Comments Add Comment

दशैंका खसीबोकामा पनि भारतकै भर

४५ हजार खसीबोका भारतबाट आयात गर्ने तयारी

२६ भदौ, काठमाडौं । नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको छ । दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्रा लागि भारतमै निर्भर हुनुपरेको हो ।

व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि ८० प्रतिशतभन्दा बढी चौपाया छिमेकी मुलुक भारतबाट आयात हुन्छ । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको हो ।

चौपाया व्यवसायी महासंघका अनुसार यसपटक दशैंमा झण्डै ४५ हजारको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा भारतबाट आयात गर्ने तयारी छ ।

गत वर्ष पनि सोही संख्यामा त्यस्ता चौपाया आयात भएको संघ बताउँछ । गत वर्षको तुलनामा ठूलो संख्यामा माग नहुने अनुमान व्यवसायीहरूले गरेका छन् ।

त्यस्तै, दशैंमा अधिक खपत हुने राँगाभैंसी भने कति आयात हुन्छ, त्यसको आँकडा व्यवसायीसँगै छैन । ‘व्यवसायीले बजारको माग अनुसार आपूर्ति गर्ने हो,’ महासंघका पूर्वअध्यक्ष दीपक थापाले भने ।

कतिपय व्यवसायीले भारतबाट चौपाया आयात गर्न थालिसकेका छन् ।

एकै सातामा बाहिरिन्छ ७० करोड

खसीबोका र भेडाच्याङ्ग्रा आयातका लागि अष्टमी÷नवमीअघिको एक सातामामात्र झण्डै ७० करोड रुपैयाँ बाहिरीने व्यवसायी बताउँछन् । त्यसअघि फाट्टफुट्ट मात्रामा चौपाया भए पनि घटस्थापनापछि भने चौपायाको आयात ह्वात्तै बढ्छ । मासुको अत्यधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुन्छ ।

नेपालमा मासुकै लागि वार्षिक रुपमा १० अर्ब रुपैयाँको हाराहारीमा रकम बाहिरिने महासंघको दाबी छ । महासंघका अनुसार नेपालमा वार्षिक २८ अर्ब रुपैयाँ मासु खपत हुने महासंघ बताउँछ ।

कमजोर आन्तरिक बजार

खासगरी उपत्यका मासुका लागि बढी परनिर्भर छ । व्यवसायीका अनुसार दशैंको समयमा मुलुकको आन्तरिक बजारले १० प्रतिशतको हाराहारीमामात्र योगदान गर्छ । पछिल्लो समय आन्तरिक बजार कमजोर बन्दै गएकाले आयात अरू बढ्दै गएको व्यवसायीको अनुभव छ ।

दशैंको समयमा उपत्यकामामात्रै झण्डै ६० हजार खसीबोका र भेडाच्याङ्ग्राको माग रहेको अनुमान छ ।

मूल्य निर्धारणको मापदण्ड नै छैन

दशैंमा खपत हुने चौपाया खरिद–विक्री भने व्यावसायीले आफूखुसी गर्दै आएका छन् । यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन ।

माग अनुसारको आपूर्तिले मूल्य निर्धारण हुँदै आएको महासंघको भनाइ छ । ‘सरकार र व्यवसायी कसैले पनि हालसम्म मूल्य निर्धारणका लागि हालसम्म मापदण्ड बनाएका छैनन,’ महासंघका पूर्वअध्यक्ष थापाले भने । मूल्य निर्धारणको मापदण्ड नहुँदा उपभोक्ताले मासुमा ठगिँदै आएको गुनासो लामो समयदेखि गर्दै आएका छन् ।

व्यवसायीले दशैंमा मनोमानी गर्ने र अस्वस्थ प्रतिस्पर्धाका कारण उपभोक्तालाई मार पर्न नदिन सरकारले पनि खसीबोका र भेडाच्याङ्ग्रा कारोबार गर्ने गरेको छ । यसपटक खाद्य संस्थानले विभिन्न जिल्लाबाट २ हजार ५ सय खसीबोका र भेडाच्याङ्ग्रा उपत्यका ल्याउने तयारी गरेको छ । संस्थानले यसपटक १ हजार ५ सय खसीबोका र १ हजार भेडाच्याङ्ग्रा उपत्यका ल्याउँदैछ । संस्थानले ती चौपायाको मासु बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपभोक्तालाई विक्री गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment