+
+

कर्मचारी नहुँदा प्रदेश ४ को बैठक तयारीमा अलमल

अमृत सुवेदी अमृत सुवेदी
२०७४ माघ १८ गते १०:३०
प्रदेश सभा सञ्चालन गर्न सरकारले खटाएका कर्मचारी छलफल गर्दै । तस्वीरः युनिस गुरुङ/अनलाइनखबर

१८ माघ, पोखरा । प्रदेशसभा सञ्चालन तयारीका लागि आएका संसदका चार कर्मचारी नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्र पुग्दा सुनसान थियो ।

माघ २२ गते ११ बजे प्रदेशसभा बोलाइएको छ । यही भवनमा प्रदेशसभा सञ्चालन गर्नु पर्नेछ । तर, अरु कर्मचारी नआउँदा संसदीय कर्मचारी नै अन्यौलमा परेका छन् ।

सरकारले प्रदेशसभाका सञ्चालनका लागि २७ कर्मचारी खटाएको छ । तर, २२ जना अझै आइपुगेका छैनन् ।

प्रदेशसभा स्थलमा पुग्दा सुब्बा झनकराज अधिकारी बाहेक अन्य कर्मचारी थिएनन् । ‘प्रदेशसभा कसरी सञ्चालन गर्ने भनेर एउटा खाका तयार पारेर आएका छौं तर, कर्मचारी नै छैनन्,’ सहसचिव जीवराज बुढाथोकीले अनलाइनखबरसँग भने ।

प्रदेशसभा सञ्चालन गर्न सहसचिव बुढाथोकी नेतृत्वमा उपसचिव गोपाल सिग्देल, अधिकृत अनन्त कोइराला र प्राविधिक सहायक सुदर्शन गौतम पोखरा आइपुगेका छन् ।

तर, अरु कर्मचारी नहुँदा बैठक तयारीका लागि हलको ले-आउटदेखि सुरक्षा व्यवस्थापनको काम हुन सकेन । ‘भइरहेको संरचनामै बैठक सञ्चालन गर्न कुनै समस्या देखिएन । तर, कर्मचारी नै नहुँदा कसरी समन्वय गर्ने अप्ठ्यारो परेको छ,’ उनले भने ।

सरकारले खटाएका कर्मचारीदेखि सुरक्षा व्यवस्थासम्म नहुँदा बैठक तयारी प्रभावित भएको छ ।

प्रदेशसभा कार्यालयको भौतिक संरचना भने सन्तोषजनक रहेको सहसचिव बुढाथोकीले बताए । ‘प्रमुख सचिवज्यूले बिहीबारसम्म ५/७ जना कर्मचारीको व्यवस्थापन गर्ने आश्वासन दिनुभएको छ,’ बुढाथोकीले भने, ‘१९ गते ज्येष्ठ सदस्य पोखरा आएपछि सर्वदलीय बैठक डाक्ने तयारी गरेका छौं ।’

प्रमुख सचिव लक्षण अर्यालले भने सरकारले कर्मचारी खटाइसकेको र सबै आउने क्रममा रहेको बताए । ‘सरकारले कर्मचारी खटाइसकेको छ तर, समायोजनका लागि समस्या छ,’ प्रमुख सचिव अर्यालले भने, ‘प्रदेश सरकार सञ्चालनको सुरुवाती समय भएकाले कर्मचारी समायोजनमा समस्या भएको हो ।’

इन्स्पेक्टरको नेतृत्वमा सुरक्षा व्यवस्थापन गर्ने भनिएको छ तर, खटिएका कर्मचारीको समन्वय छैन ।

बैठकको सुरक्षाका लागि ५५ जना मर्यादापालक र ३५ जना सुरक्षाकर्मी चाहिने बुढाथोकीले जानकारी दिए ।

के हुन्छ पहिलो बैठकमा ?

प्रदेश सभाको पहिलो बैठकको सुरुमै प्रदेश प्रमुखको कार्यालयबाट बैठक सञ्चालनका लागि प्राप्त पत्रको सभामुखले वाचन गर्नेछन् । प्रदेश सभा आन्तरिक कार्यविधि बैठकमा छलफलपछि सांसदले पारित गर्ने छन् । त्यसको ड्राफ्ट तयार भइरहेको छ ।

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्नेछन् । उनी उपस्थित हुन नसकेको अवस्थामा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिने बुढाथोकीले बताए ।

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले छलफलबाट मिति तय गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

प्रदेश ४: मन्त्री ताक्दै सांसद, मन्त्रालय राख्दै कर्मचारी

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?