
३० भदौ, काठमाडौं । रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माण गर्न धुर्मुस-सुन्तली फाउण्डेशनले तयारी सुरु गरेको छ ।
बाढी पीडित बनेका स्थानीयवासीका लागि राहत वितरणसँगै एकीकृत नमूना वस्ती निर्माण गर्ने घोषणा गरेको फाउण्डेशनले वस्ती निर्माणका लागि तयारी सुरु गरेको जनाएको छ ।
स्थलगत अध्ययन तथा अवलोकन पश्चात फाउण्डेशनले जिल्लाको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर वस्ती’ निर्माण गर्ने टुङ्गो लगाएको हो ।
सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्या बसोवास रहेको छ । वस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ ।
वषौंदेखि गरिवीको चपेटामा परेका उनीहरुको अवस्था बाढीका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बनेको छ ।
उक्त क्षेत्रका दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयनीय रहेको फाउण्डेशनले भिडियोमा उल्लेख गरेको छ ।
वस्तीका अधिंकाश बालबालिकाहरुलाई स्कुल नपठाउने उनीहरु लगभग सबैजसो अशिक्षित र बेरोजगार छन् ।
फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमूना सन्तपुर वस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार दुई तल्लाको चार वटा कोठा हुने गरी एक शौचालय, धारा र बगैंचासमेत निर्माण गर्नेछ ।
वस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासीय घर, एउटा मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै वस्ती अवलोकन गर्ने भ्यु टावर समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।
वस्ती निर्माणका लागि ५ करोड ७५ लाख खर्च हुने अनुमान गरिएको फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।
एकीकृत नमूना वस्ती शिलन्यासको मिति नतोकिएको भएपनि छिट्टै सुरु गरिने फाउण्डेशनले जनाएको छ ।
कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस-सुन्तलीले वस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ दिने विश्वास व्यक्त गरेका छन् ।
फाउण्डेशनले तयार पारेको वस्तीको भिडियो
प्रतिक्रिया 4