+
+

डोटीमा बलायर-आले आमनेसामनेः कसले मार्ला बाजी ?

माओवादी केन्द्रका सिद्धराज भाट पनि स्वतन्त्र उठ्ने

रामहरि ओझा रामहरि ओझा
२०७४ कात्तिक १६ गते ९:०७

१६ कात्तिक, डोटी । प्रतिनिधि सभाका लागि एक मात्र क्षेत्र कायम भएको डोटीमा कांग्रेस नेता वीरबहादुर बलायर र एमालेका प्रेमबहादुर आलेबीच प्रतिस्पर्धा हुने भएको छ ।

बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् भने आले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद हुन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा बलायरले तत्कालीन डोटी १ र आलेले २ बाट जितेका थिए । त्यतिबेला दुवै नेतालाई डोटीको विकासका लागि अनिवार्य आवश्यकता बताइएको थियो । अहिले दुवै आमनेसामने भएका छन् ।

राजनीतिमा दुवै नेताका धेरै विषय मिल्दाजुल्दा छन् । दुवै ०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थिए । दुवै नेताहरुको राजनीतिक पृष्ठभूमि कांग्रेस नै हो । आले ०५३ सालमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

२०७२ सालमै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आले मन्त्री बन्ने चर्चा व्यापक थियो । तर, सम्भव भएन । बलायर भने हालको सरकारमा मन्त्री बने ।

२०६९ सालमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनमा दुवै नेता नेतृत्वदायी भूमिकामा थिए । र, प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने ‘लबिङ’मा छन्, दुवै ।

जिल्लामा आशालाग्दा अनुहार पनि मानिन्छ, उनीहरुलाई । र, दुवैले पछिल्लो समयमा लोकपि्रयता गुमाएका पनि छन् ।

यस्तो छ अंकगणित

२०४८ सालयता डोटीमा निरन्तर दुई वटा निर्वाचन क्षेत्र थिए । ०४८, ०५१ र ०५६ का आम निर्वाचनमा कांग्रेसले जितेको थियो, दुवै क्षेत्र । र, ती निर्वाचनमा लगातार कांग्रेस नेताद्वय भक्तबहादुर बलायर र सिद्धराज ओझा विजयी भएका थिए ।

पहिलो संविधानसभामा भने कांग्रेसले दुवै क्षेत्र गुमायो । त्यतिबेला डोटी १ मा एमाले र २ मा माओवादीका उम्मेदवारले जितेका थिए । ०७० मा आएर क्षेत्र नम्बर १ को वर्चश्व फर्काउन सफल भयो, कांग्रेस ।

समानुपातिकतर्फको मत संख्याका आधारमा कांग्रेस पहिलो दल बनेको थियो, जिल्लामा । कांग्रेसको २८ हजार ३५ र एमालेको १९ हजार ६ सय चार मत थियो । माओवादीको समानुपातिक मत थियो, सात हजार नौ सय ६८ ।

२०७० को परिणामअनुसार वाम गठबन्धनको मत संख्या जोड्दा २७ हजार पाँच सय ७२ हुन्छ, जुन कांग्रेसभन्दा चार सय ६३ मत कम हो । उक्त निर्वाचनका आधारमा कांग्रेस वाम गठबन्धनभन्दा झिनो मतले अगाडि देखिन्छ ।

गत १४ असारमा सम्पन्न स्थानीय तहको मत परिणामको आधारमा भने वाम गठबन्धनभन्दा कांग्रेस पछाडि देखिन्छ । जिल्लाका नौ स्थानीय तहमध्ये कांग्रेसले तीन, एमालेले पाँच र माओवादी केन्द्रले एक स्थानमा बाजी मारेका छन् ।

स्थानीय चुनावमा जिल्लाका एक लाख एक हजार १६ मतदातामध्ये ७१ हजार आठ सय ९८ अर्थात् करीब ७१ प्रतिशत मतदान भएको थियो ।

कांग्रेसले २८ हजार पाँच सय ४२ मत पाएको छ । एमालेको पक्षमा २७ हजार आठ सय ८९ मत खसेको थियो । यस्तै, माओवादी केन्द्रलाई सात हजार आठ सय ६३ मत आएको थियो ।

एमाले र माओवादीको मत जोड्दा ३५ हजार सात सय ५२ मत हुन आउँछ, जुन कांग्रेसको भन्दा सात हजार दुई सय १० ले बढी हो ।

अरु पनि उम्मेदवार

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बेणीमाधव जोशी पनि प्रतिनिधि सभाको चुनावी प्रतिस्पर्धामा छन् । नयाँशक्तिका नेता चन्द्र ओझा र राप्रपाबाट राजप्रसाद जोशी पनि उनीहरुसँग प्रतिस्पर्धामा छन् ।

डोडी एमालेको भागमा परेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य सिद्धराज भाटले सामाजिक सञ्जालमार्फत् स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । टिकट वितरण क्रममा पार्टीले जिल्ला कमिटीको निर्णयविपरित मनोमानी गरेको आरोप भाटको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?