
२७ वैशाख, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् ।
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको बताए ।
‘तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ । यसले प्रेसलाई बद्नाम गर्ने काम भइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता जहाँ बलियो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो हुन्छ ।’
फरक प्रसंगमा मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेसले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।
‘जलवायु परिवर्तनले संसारभर घण्टी बजाइरहेको छ । त्यसबाट उत्पन्न समस्याले विकास निर्माण र समाजमा पारेको असरबारे भाषणमात्र नभई काम नै गर्नुपर्ने अवस्था आएको छ । आजको दुनियाँमा विकासमात्र भन्ने तर नेचुरल कन्जरभेसनमा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
प्रतिक्रिया 4