी दियाली, संघिय विद्यार्थी युनियनका बिनिता अङछङवो र मनु मावोसहित राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका जलन लिम्बुलाई यो गठबन्धनले सदस्यका रुपमा अघि सारेको छ ।

अन्य ६ जना सदस्यको पनि नाम घोषणा गरेको र १५ सदस्यमा बाँकी उपसभापति र सहसचिव सहित ६ सदस्य समानुपातिक निर्वाचन प्रणालीको आधारमा हुने नेबिसंघका जिल्ला सभापति डम्बर हाङगामले बताए ।

यता सत्तारुढ दलसहितका ४ विद्यार्थी संगठन एकजुट हुँदा नेकपा एमाले सहितका अरु दल निकट विद्यार्थीहरुले पनि गठबन्धनको तयारी थालेका छन् ।

यो गठबन्धनमा एमाले निकट अनेरास्ववियु, नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारी, नयाँशक्ति, संघिय समाजवादी फोरम नेपाल र संघिय लिम्बुवान पार्टी निकट संघिय विद्यार्थी युनियनबीच मोर्चाबन्दीको तयारी भइरहेको अनेरास्वबियुका जिल्ला अध्यक्ष डिल्ली न्यौपानेले जानकारी दिए ।

यद्यपी यसका बारेमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ । संघिय लिम्बुवान पाटीको नेतृत्व सञ्जुहाङ पालुङ्वाले गरिरहेका छन् ।

ताप्लेजुङकै जेठो मानिएको पाथीभरा बहुमुखी क्याम्पसमा यसअघि सहमतिका आधारमा स्ववियुको छनौट भएपनि अध्यक्ष र सचिव सहितको नेतृत्व अनेरास्ववियुले गरेको थियो ।

क्याम्पसमा अहिले स्ववियुका लागि ४ सय १९ मतदाता रहेको क्याम्पसका लेखा तथा प्रशासन अधिकृत मातृकाप्रसाद नेपालले जानकारी दिए । त्रिविमा यसपटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन लागेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?