२१ मंसिर, इलाम । पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का उम्मेदवार झलनाथ खनालले निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए ।
दुई निर्वाचनले संविधान कार्यान्वयनलाई बलियो बनाएको भन्दै उनले अब कानुनहरु बनाएर मुलुकलाई सही गतिमा हिँडाउनु पर्ने बताए । उनले भने, ‘थुप्रै कानुन बनाएर संविधानलाई पूर्ण कार्यान्वयन गर्न बाँकी छ तर अब छिट्टै कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ ।’
खनालले आफूलाई पार्टीले जस्तोसुकै जिम्मेवारी दिएपनि पूरा गर्ने बताए । उनले भने, ‘मलाई राष्ट्रपति बनाए पनि ठीक छ, प्रधानमन्त्री बनाए पनि ठीक छ, यी दुवै नभएपनि ठीक छ ।’
यसअघि खनाललाई तपाई राष्ट्रपतिको उम्मेद्वार हो ? भनेर सञ्चारकर्मीहरुले सोध्ने गरेका थिए । उनले तपाईको मुखमा दूधभात जाओस् भन्ने उत्तर दिएर राष्ट्रपतिको स्वाभाविक चाहना अभिव्यक्त गर्ने गरेका थिए ।
प्रतिक्रिया 4