+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमयू स्ववियु निर्वाचन : के छ विद्यार्थीका एजेन्डा ?

यज्ञ खत्री यज्ञ खत्री
२०८१ भदौ २५ गते २१:०९

२५ भदौ, सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिएसँगै मध्यपश्चिम विश्वविद्यालयमा राजनीतिक चहलपहल बढ्न थालेको छ । स्नातक तह पहिलो वर्षको भर्ना कार्यक्रम सञ्चालन भइरहेका बेला विद्यार्थी संगठनहरु भने चुनावी माहौलमा होमिएका छन् ।

स्ववियुको निर्वाचन भदौ २८ मा तोकिएको छ । चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत त्रिभुवन बिसीले जानकारी दिए । ‘मतपत्र छपाइको लागि पठाइ सकिएको छ । तयारी अव अन्तिम चरणमा पुगेको छ,’ बिसीले भने ।

दलसम्वद्ध विद्यार्थी संगठनहरु तीव्र प्रचारमा जुटेपनि बहुसङ्ख्यक विद्यार्थीलाई भने स्ववियु निर्वाचनप्रति मोह छैन । विश्वविद्यालयको प्राङ्गणमा विद्यार्थीहरू कम भेटिने भएपछि संगठनहरुले सामाजिक सञ्जाललाई प्रचारको प्रमुख माध्यम बनाएका छन् ।

‘भर्चुअल र फिजिकल दुवै माध्यमबाट चुनावी प्रचार भइरहेको छ’, अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका सह–संयोजक सचिन तिमिल्सेना भन्छन्, ‘सामाजिक सञ्जाललाई अझ बढी प्राथमिकता दिएका छौँ । हरेक विद्यार्थीलाई भेटेर मत मागिरहेका छौँ । फोन र म्यासेज पनि गरिरहेका छौँ ।’

नेविसंघको आत्मविश्वास

सत्तारुढ कांग्रेस र एमालेसम्वद्ध विद्यार्थी भ्रातृ सङ्गठनहरूले गठबन्धन गर्ने प्रयास गरेका थिए । तर सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने भनेका छन् । विद्यार्थी नेताहरुका अनुसार नेविसंघले नै एक्लै प्रतिस्पर्धा गर्ने अडान लिएको थियो । यसको पछाडि नेविसंघको बलियो आत्मविश्वास देखिन्छ ।

१२ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनमा नेविसंघकै झक्कुबहादुर शाही अध्यक्षमा विजयी बनेका थिए । त्यति बेला नेविसंघबाट प्यानलले नै विजयी जित हात पारेको थियो । चुनावमा एक्लै प्रतिस्पर्धाको तयारी गरिरहेको नेविसंघले नयाँ मतदाता के चाहन्छन्, बदलिएको सन्दर्भमा विद्यार्थीको आवश्यकता के हो ? लगाएका विषयमा विद्यार्थीहरूबाटै सल्लाह सुझाव लिएको नेविसंघ मध्यपश्चिम विश्वविद्यालयका नेता दीपक उपाध्याय बताउँछन् ।

नेविसंघले रोशन बस्नेतलाई अध्यक्षको उम्मेदवार बनाएको छ । अघिल्लो कार्यकालमा स्ववियु सदस्यमा निर्वाचित बस्नेत बलिया उम्मेदवार मानिन्छन् । इन्जिनियरिङबाट स्नातक गरेका बस्नेत स्नातकोत्तर अध्ययनरत छन् । अहिलेका अध्यक्षका अन्य उम्मेदवारभन्दा बस्नेत नै सिनियर र क्षमतावान् भएको उपाध्यायको दाबी छ । उनी भन्छन्, ‘हिजो विद्यार्थीकै हक हितका लागि गोली खाने, हिरासतमा पुग्ने र हप्तौँसम्म आमरण अनसन बस्ने रोशन बस्नेत नै हो । उहाँको विगतको योगदान नै हाम्रो चुनाव जित्ने आत्मविश्वास हो ।’

आफ्नो विगतको योगदान, अघिल्लो कार्यकालको काम, अरूको भन्दा समावेशी उम्मेदवारको टिम र विद्यार्थीकै एजेन्डा उठाउनु आफ्नो जितको आधार रहेको अध्यक्षका उम्मेदवार बस्नेतले बताए । उनले सबै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा, अत्याधुनिक लाइब्रेरी, स्वच्छ खानेपानी तथा स्मार्ट शौचालय, विद्यमान पाठ्यक्रममा समय सापेक्ष परिमार्जन र विद्यमान ग्रेडिङ प्रणालीलाई अझै व्यवस्थित र वैज्ञानिक बनाउने लगाएका एजेन्डाहरू अगाडि सारेका छन् ।

त्यस्तै व्यावहारिक शैक्षिक क्यालेन्डर निर्माण र कार्यान्वयन गर्ने, पर्याप्त उपकरण सहितको प्रयोगशालाको व्यवस्था, स्वच्छ र भए रहित वातावरणमा पठनपाठन र विद्यार्थीको व्यक्तित्व विकासका लागि काम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको अध्यक्षका उम्मेदवार बस्नेतले बताए ।

अनेरास्ववियुलाई अनुकूलता

अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार जगतजंग शाही भने यस पटक अनेरास्ववियुको सिङ्गो प्यानल नै विजयी हुने दाबी गर्छन् । अन्य विद्यार्थी सङ्गठनमा विवाद देखिएको, तर अनेरास्ववियुमा एकता भएकाले यो नै जितको आधार भएको उनले बताए । अनुशासित, राम्रो शैक्षिक पृष्ठभूमि रहेका र नेतृत्व गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउँछ भन्ने छाप एमयूमा रहेको अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका सह–संयोजक तिमिल्सेना बताउँछन् ।

‘हाम्रो प्रत्येक सङ्कायमा आफ्नै बलियो र एकताबद्ध संघठन छ । गुट र मतभेद छैन,’ तिमिल्सेनाले भने, ‘यो विश्वविद्यालयमा आजभन्दा ८ वर्ष अगाडि राम्रो थियो होला, तर त्यो वातावरण छैन ।’

शैक्षिक मूल्याङ्कन प्रणाली धेरै पुरानो भइसकेकोले यसको समयानुकूल सुधारलाई पनि अनेरास्ववियुले मुद्दा बनाएको छ । ‘हामी स्ववियुमा रहेको र नरहेको दुवै अवस्थामा निरन्तर शैक्षिक मुद्दा उठाउँदै आएका छौं,’ अध्यक्षका उम्मेदवार शाही भन्छन्, ‘ताला रहित विश्वविद्यालयको विगत देखि नै वकालत गर्दै आएका छौँ ।’

विगतमा अन्य विद्यार्थी सङ्गठन र प्राध्यापक सङ्गठनहरूले लगाएको ताला फोड्दै आएको अनेरास्ववियुले अहिले त्यसैलाई नै चुनावको प्रमुख एजेन्डा बनाएको छ । ‘हामी शैक्षिक सुधारको एजेन्डा लिएर चुनावमा जादैछौं, डिजिटल विश्वविद्यालय, अध्ययन कक्ष बनाउनेदेखि सुविधा सम्पन्न आधुनिक पुस्तकालय, शैक्षिक सुधारसम्मको एजेन्डा समेटेका छौं,’ अध्यक्षका उम्मेदवार शाही भन्छन् ।

त्रुटिरहित नतिजा प्रकाशन, कलेज हेरिङ्गका लागि पहल, खोज अनुसन्धान तथा व्यवहारिक शिक्षा, स्थायी, दक्ष तथा अनुभवी प्राध्यापकको व्यवस्थाका लागि पहल गर्ने लगाएका चुनावी एजेन्डा अनेरास्ववियुले तय गरेको छ । जगत जंग भन्छन्, ‘सङ्गठन एक ढिक्का छ । पार्टीको केन्द्रीय कमिटीदेखि लिएर, पार्टीगत लाइन सङ्गठन सबैले ब्याक फोर्सको रूपमा काम गरिरहेकोले हामी जित्छौँ ।’

अखिल क्रान्तिकारीलाई मोर्चाको भर

माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू र विप्लव निकट अखिल (समाजवादी) विद्यार्थी सङ्घठनले भने समाजवादी मोर्चाको नाममा चुनावी गठबन्धन गरेका छन् ।

अध्यक्ष पदमा अखिल क्रान्तिकारीका दीपक खड्का उठेका छन् भने अखिल (समाजवादी)बाट सचिवमा चीनबहादुर सहकारी र अनेरास्ववियूबाट दिलबहादुर शाही कोषाध्यक्षको उम्मेदवार बनेका छन् । यसरी नै तीन वटै सङ्गठनले समाजवादी मोर्चाको नामक प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।

०८३ को स्ववियू निर्वाचनको मत परिणाम हेर्दा मप विश्वविद्यालयमा अखिल क्रान्तिकारी दोस्रो ठुलो विद्यार्थी सङ्गठन हो । त्यसैलाई आधार मानेर अखिल क्रान्तिकारीले चुनाव जित्ने दाबी गरिरहेको छ ।

अर्कोतिर अन्य विद्यार्थी सङ्गठनहरू एक्ला एक्लै लड्दै गर्दा अखिल क्रान्तिकारी भने समाजवादी मोर्चा बनाएर चुनाव लडिरहेकाले पनि चुनावी जितिने अखिल क्रान्तिकारीका नेता महेश जिसी बताउँछन् । ‘समग्र शैक्षिक वातावरणमा सुधार गर्न छात्रवास, पुस्तकालय, प्रयोगशालादेखि पाठ्यक्रम सुधारको एजेन्डा अगाडि सारेका छौँ,’ जिसीले भने । विद्यार्थी, शिक्षक र प्रशासनबिचको संवाद र अन्तरक्रिया बढाउन लगाएका कार्यक्रम अखिल क्रान्तिकारीले सारेको छ ।

स्ववियु खारेजी स्वतन्त्रको एजेन्डा

अध्यक्षमा स्वतन्त्र उम्मेदवार युवराज चपाइको चुनावी एजेन्डा भने अनौठो छ । उनको एउटा मात्रै चुनावी एजेन्डा हो, मध्यपश्चिम विश्वविद्यालयमा स्ववियुको खारेजी ।

सामाजिक कार्य विभागमा स्नातकमा अध्ययनरत चपाई विगत तीन वर्षदेखि सामाजिक आन्दोलनमा सक्रिय छन् । स्वतन्त्र उम्मेदवारी दिएका चपाई भन्छन्, ‘अहिले स्वतन्त्रको पक्षमा माहौल छ, साथै मैले अगाडि सारेका एजेन्डाहरू पनि विद्यार्थीले रुचाएका छन् ।’

आफू निर्वाचित भए विश्वविद्यालयको पहिलो सिनेट बैठकमा स्ववियु विघटन गरी मप विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्को स्थापना गर्ने प्रस्ताव पेस गर्ने चपाई बताउँछन् । ‘आज दल निकट विद्यार्थी सङ्गठनहरूको चुनावी तड्क भड्क हेर्दा आम निर्वाचनमा पार्टीको उमेद्वारहरुको भन्दा कम छैन,’ चपाई भन्छन्, ‘स्ववियुले तीनै दल निकट विद्यार्थी सङ्गठनलाई विश्वविद्यालयमा राजनीति गर्ने वैधता दिएको त्यसैको खारेजी मेरो माग हो ।’

उनी विश्वविद्यालयमा स्ववियुको विकल्प दल निकटका सङ्गठन रहित विद्यार्थी कल्याणकारी परिषद् आवश्यक रहेको बताउँछन् । ‘राजनीति, तालाबन्दी, गुन्डागर्दी सब थोक विश्वविद्यालयमा हुन्छ । यसको एउटा मात्रै जड विश्वविद्यालयमा देखिएको राजनीति हो । त्यसको अन्त्य गरिनुपर्छ’ उनी भन्छन् ।

अध्यक्षमा एक मात्र महिला उम्मेदवार

स्ववियु सभापतिका लागि ६ जना उम्मेदवारमध्ये एक जना महिला उम्मेदवार छिन् । नेपाल क्रान्तिकारी विद्यार्थी संघको तर्फबाट अस्मिता सुनारले सभापतिमा उम्मेदवार दिएकी हुन् ।

महिला विद्यार्थीको सङ्ख्या बढी भएको क्याम्पसमा एक मात्र महिला र योग्य भएकीले आफूले जित्ने विश्वास छ अस्मितालाई । उनी भन्छिन्, ‘विश्वविद्यालयमा महिला विद्यार्थीको सङ्ख्या अधिक छ । म आफैँ महिला पनि हुँ, अध्यक्षको लागि योग्य उम्मेदवार पनि । त्यसैले मेरो जित सुनिश्चित छ ।’

आफ्नो प्रतिबद्धता पत्रमै विद्यार्थीहरूको वास्तविक माग र अपेक्षालाई समेटेको उनको दाबी छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?