२० माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले २३ र २४ भदौको घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् ।
‘तालमेलको गीत गाइरहने कुरा हो। तर अहिले तत्काल यसो तालमेलको भइहाल्ला भन्ने सम्भावना म देख्दिनँ । फेरि पनि राजनीति भनेको चाहिँ असम्भव-सम्भवको खेल पनि हो हैन । दुई चार दिनभित्र सबै कुरा परिस्थिति निर्माण भएर नेकपा र नेकपा एमाले बीचमा तालमेल हुन्छ कि भन्ने तपाईंको आशंका छ । यो हुँदै हुँदैन भनेर ठोकुवा गर्ने विषय पनि होइन राजनीतिमा । तर आजको दिनमा चाहिँ हामीले हेर्दा खेरि के देखिन्छ भन्दा खेरि हामी भदौ २३ र २४ गतेको जुन बिस्फोट भयो । त्यसबाट जुन परिवर्तन आयो । त्यसलाई प्रतिगमन भन्छौं प्रतिक्रान्ति भन्छौं । आजसम्म नेकपाले त्यसलाई प्रतिक्रान्ति भनेको छैन । प्रतिगमन भनेको छैन । क्रान्तिकारी काम भयो भनेको छ । लोकतान्त्रिक चाहिँ अभ्यास भयो भनेको छ । त्यसकारण उहाँहरूको अहिलेको डिपार्चर र पोलिसको डिपार्चर र हाम्रो डिपार्चर चाहिँ उत्तर-दक्षिणमा छ । एन्टी करेन्ट गइराख्या छ । एन्टी डिक्लेसन गइराख्या देखिन्छ । त्यसकारण त्यो हिसाबले गर्दा खेरि मैले सम्भावना धेरै देख्दिनँ,’ उनले भने ।
अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने उनले बताए ।
गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गरे ।
अराजकता, अस्थीरता र प्रतिगमन सच्चाउनका लागि एमाले लाग्ने भएकाले केही स्थानमा सातोतिनो सहकार्य हुन सक्ने उनले बताए ।
त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरूलाई पुराना भनेर आरोप लगाउने गरेको भन्दै उनीहरूसँग कुनै एजेन्डा नै नरहेको बताए
कसैले आरोप लगाउँदैमा लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे ।
प्रतिक्रिया 4