५ माघ, पोखरा । २०६४ सालको निर्वाचनमा गण्डकीमा माओवादीको दबदबा थियो । तर २०७९ को निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्रले प्रतिनिधिसभामा २ जना मात्र सांसद जित्यो ।
तत्कालीन माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा-२ बाट विजयी भए भने बागलुङ-२ बाट पूर्वमन्त्री देवेन्द्र पौडेल जित हासिल गरेका थिए ।
काठमाडौं, रोल्पा, चितवन हुँदै गोरखा-२ आइपुगेका प्रचण्डलाई तत्कालीन नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले साथ दिएका थिए । ५ दलीय गठबन्धनबाट विजयी प्रचण्ड त्यसयता समीकरण फेरीफेरी प्रधानमन्त्री बने ।
आगामी २१ फागुनमा हुने चुनावमा भने प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बन्दैछन् । नेता देवेन्द्र बागलुङ-२ बाट नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ गएका छन् ।
माओवादीबाट पछिल्लो चुनाव जितेका दुवै जना ठूला नेताले सुरक्षित ठाउँ खोज्दै आफ्नो क्षेत्र छाडेका छन् ।
प्रचण्ड, देवेन्द्रसँगै गण्डकीमा अधिकांश पुराना र ठूला नेताहरूले भन्दा नेकपाबाट नयाँ र अवसर नपाएका नेताहरू उम्मेदवार बनेका छन् । केही नेता यसअघि सांसद भइसकेका र केही चुनावमा भाग लिएका भए पनि धेरैजसो क्षेत्रमा नयाँ र अवसर नपाएकाहरू प्राथमिकतामा पारेको देखिएको छ ।
गण्डकीमा जनाधार कमजोर बन्दै गएको माओवादी र पहिलेदेखि नै प्रभाव नभएको एकीकृत समाजवादीले टिकट बाँडफाँट गरेका छन् । यसअघि पुरानै नेताहरू टिकटका लागि रस्साकस्सीमा हुँदा र केन्द्रले नै गठबन्धन गरिदिँदा अवसर नपाएका नेताहरूलाई पनि पछिल्लो कठिन परिस्थितिमा नेकपाले उम्मेदवार बनाएर सहानुभूति बटुलेको छ ।
प्रचण्डले नै जितेको गोरखा-२ मा कुनै बेलाका चर्चित विद्यार्थी नेता तथा प्रभाव भएर पनि परीक्षण गर्न नपाएका लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।
कहिले बाबुराम भट्टराई त कहिले नारायणकाजी श्रेष्ठले यो क्षेत्र रोज्ने र कहिले केन्द्रबाटै गठबन्धन गरेर भागबण्डा गर्दा न्यौपानेले अवसर पाएका थिएनन् । स्वच्छ छवि बनाएका र अध्ययनशील नेताका रूपमा चिनिएका न्यौपाने २०७९ को चुनावमा पनि प्रचण्डलाई जिताउन लागेका थिए ।
न्यौपानेलाई गोरखा-२ मा निकै चासोका साथ हेरिएको छ र एमालेले गुण्डा नाइके चक्रे मिलनलाई उम्मेदवार बनाउँदा न्यौपानेले सहानुभूति बटुलेका छन् । तर त्यही क्षेत्रमा न्यौपानेकै राजनीतिक अभिभावक डा. बाबुराम प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिस्पर्धामा उत्रिँदै छन् ।
रास्वपाका कविन्द्र बुर्लाकोटी कांग्रेसका उम्मेदवार पनि टुंगिएपछि गोरखा-२ को अबको प्रतिस्पर्धा निकै रोचक ढंगले हेरिएको छ । नयाँ र अवसर नपाएका वौद्धिक नेताको परिचय बनाएको भए पनि न्यौपानलेलाई जित निकाल्न सहज भने देखिँदैन । न्यौपानले भने आफूलाई पुष्टि गर्ने अवसरका रूपमा लिएका छन् ।
गोरखा-१ मा नेकपा नेता हरि अधिकारीलाई उठाइएको छ । उनी २०७४ सालमा सोही क्षेत्रबाट विजयी भएर प्रतिनिधिसभा सांसद थिए । दोस्रो पटक संसद् छिर्ने योजनासहित टिकट लिएका पाका नेता अधिकारी पनि विवादास्पद पात्र भने नभएको नेताहरूले बताएका छन् ।
लमजुङमा २०७९ को चुनावमा एमाले नेता पृथ्वीसुब्बा गुरुङसँग पराजय भोगेका नेकपा नेता देव गुरुङ मनाङबाट उठ्ने बताइएको छ । उनी लडेको क्षेत्रमा युवा नेता हरिजंग तामाङलाई उभ्याइएको छ । देव गुरुङ २०६४ सालमा कास्की र मनाङबाट चुनाव जितेका थिए । पछि गुरुङले जन्मथलो मनाङ रोजेका थिए ।
राजनीतिशास्त्रमा विद्यावारिधी गरिरहेका हरिजंगलाई एमालेका हेभिवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धामा उतारेको हो । लमजुङ अस्पतालको अध्यक्ष, विभिन्न खेलकुदको विकास र जनजाति आन्दोलनमा सक्रिय हरिजंग बा पुस्ताका नेतासँग ३५ वर्षे युवालाई नयाँ उम्मेदवारका रूपमा नेकपाले अगाडि सारेको हो ।
तनहुँ-१ मा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी हुँदै अहिले नेकपा नेता बनेका विद्यानाथ ढकाललाई टिकट दिइएको छ । एमाले तनहुँ सचिव हुँदै एकीकृत समाजवादीतिर लागेका ढकाल सालिन नेता भए पनि कम अवसर पाउनेमा गनिन्छन् ।
तनहुँ-२ मा नेकपाले सोमबहादुर थापालाई उम्मेदवार बनाएको छ । पूर्वमाओवादी नेता थापा पनि नयाँ अनुहार हुन् ।
नवलपुर-१ मा लोकप्रसाद भुर्तेल र २ बाट गणेशमान महतोले टिकट पाएका छन् । भुर्तेल यसअघि गण्डकी प्रदेश सभातर्फबाट माओवादीबाट उम्मेदवार थिए भने महतो एकीकृत समाजवादीको राजनीति गरिरहेका थिए ।
कास्की-१ मा नेता राजकाजी गुरुङ (करण)ले टिकट पाएका छन् । माओवादीका पूर्वमन्त्री तथा पूर्व सहमहामन्त्री वर्षमान पुन निकट राजकाजी भने पहिलो संविधानसभा सदस्य हुन् । उनी पुन अर्थमन्त्री हुँदा सल्लाहकारको जिम्मेवारीमा समेत थिए ।
२०६४ सालमा कास्कीका ३ वटा क्षेत्रमा विजय हासिल गरेको तत्कालीन माओवादी अहिले नेकपासम्म आइपुग्दा जनाधार कमजोर भएको मानिन्छ । पुरानो बिरासत फर्काउने उनीहरूले बताइरहेका छन् तर अवस्था भने कठिन देखिन्छ ।
२०६४ सालमा कास्की-२ बाट कांग्रेसकी शारदा पौडेललाई हराएर संविधान सभा सदस्य बनेका राजकाजी २०७० मा पर्वत-२ बाट उम्मेदवार थिए । २०७४ सालमा कास्की-२ (ख)मा कांग्रेस उम्मेदवार विन्दुकुमार थापासँग पराजित भएका थिए । धेरै पटक अवसर पाउने गण्डकीका नेतामध्ये राजकाजी देखिएका छन् ।
कास्की-२ मा किरण थापा आमोदलाई नेकपाले उम्मेदवार बनाएको छ । डा. बाबुराम भट्टराईले नयाँ शक्ति गठन गर्दा उनीसँगै लागेका थापा यही जेठमा माओवादी प्रवेश गरेका थिए ।
माओवादी सशस्त्र संघर्षमा लागेर शान्ति प्रक्रियामा आएपछि कास्की-२ मा उनले टिकटको आकांक्षा राखेका थिए । तर पाएनन् । बाबुराम नेतृत्वको नयाँ शक्तिबाट चुनाव पनि लडेका थिए । कास्कीमा सरल, वौद्धिक र अवसर नपाएको नेताका रूपमा उनले सहानुभूति पाइरहेका छन् ।
कास्की-३ म एकीकृत समाजवादी कोटाबाट प्रेम पौडेलले टिकट पाएका छन् । एमाले हुँदै एकीकृत समाजवादीबाट नेकपासम्म अइपुग्दा पौडेल पहिलो पटक चुनाव लड्दै छन् ।
स्याङजा–१ बाट शैलेन्द्र घिमिरेले टिकट हात पारेका छन् । यसअघिका हरेक चुनावमा आकांक्षा राखे पनि टिकट नपाएका शैलेन्द्रलाई पनि नेकपाले पहिलो पटक चुनावी मैदानमा उतारेको हो । स्याङ्जामा योगदान भएर पनि कम अवसर पाउने नेताका रूपमा उनलाई हेरिन्थ्यो । स्याङ्जा-२ मा पदम विकले टिकट हात पारेका छन् ।
पर्वतमा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयमा काम गरेका मनहरि तिमिल्सिना उम्मेदवार बनेका छन् । पूर्व पत्रकारसमेत रहेका तिमिल्सिना मार्क्सवादी अध्ययन र प्रशिक्षणका कार्यक्रम चलाउँदै आफैं चुनावमा होमिएका छन् । कांग्रेस र एमालेले पालैपालो जितेको पर्वतमा नेकपा उम्मेदवार तिमिल्सिना नयाँ अनुहार हुन् ।
बागलुङ–१ बाट कृष्ण केसी र २ बाट ज्ञामनाथ गैह्रे (अनिल)लाई नेकपाले टिकट दिएको छ । नेकपा केन्द्रीय सदस्य केसी पदयात्रा तथा आरोपहणसहित पर्यटन क्षेत्रमा थिए । ज्ञामनाथ माओवादीका इमान्दार र ठूला नेताहरूको चापले अवसर नपाउनेमध्ये पर्छन् ।
माओवादी सशस्त्र संघर्ष हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै प्रदेश र केन्द्रीय सदस्यसम्म पुगेका उनले सहानुभूति पाइरहेका छन् । उनले टिकट पाएकै क्षेत्रबाट यसअघि नेता देवेन्द्र पौडेल विजयी भएका थिए । म्याग्दीमा नेता अर्जुन थापाले टिकट पाएका छन् । उनी पनि नयाँ अनुहार हुन् । मुस्ताङमा ङुटुक गुरुङले टिकट हात पारेका छन् ।
जेनजी आन्दोलनपछिको परिस्थितिमा नेकपाले गण्डकीमा टिकट वितरणमा नयाँलाई अवसर दिएको देखिएको छ तर गण्डकीका १८ क्षेत्रमा उम्मेदवार छान्दा एक जना पनि महिला छैनन् ।
प्रतिक्रिया 4