+
+

देउवाको बचाउ गर्दै आरजुको घरदैलोः मतदातालाई बुझाउनै हम्मे

राना, चौधरी र 'डोटी सेन्टिमेन्ट' निर्णायक

दीपक उपाध्याय दीपक उपाध्याय
२०७४ कात्तिक २८ गते १५:१३

२८ कात्तिक, कैलाली । आरजु राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी मात्र होइनन्, दुवै संविधानसभाकी सभासद् पनि हुन् । तर, दुवै पटक उनी समानुपातिक कोटाबाट चुनिएकी थिइन् । पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी उनलाई पतिको बचाऊ गर्नै हम्मे परिरहेको छ ।

२०४८ देखि ०६४ सालसम्मका निर्वाचनमा देउवा निरन्तर साविकको डडेलधुरा-१ बाट निर्वाचित भए । तर, ०७० सालको दोस्रो संविधानसभामा उनी साविकको कैलाली-५ बाट पनि विजयी भएका थिए । तर, डडेलधुरा र कैलालीमध्ये एउटा क्षेत्र छाड्नुपर्दा उनले डडेलधुरालाई माया मार्न सकेनन् ।

जबकि, चुनावका बेला कैलालीका मतदातालाई उनले सोही क्षेत्रबाट आगामी राजनीतिक यात्रा अगाडि बढाउने बचन दिएका थिए । संयोगवस, अहिले आरजु कैलाली-५ मै उम्मेदवार बनेकी छन् । र, मतदाताले उनीसँग देउवालाई विजयी बनाएर धोका पाएको गुनासो गर्दै आएका छन् ।

मतदाताको गुनासो मत्थर पार्न आरजुले भन्ने गरेकी छन्, ‘देउवाले देश छाडेको होइन, सुदूरपश्चिम पनि छाडेको होइन, दुइटा क्षेत्र जितेमा एउटा छाड्नैपर्ने बाध्यता भएर कैलाली छाडेको हो ।’

मुख्य चुनौती वाम गठबन्धन

पहिलो पटक चुनावी मैदानको सामना गरिरहेकी उनका सामु चुनौतीको पहाड बनेको छ, वाम गठबन्धन ।

पहिलो चरणको चुनावी प्रचार र भेटघाट सकेर उनी काठमाडौं फर्केकी छन् । मनोनयनको तीन दिनअघि १४ कात्तिकमा उनी धनगढी आएकी थिइन् । मनोनयनअघि नै निर्वाचन क्षेत्रमा घुम्ने योजना बनाएकी थिइन् ।

कांग्रेस जिल्ला सभापति नरनारायण शाहका अनुसार पहिलो चरणमा विभिन्न गाउँका अगुवा कार्यकर्ता, थारु समुदायका भलमन्सा, गुरुवा, जनवर्गीय संगठनहरु, पार्टीकै उमेदवार आकांक्षीलगायतसँग भेटिन् । २८ कात्तिकपछि दोस्रो चरणको प्रचार प्रसार शुरु हुने शाहले जानकारी दिए ।

यसअघि जिल्लामा ६ वटा निर्वाचन क्षेत्र थिए । अहिले घटेर पाँच वटा कायम भएका छन् । यसअघिको क्षेत्र नम्बर ५ मा साविकको गदरिया गाविस थपिएर क्षेत्र नम्बर ५ नै कायम भएको छ ।

स्थानीय तहको परिणामलाई आधार मान्दा उक्त क्षेत्रमा कांग्रेसभन्दा एमाले र माओवादी केन्द्रको गठबन्धन करिब ६ हजार मतले अगाडि छ । सोही कारण आरजुको मुख्य चुनौती वाम गठबन्धन नै देखिन्छ ।

उक्त क्षेत्रमा कांग्रेस र एमालेको सांगठनिक अवस्था लगभग बराबरी देखिन्छ । तेस्रो स्थानमा रहेको माओवादी र दोस्रो एमालेबीचको चुनावी तालमेल आरजुका लागि सहज जित हात पार्न बलियो अवरोधका रुपमा देखिन्छ ।

निर्वाचनपिच्छे फरक परिणाम

हरेक निर्वाचनमा फरक परिणाम दिँदै आएको छ, कैलाली-५ ले ।

२०४८ सालको आमनिर्वाचन कांग्रेसका नेता स्वर्गीय टेकबहादुर चोखालले जितेका थिए । ०५१ सालमा भने एमाले नेता महेश्वर पाठकले कांग्रेसलाई तेस्रो बनाउँदै आफ्नो पोल्टामा पारे । त्यतिबेलाको निकटतम प्रतिद्वन्द्वी राप्रपा बनेको थियो ।

२०५६ सालमा आएर पुनः चोखालले ०४८ को इतिहास दोहोर्‍याए । ०६४ को पहिलो संविधानसभा निर्वाचन भने माओवादीकी लीला भण्डारीले जितिन् । ०७० को दोस्रो संविधानसभामा एमालेका महेश्वर पाठकलाई झण्डै दोब्बर मतअन्तरले प्रधानमन्त्री देउवाले पराजित गरेका थिए ।

देउवाले डडेलधुरा नै रोजेपछि कैलाली-५ मा भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझा विजयी भएका थिए ।

उक्त क्षेत्रमा पर्ने धनगढी उपमहानगरमा प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ ।

‘२०४८ यताका निर्वाचन परिणाम विश्लेषण गर्ने हो भने यस क्षेत्रका मतदाता चलायमान देखिन्छन्,’ कैलाली बहुमुखी क्याम्पसमा राजनीतिशास्त्रका प्राध्यापक देवराज अवस्थी भन्छन्, ‘फरक समयमा फरक परिणाम खोज्छन् र यस पटक पनि फरक परिणाम आयो भने आश्चर्य मान्नु पर्दैन ।’

आरजुका कारण टिकट नपाएका पुष्करनाथ ओझा अहिलेसम्म उनको प्रचारमा देखिएका छैनन् । त्यसैले उनका सामु कार्यकर्ता फकाउनुपर्ने चुनौती पनि देखिन्छ ।

यस्तो छ अंकगणित

आरजुका बलिया प्रतिद्वन्द्वी हुन्, एमालेका उम्मेदवार नारदमुनि राना । स्थानीयस्तरमा भिजेका व्यक्ति पनि हुन्, उनी ।

राना भन्छन्, ‘जनता बुझ्ने भइसके, प्रधानमन्त्री देउवालाई जिताएकै हुन् तर चटक्क छाडेर गए, त्यसपछि आएका पुष्करनाथ ओझाको कामबाट पनि जनता खुशी छैनन् ।’

सोही कारण यसपटक मतदाताले आफूलाई विजयी गराउनेमा ढुक्क रहेको उनी बताउँछन् ।

रानाका लागि आफ्नो समुदायको मत महत्वपूर्ण आधार हो । उक्त क्षेत्रमा यसपालि ५७ हजार एक सय ९८ मतदाता थपिएर ९१ हजार आठ सय १८ पुगेका छन् । त्यसमध्ये करिब ३० हजार मत रानाको पकेटमा रहेको उनका समर्थकहरुको दाबी छ ।

चौधरी समुदायको मत करिब १० हजार रहेको अनुमान छ ।

धनगढी उपमहानगरमा माओवादीका मेयर उम्मेदवार रामसमझ रानाले १० हजार दुई सय नौ र एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार नौ सय ४६ मत पाएका थिए ।

राना समुदायको मत नारदमुनिका पक्षमा ओइरिए आरजुका लागि निरासाजनक हुन सक्छ ।

तर, कांग्रेसले प्रदेश ‘क’मा जीवन रानालाई उम्मेदवार बनाएकाले त्यस्तो अवस्था नआउन सक्छ ।

सोही क्षेत्रमा वाम गठबन्धनबाट एमालेका नेपालु चौधरी प्रतिस्पर्धामा छन् । उनी पनि आफ्नो पकड राम्रो रहेको दाबी गर्छन् ।

कैलाली-५ मै विवेकशील साझा पार्टीबाट कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारी उठेका छन् । उनी पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । भन्छन्, ‘युवाले परिवर्तन चाहेका छन् र मेरो एजेन्डा पनि उनीहरुको चाहना सम्बोधन गर्ने छ । त्यसैले जित्नेमा ढुक्क छु ।’

मतदाताले करिब दुई दशकदेखि एउटै च्यानल हेरिरहेकाले त्यसलाई बदल्न आफ्नो उम्मेदवारी आएको भण्डारीको भनाइ छ ।

धनगढी उपमहानगरमा विवेकशील साझा पार्टीका प्रदेश-७ संयोजक गोपाल हमाल कांग्रेसका नृपबहादुर ओडसँग २७ सय मतअन्तरले पराजित भएका थिए । मत काटिने जोखिमका कारण आरजुका लागि भण्डारी पनि चुनौती बन्न सक्ने देखिन्छ ।

विवेकशील साझा पार्टीले प्रदेशसभा ‘क’ बाट थारु समुदायका नारायण चौधरी र ‘ख’ बाट धनगढीका होटेल व्यवसायी प्रकाश भट्टलाई उम्मेदवार बनाएको छ । उनी पनि स्थानीयस्तरमा लोकपि्रय व्यक्ति हुन् ।

कैलाली-५ मा राना समुदायपछि डोटीबाट बसाईं सरेर आएकाहरुको मत बढी रहेको मानिन्छ । भण्डारी डोटीबाटै धनगढी झरेका नेता हुन् । त्यसैले आरजुका सामुन्ने ‘डोटी सेन्टिमेन्ट’ लाई ‘क्यास’ गर्नुपर्ने चुनौती छ ।

सोही सेन्टिमेन्ट आफ्ना पक्षमा पार्ने उद्देश्यले प्रदेश ‘ख’ पुख्र्यौली थलो डोटी भएका डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?