+
+
Shares

गण्डकीमा प्रकाश बराल बने कांग्रेसको प्रमुख सचेतक, एमालेबाट को ?

मन्त्रिपरिषद् हेरफेरपछि कांग्रेस–एमाले दलभित्र असन्तुष्टि

गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सचेतक बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश कांग्रेस संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी प्रकाश बराललाई दिएको छ।
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्दै कांग्रेसका नन्दप्रसाद न्यौपाने ऊर्जा मन्त्री बनाएका थिए।
  • गण्डकीमा कांग्रेस र एमाले दुवै दलभित्र मन्त्री हेरफेरप्रति असन्तुष्टि जारी छ।

२२ वैशाख, पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो ।

गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार सचेतक बराललाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । २ वैशाखमा मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

पाण्डेले एमालेसहितको सरकारका मन्त्री हेरफेर गर्दा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद ऊर्जा र एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका थिए । नेता पाण्डेले मंगलबार प्रमुख सचेतकको जिम्मेबारी बराललाई दिएसँगै सचेतक पद रिक्त छ ।

प्रमुख सचेतकको सिफारिसमा दलका नेताले सचेतक नियुक्त गर्ने प्रावधान छ । केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक बरालले जानकारी दिए । एमालेले भने प्रमुख सचेतक नियुक्त गरेको छैन ।

यसअघिका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले अबको संसद्को अधिवेशन सुरु हुनुभन्दा अगावै नियुक्त गर्ने तयारी दलको नेताले गरेको बताए । एमाले सचेतकमा भने देवका पहारी यथावत छिन् ।

कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन परिणामपछि आन्तरिक द्वन्द्व अझ बढेको छ । त्यसको असर गण्डकीमा पनि परेको थियो । मुख्यमन्त्री पाण्डेले केन्द्रको समन्वय र गण्डकीका बहालवाला मन्त्रीसँग कुनै छलफल तथा जानकारीसमेत नदिइ हेरफेर गरेको भन्दै असन्तुष्टि बढेको थियो ।

कारबाही गरेर बर्खास्त गरेजसरी जानकारीसमेत नदिइएको मन्त्रिपरिषद् हेरफेर गरिएको भन्दै यसअघिका मन्त्रीहरूले असन्तुष्टि पोखेका छन् ।

संसदीय दलको नेता फेर्न योजना र हस्ताक्षर उठाउनेसम्मको रणनीति अगाडि बढेपछि मुख्यमन्त्री पाण्डेले छिटो मन्त्रिपरिषद् हेरफेर गरेका थिए । उनले मन्त्री बनाएका यसअघिका प्रमुख सचेतक बन्दप्रसाद गगन थापानिकट नेता हुन् । उनले विशेष महाधिवेशनमै भूमिका खेलेका थिए ।

पाण्डेले उनैलाई मन्त्री बनाएर संसदीय दलको नेता फेर्ने योजनालाई बिफल बनाइदिएको कांग्रेसकै सांसदहरूको भनाइ छ । यसअघि संसदीय दलको नेताका निर्वाचन हुँदा भने नन्दप्रसादले पाण्डेलाई नै मत हालेका थिए ।

मुख्यमन्त्री पाण्डे शेरबहादुर देउवा समूहबाट पूर्णबहादुर खड्का पक्षधर हुन् भने महाधिवेशनमा उनी देउवा समूहबाट उपसभापतिमा उठ्ने योजनासमेत बनाएका थिए । मुख्यमन्त्री पाण्डेले गगन समूहका मानिने तर यसअघि आफैंलाई मत हालेका सांसदलाई मन्त्री बनाएका थिए । सामाजिक विकास मन्त्री रेखा गुरुङ, वन मन्त्री नम्डु गुरुङ र जीतबहादुर शेरचन अर्थमन्त्री बनेका छन् ।

अहिले कांग्रेस र एमाले दुवै दलभित्र गण्डकीमा असन्तुष्टि छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीले करिब जेनजी आन्दोलन अगाडि नै मन्त्री हेरफेर गर्न चाहेका थिए । तर, पाण्डेले रोकेका थिए । गण्डकीमा एमाले सचिवसमेत रहेका अधिकारी र उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङबीच गुटगत लडाइँ छ ।

जेनजी आन्दोलनपछिको महाधिवेशनमा भने दुवै केपी शर्मा ओली पक्षमै उभिएर एक भएको सन्देश दिए पनि पार्टीभित्र भने एकमना हुन सकेको छैन र त्यसको असर दलभित्रसमेत छ । अधिकारीले पृथ्वीसुब्बा समूहकै भनिएकी पद्मा जिसीको ठाउँमा त्यही समूहका भीम कार्कीलाई कृषि मन्त्री बनाए । पर्यटन मन्त्री मित्रलाल बस्यालको ठाउँमा यशोदा रिमाल नियुक्त भएकी छन् ।

खगराजकै जोडबलमा यसअघि मन्त्री भएका प्रकाशबहादुर केसीको ठाउँमा प्रमुख सचेतक गोविन्दलाई भौतिक मन्त्री बनाएका थिए । स्वास्थ्यमा कृष्ण पाठकलाई हटाएर खगराजले लक्ष्मण पाण्डेलाई मन्त्री नियुक्त गरेका छन् ।

मन्त्री हेरफेरप्रति दुबै दलका असन्तुष्टि अहिले पनि जारी रहेको नेताहरूको भनाइ छ । एमालेभित्र प्रमुख सचेतक खगराजले कसलाई रोज्छन् भन्ने निकै चासो र कसरतसमेत भइरहेको एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?