Comments Add Comment

प्रदेश ४: मन्त्री ताक्दै सांसद, मन्त्रालय राख्दै कर्मचारी

१८ माघ, पोखरा । प्रदेश नम्बर ४ मा सात मन्त्रालय रहने भएपछि मन्त्रीका आकांक्षीहरु शक्ति केन्द्र धाउन थालेका छन् । मुख्यमन्त्री, सभामुख र मन्त्री ताक्दै प्रदेश सांसदहरु कतिपय काठमाडौं पुगेर लबिङ गरिरहेका छन् भने कतिपयले गृहजिल्लाबाटै कसरत गरिरहेका छन् ।

मन्त्री पद ताक्दै सांसदरु शक्ति केन्द्र धाइरहेका बेला कर्मचारीहरु भने मन्त्रालयको व्यवस्थापनमा व्यस्त छन् । प्रदेश ४ मा सात मन्त्रालय रहने निश्चित भइसकेको छ ।

प्रदेश ४ मा एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुखको भागबण्डा मिलिसकेको छ । एमालेको भागमा परेको मुख्यमन्त्री पदमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङ आकांक्षी छन् ।

राष्ट्रिय सभाको चुनावपछि मात्रै मुख्यमन्त्री छान्ने प्रक्रिया सुरु हुने एमाले स्थायी कमिटीले जनाएको छ । तर, पृथ्वीसुब्बा र किरणले मुख्यमन्त्री दाबी गर्दै लबिङ जारी राखेका छन् ।

माओवादीको भागमा परेको सभामुखमा आशा खनाल र गायत्री गुरुङले दाबी गरेको भएपनि आशाको बढी सम्भावना रहेको चर्चा छ ।

मन्त्रीका आकांक्षी को-को ?

मन्त्रीका आकांक्षीले पनि केन्द्रीय नेतृत्वसँग इच्छा व्यक्त गर्दै कसरत गरिरहेका छन् । बढीमा १२ मन्त्रालय रहनसक्ने प्रदेश नम्बर ४ मा ७ मन्त्रालय रहने छन् । त्यसका लागि झण्डै एक दर्जनले मन्त्री बन्ने आकांक्षा देखाएका छन् ।

मन्त्री पदका लागि एमाले वैकल्पिक पोलिटब्युरो सदस्य तथा गोरखा इन्चार्ज रामशरण बस्नेत, अर्का वैकल्पिक सदस्य तथा लमजुङ इन्चार्ज मायानाथ अधिकारी, अर्का वैकल्पिक सदस्य तथा गोरखा इन्चार्ज रामशरण बस्नेत, महिला नेतृ तथा पूर्व पशुविकास राज्यमन्त्री नरदेवी पुनले आकांक्षा देखाएका छन् ।

यसैगरी कास्की अध्यक्ष कृष्ण थापा, केन्द्रीय सदस्य विकास लम्साल, बागलुङ अध्यक्ष ईन्द्रलाल सापकोटा, युवा संघका अध्यक्ष राजीव पहारीले पनि मन्त्री पदका दावेदार हुन् । कृष्ण थापाले गृहमन्त्रीका लागि आकांक्षा व्यक्त गर्दै लबिङ गरिरहेका छन् ।

७ मन्त्रीमध्ये माओवादीको भागमा कति पर्छ भन्ने यकिन नभए पनि माओवादीबाट पनि आधा दर्जन आकांक्षीले कसरत गरिरहेका छन् ।

माओवादीमा नेत्र अधिकारी, दीपक चर्तिमगर, दीपक कोइराला, रामजी बराल, हरिबहादुर चुमान आकांक्षी हुन् । प्रदेश मन्त्रिपरिषदमा ७०/३० प्रतिशतको भाडबन्डा एमाले र माओवादीले लगाउने पक्का गरिसकेका छन् ।

यी हुन् ४ नम्बर प्रदेशका मन्त्रालय

मन्त्री ताक्दै सांसद लबिङ गरिरहँदा कर्मचारी भने मन्त्रालय राख्न व्यस्त छन् । प्रदेश नम्बर ४ मा रहने ७ मन्त्रालयको नामसमेत टुंगो लागिसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पार्दीस्थित सीप विकास केन्द्रको भवनमा तय गरिएको छ । यो भवनमा आर्थिक योजना तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहने छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय राख्ने तयारी भइरहेको छ ।

सबै मन्त्रालय पार्दी आसपासमै रहने छन् । सहकारी डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राखिने छ ।

क्षेत्रीय शिक्षा निर्देशनालयमा सामाजिक विकास मन्त्रालय र क्षेत्रीय वन कार्यालयको नयाँ भवनमा उद्योग पर्यटन, वन वातावरण मन्त्रालय राख्ने गरी तयारी भइरहेको उपसचिव झलकराम सुवेदीले जानकारी दिए ।

खटाइयो कर्मचारी

बुधबार प्रदेश प्रमुखको नेतृत्वमा यी मन्त्रालय रहने भवनको निरीक्षण तथा मन्त्री आउनासाथ पदभार सम्हाल्न पाउने गरी तयारी भइरहेको छ ।

सरकारले सबै मन्त्रालयमा कर्मचारीसमेत खटाइसकेको छ । तर, कार्यालयमा सबै कर्मचारी आइसकेका छैनन् । मुख्यमन्त्रीको कार्यालयमा २१ जना, आन्तरिक मामिलामा २३ जना, आर्थिक, योजनामा १८ जना, भौतिक पूर्वाधारमा २४ जना, भूमी, कृषि तथा सहकारीमा २९ जना, उद्योग, पर्यटनमा २९ जना, सामाजिक विकासमा ३० जना कर्मचारी सरकारले खटाएको छ ।

तत्काल मन्त्रालय सञ्चालनका लागि कर्मचारी खटाइएको र तयारी तीव्र पारिएको प्रमुख सचिव लक्ष्मण अर्यालले बताए ।

यो पनि पढ्नुहोस्

कर्मचारी नहुँदा प्रदेश ४ को बैठक तयारीमा अलमल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment