११ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान सम्बन्धी दिएको अभिव्यक्तिको नेपाली कांग्रेसले बचाउ गरेको छ ।
काँग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री देउवाको भारत भ्रमण अत्यन्तै सफल भएको दावी गर्दै देउवाको अभिव्यक्तिको समेत बचाउ गरेका हुन् ।
प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा फेरि संविधान संशोधन गर्न प्रयास गर्ने अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।
तर, काँग्रेस कार्यबहाक सभापति निधिले संविधानमा अन्तर्राष्ट्रिय समुदायको स्वागत र समर्थन लिन पनि प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति औचित्यपूर्ण रहेको तर्क गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी गरे ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यबहाक सभापति निधिले संविधानको सर्वस्वीकार्यता बढाउने गरी प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति औचित्यपूर्ण, अत्यन्तै परिपक्व र सार्थक पहल भएको दावी पनि गरे ।
ओलीको चीन र नेपालको उत्तर कोरिया भ्रमणप्रति आपत्ती
काँग्रेस कार्यबहाक सभापति निधिले एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक रहेको बताएका छन् ।
उनले ओलीले चीन भ्रमणको बेला संघीयताको विरोधमा चिनियाँ नेताहरुसँग छलफल गरेर नेपालको शीर निहर्याएको आरोप लगाए ।
उनले माधव नेपालले सरकारको अनुमति विनानै उतरकोरियाको भ्रमण गरेकोमा पनि आपत्ति जनाए ।
एमाले अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले संविधानका विषयमा दिएको अभिव्यक्तिले नेपालको शीर निहुर्याएको भन्दै कडा आलोचना गरे ।
सोही प्रसंग कोटयाउँदै काँग्रेस कार्यबहाक सभापति निधिले प्र्रधानमन्त्री देउवाले संविधानमा अन्तराष्ट्रिय समुदायको स्वागत र समर्थन बटुल्न भारत भ्रमणमा पनि सो विषयमा वकालत गर्नु भएको प्रष्टिकरण दिए ।
प्रतिक्रिया 4