२२ असार, झापा । झापामा ३ स्थानीय तह जितेर जिल्लामा तेस्रो शक्ति बनेको राप्रपाले आफूले जितेका स्थानीय तहका कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्ने निर्णय गरेको छ ।
झापाको हल्दिबारी र कचनकबल गाउँपालिकाको कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राखेको विषय अहिले चर्चामा छ । सपथग्रहण लगत्तै ती कार्यालयमा नेपाल राष्ट्र एकीकरण गर्ने शाहवंशीय राजा पृथ्वीनारायणको फोटो राखिएको हो ।
कचनकबलका अध्यक्ष अञ्जार आलम र हल्दिबारीका अध्यक्ष रविन्द्र लिङ्देनले आफ्नो कार्यकक्षको माथिपट्टी पृथ्वीनारायण शाहको तस्वीर राखेका छन् । उनीहरुको यो निर्णयको राप्रपा अध्यक्ष कमल थापा समेतले प्रशंसा गरेका छन् ।
‘राष्ट्र निर्माण गर्ने महान् व्यक्तिको तस्बिर राख्नु कुनै नौलो कुरा हो र ?’, हल्दिबारीका अध्यक्ष रविन्द्रले उल्टै प्रश्न गरे ।
उता, कचनकबलका अध्यक्ष अञ्जार भने नेपाललाई एकीकरण गर्ने, इतिहास सुरु गर्ने प्रमुख व्यक्तिलाई नै भुल्ने मान्छे नेपाली हुनै नसक्ने बताउँछन् । ‘उहाँले मुलुकको एकीकरण गर्नु भयो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले उहाँको सम्मानमा तस्वीर राखिएको हो ।’
संवैधानिक राजसंस्थासँगै राष्ट्रियता पनि आफूहरुको प्रमुख एजेण्डा भएको रविन्द्र बताउँछन् । ‘राष्ट्र निर्माण गर्ने धरोहरको तस्वीर राखेर स्मरण गरेका हौं’, उनले भने ।
राप्रपा झापाका जिल्ला सचिव केशव ओझाले पृथ्वीनारायण शाहको तस्वीर राख्ने कुरा आफूहरुको घोषणा पत्रमै उल्लेख भएको बताए ।
प्रतिक्रिया 4