News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नयाँ वर्ष २०८३ को अवसरमा एकताबद्ध र सकारात्मक सोचका साथ समग्र मुलुकको विकासका लागि अघि बढ्नुपर्ने बताएका छन्।
- मुख्यमन्त्री पाण्डेले भदौमा भएको जेनजी आन्दोलनका कारण ठूलो जनधनको क्षति भएको र त्यसले सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक प्रभाव पारेको उल्लेख गरेका छन्।
- प्रदेश सरकार सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन र दिगो विकासमार्फत जनताको आकांक्षा पूरा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन्।
१ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकताबद्ध र सकारात्मक सोचका साथ समग्र मुलुकको विकासका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नयाँ वर्ष २०८३ का अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षको अवसरमा आपसी प्रेम, सहकार्य र सद्भाव अभिवृद्धि गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउने दिशामा अग्रसर हुनुपर्ने बताएका हुन् ।
गण्डकी प्रदेश सरकार सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन तथा दिगो विकासमार्फत जनताको आकांक्षा पूरा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको उनले बताएका छन् ।
गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाका कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यस घटनाले सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक रूपमा गहिरो प्रभाव पारेको बताएका छन् ।
प्राकृतिक विपद्, स्रोतसाधनको सीमितता, अपेक्षित राजस्व सङ्कलनमा कमी तथा विविध सामाजिक समस्याहरूले विकास प्रक्रियालाई प्रभावित बनाएको भन्दै उनले यी सबै चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै एकताबद्ध र सकारात्मक सोचका साथ समग्र विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकासमा हासिल उपलब्धि गण्डकी प्रदेशवासी, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चार क्षेत्रको सहकार्यको परिणाम भएको उनले बताएका छन् ।
‘यस सहकार्यलाई थप सुदृढ बनाउँदै आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासीको सङ्कल्प साकार पार्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको छ,’ उनले भनेका छन् । –रासस
प्रतिक्रिया 4