११ माघ, पोखरा । विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई विस्थापित गर्दै गगन थापा नेपाली कांग्रेसको सभापति बने । तर राष्ट्रिय सभा सदस्यको भागबण्डा भने त्यसअघि नै तय भइसकेको थियो ।
देउवा नेतृत्वको कार्यसमितिका महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा ५४ प्रतिशत प्रतिनिधिको मागबमोजिम विषेश महाधिवेशनबाट नयाँ नेतृत्व टुंग्याउने निष्कर्षमा पुग्दा राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिइसकेको थियो ।
गगन–विश्व विशेष महाधिवेशनको तयारीमा जुट्दा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ११ गते आइतबारको राष्ट्रिय सभाका १८ वटै सिटमा भागबण्डा गरे ।
कांग्रेसले ९, एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीलाई एक सिट दिने सहमतिसहित उनीहरूले गठबन्धन गरेका थिए । गण्डकीमा रिक्त २ सिटमा कांग्रेस र एमालेले एक/एक सिट बाँडफाँट गरे ।
देउवा र ओलीले गरेको त्यही कांग्रेस–एमालेको गठबन्धनकै कारण पटक-पटक हार बेहोरेकी गोरखाकी सम्झना देवकोटाले विजयी हुने धोको पूरा गर्दै राष्ट्रिय सभा छिर्ने अवसर पाएकी छिन् ।
गण्डकीबाट ५० जना आकांक्षीलाई पाखा पार्दै देउवाले टिकट दिँदा त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका जगत तिमिल्सिनाले माननीय बनेर राष्ट्रिय सभा छिर्ने मौका पाएका छन् । विशेष महाधिवेशनमार्फत गगन नेतृत्वमा नयाँ कार्यसमिति आए पनि कांग्रेस भित्र देउवा समूहलाई पनि मिलाउन र उम्मेदवारी दर्ता भएर मतदानको दिन नजिकै आइसकेकाले पनि राष्ट्रिय सभामा गठबन्धन यथावतै राखिदिए ।
जसका कारण प्रत्यक्ष रूपमा जनताले मत हाल्ने चुनावमा हार बेहोरेकी सम्झनाले राष्ट्रिय सभामै दोस्रो प्रयासपछि सांसद बन्ने सौभाग्य पाएकी हुन् । गण्डकीका एक से एक नेताहरूको नाम राष्ट्रिय सभाको आकांक्षीमा हुँदाहुँदै देउवाले त्रिविमा पढाइरहेका जगतलाई राजीनामा गराएर टिकट दिए ।
कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा महाधिवेशन नै नगरी २०७३ सालदेखि अध्यक्ष रहेका जगतलाई देउवाले राष्ट्रिय सभाको टिकट देलान् भनेर कुनै नेताले कल्पनै गरेका थिएनन् ।
देउवासँग निकट सम्बन्ध भएकै कारण कहिल्यै जनताको मतसँग परीक्षण नभएका जगतले गण्डकीका नेताहरूलाई चकित पार्दै टिकट पाए र माननीय बनेर राष्ट्रिय सभा छिरे । गण्डकीमा एक्लाएक्लै चुनाव लडेको भए पनि कांग्रेस सबैभन्दा ठूलो दल हो ।
‘कांग्रेस–एमालेको गठबन्धनकै कारण एमालेले पनि सांसद पाएको हो । एक्लै लड्दा जित्ने अवस्था नरहेकी सम्झनाले माननीय हुने अवसर पाएकी हुन्,’ मतदातासमेत रहेका गण्डकीका एक कांग्रेस सांसदले भने, ‘जगतजीले देउवाकै निगाहमा सांसद बन्ने मौका पाउनुभयो ।’
विषेश महाधिवेशनमार्फत नेतृत्व गरेका गगन र नयाँ कार्यसमितिको मुख्य एजेन्डामध्ये कुनै पनि दलसँग गठबन्धन नगर्ने हो । २१ फागुनमा हुने निर्वाचनमा कांग्रेसले कतै पनि गठबन्धन गरेन तर देउवा समूहलाईसमेत समेटेर चुनावी मैदानमा होमियो ।
यसअघि देशकै प्रमुख दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा विस्थापित भएका थिए । राष्ट्रिय सभासहित प्रतिनिधिसभामा पनि ओलीले देउवासँग गठबन्धन गर्ने तयारी गरेका थिए । तर गगन नेतृत्वमा नयाँ कार्यसमिति आएपछि देउवा पक्ष निर्णायक तहबाट बाहिरिएको छ ।
त्योभन्दा अगाडि नै भएको देउवा र ओलीको गठबन्धनले सम्झना र जगतले पनि राष्ट्रिय सभा छिर्ने अवसर पाएका हुन् । गठबनधन नहुँदा सम्झनाले जित्ने निश्चित थिएन भने गगन नेतृत्व भएको भए जगतले टिकट पाउने अवस्था नआउने कांग्रेसकै नेताहरूको भनाइ छ ।
अघिल्लो पटक पनि राष्ट्रिय सभामै पराजित गोरखाकी सम्झना यसपटक जित पक्का भएपछि नमोनयनदेखि नै उत्साही थिइन् ।
जेनजी आन्दोलनका क्रममा भदौ १९ गते युवा विद्यार्थीको ज्यान गएपछि सम्झनाले पनि सरकारको विरोध गरेकी थिइन् । उनले त्यसको जिम्मेवारीसमेत ओलीले लिनुपर्ने बताएकी थिइन् । तर परिस्थिति फेरिँदै गएपछि सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस हटाइन् र ओलीकै पक्षमा उभिइन् ।
उनलाई एमालेको अधिवेशनबाट सचिवमा विजयी भएका गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी आफैंले काठमाडौं लगेर राष्ट्रिय सभाको टिकट ल्याएका थिए । नत्र चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी सम्झना यसपालि ओली प्यानलमै थिइनन् ।
एमालेको अघिल्लो केन्द्रीय कार्यसमितिमा खगराज संगठन विभाग प्रमुख हुँदा सम्झना सचिवको जिम्मेवारीमा थिइन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनको नाम समानुपातिक सूचीमा भए पनि सांसद बन्ने अवस्था थिएन ।

सम्झना यसअघि गोरखा नगरपालिकाको उपमेयर, मेयर हुँदै अघिल्लो राष्ट्रिय सभामा पनि हार बेहोरेकी नेता हुन् । एमालेको कमजोर जनाधार भएको गोरखाको २०७४ मा उपमेयर र २०७९ मा मेयरमा पराजित भएपछि २०८० माघ ११ गते भएको राष्ट्रिय सभामा एमालेले हार्ने चुनाव पनि उनैलाई लडाएको थियो । त्यसको ठिक २ वर्षपछि एमालेबाटै टिकट लिएर पाएर कांग्रेससँगको गठबन्धनकै बलमा उनले राष्ट्रिय सभा छिर्ने अवसर पाएकी हुन् ।
सम्झना जिल्लामा सचिव नेतृत्वमा हुने प्रणाली हटेर अध्यक्षात्मक प्रणालीमा गएपछि गोरखाको सचिवमा निर्वाचित भएकी थिइन् । २०६६ सालमा मतदानबाटै चुनिएकी उनी देशभरका एमाले जिल्ला सचिव बनेका २ जना मात्र महिलामध्ये हुन् । त्यो बेला सम्झना र झापामा पवित्रा निरौला मात्र पार्टी सचिव बनेका थिए ।
सम्झना गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा विगत चार दशक लामो यात्रा गरेकी उनी २०४० सालदेखिदेखि कम्युनिस्ट आन्दोलनमा होमिएकी हुन् ।
२०४५ सालमा अनेरास्ववियु गोरखा क्याम्पस इकाइ सहसचिव पदमा रहेर काम गरेकी सम्झनाले २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेकी थिइन् । २०४८ सालमा अखिल नेपाल महिला संघ, जिल्ला कमिटीको संस्थापक अध्यक्ष बनेर महिला आन्दोलनको नेतृत्व गरेकी उनी २०५४ सालबाट जिल्ला सदस्य, जिल्लाको सचिव हँुदै २०७४ मा प्रदेश कमिटी सदस्य थिइन् ।
११ माघ २०८० मा राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ५ दलीय) का उम्मेदवार निर्वाचित भएका थिए । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।
कांग्रेसले गण्डकीका ११ जिल्लाबाट ५० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेका थियो । त्योभन्दा बाहेकबाटै सभापति देउवाले नाम दिएपछि कांग्रेस भित्र खैलाबैला भएको थियो ।
जगत तनहुँ शुक्लागण्डकी–७ खैरेनीटार निवासी हुन् । कांग्रेस पृष्ठभूमिमै हुर्किएका जगत पार्टीको जिम्मेवारीमा भने थिएनन् । उनी त त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए ।
कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा उनी अध्यक्ष भएयता निर्वाचन नै हुन सकेको छैन । महासचिव हुँदै प्राध्यापक संघको २०७३ सालमा केन्द्रीय अध्यक्ष भएका जगत नै नेतृत्वमा छन् र उनलाई कांग्रेसी प्राध्यापकले ‘आजीवन अध्यक्ष’समेत भनेर चर्चा गर्ने गरेका थिए ।
राष्ट्रिय सभामा गण्डकीबाट टिकट पक्का गरेर त्रिविबाट जगतले राजीनामा दिएका थिए । देउवासँग नजिक भए पनि प्राध्यापन छाडेर एकाएक राजनीतिमा आउँछन् भन्ने अनुमान नगरिएको देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।
नेकपाका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिएसँगै गोरखाबाटै सम्झना र तनहुँका जगत सांसद बन्ने अवसर पाएका छन् ।
प्रतिक्रिया 4