२१ फागुन, पोखरा । स्याङ्जा-२ को चापाकोट क्षेत्रमा २०४८ सालयताका कुनै पनि चुनाव विवादरहित बनेनन् । ‘बुथ क्याप्चर’ गर्नेदेखि मरेका मानिसको नाममा समेत भोट हालिएको घटनाले देशभरी नै बदनाम पार्थे ।
सोही कारण यसपटक स्याङ्जाका ५६ वटा मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको थियो । गृहमन्त्री ओमप्रकाश अर्याल आफैँ पुगेर सो क्षेत्रको निरीक्षण पनि गरेका थिए ।
तर, यसपटक स्याङ्जाले त्यो परिचय हटाएको छ । सधैँ विवाद हुने क्षेत्रमा पनि यसपटक शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न भयो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार यसपटक जिल्लाका २०० मतदान केन्द्रमा कुनै पनि ठाउँमा ठुला विवाद भएनन् । उनका अनुसार स्याङ्जामा करिब ५२ प्रतिशत मत खसेको छ ।
‘यसपटक कुनै पनि विवाद हुन नदिन कुनै कसर नराख्न गृहमन्त्रीज्यूले नै निरीक्षण गरेर निर्देशन दिनुभएको थियो,’ प्रजिअ अर्यालले भने, ‘मतदान केन्द्रमा खटिएका कर्मचारीदेखि सबै सुरक्षा संयन्त्रलाई चुस्त राखिएको थियो । जसका बाबजुत शान्तिपूर्ण रूपमा मतदान भएको छ ।’ अहिले सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।
उता मुस्ताङमा उम्मेदवारले पैसा बाँडेको भेटिएको भन्दै बुधबारसम्म पनि दलहरूले आन्दोलन गरेका थिए । टायर बाल्नेदेखि मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीसमक्ष मतदानमै भाग नलिएर बहिस्कार गर्नेसम्मका चेतावनी पनि आएका थिए । सोही कारण बिहीबार बिहानसम्म पनि अन्योल थियो ।

तर, सबै दल र उम्मेदवारलाई राखेर सर्वदलीय बैठकबाट विवाद समधान गर्दै बिहानबाटै मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी अजिता श्रेष्ठले जानकारी दिइन् ।
‘मुस्ताङमा ५६ दशमलव ४७ प्रतिशत मत खसेको छ । शान्तिपूर्ण र भयरहित हिसाबले मतदान सम्पन्न भएको छ,’ प्रजिअ श्रेष्ठले भनिन् । अहिले मतपेटिका सदरमुकाम ल्याएर जम्मा गर्ने र सर्वदलीय बैठक गरेर गणना थाल्ने तयारी भइरहेको उनले जनाइन् ।
गोरखाको उपल्लो क्षेत्र र सहरी क्षेत्रका केही मतदान केन्द्रलाई अतिसंवेदनशील क्षेत्रमा राखेर सुरक्षादेखि अन्य तयारी गरिएको थियो । बुथ क्याप्चर हुनसक्ने र कुनै विवादसमेत आउन सक्ने अनुमानका साथ सुरक्षा तयारी गरिएको थियो ।
तयारी चुस्त भएपनि मतदानमा कुनै व्यावधान देखिएन । जिल्लाभर शान्तिपूर्ण मतदान सकिएको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । उनका अनुसार गोरखामा ५१ प्रतिशत मत खसेको छ ।
‘उपल्लो गोरखाबाट भोलि (शुक्रबार)मात्रै मतपेटिका आउने भएकाले क्षेत्र नम्बर १ को मतगणना पनि भोलि नै गर्ने तयारी छ,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘क्षेत्र नम्बर २ को मतगणनाको तयारी भने अहिले नै भइरहेको छ ।’
अर्को हिमाली जिल्ला मनाङलाई पनि गृहमन्त्रालयले चुनौतिपूर्ण मानेको थियो । प्रमुख जिल्ला अधिकारी नवराज पौडेलका अनुसार त्यहाँ पनि शान्तिपूर्ण निर्वाचन सकिएको छ । मनाङमा भने ४१ दशमलव ७५ प्रतिशत मात्रै मत खसेको छ ।

तनहुँमा ५१.९७ प्रतिशत मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले बताए । उनका अनुसार त्यहाँ पनि शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । ‘अहिले मतपेटिका संकलनको काम भइरहेको छ । क्षेत्र नम्बर २ का उम्मेदवारहरूले आफू थाकेकाले भोलिमात्र मतगणना गर्न आग्रह गरेका छन्,’ उनले भने । तनहुँ–१ मा भने सर्वदलीय बैठक बस्ने र गणना थाल्ने तयारी भइरहेको उनले जानकारी दिए ।
गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भएको छ । प्रदेश प्रहरी प्रमुख दीपेन्द्र जिसीका अनुसार गण्डकीमा करिब ६० प्रतिशत मत खसेको छ । प्रदेशभरि नै कुनै अप्रिय घटना नघटेको जिसीले जानकारी दिए ।
‘यो मतदाता, दल र उम्मेदवारको सहयोगका कारण नै भएको हो । सरकारले त सबैखाले सुरक्षा गरेकै थियो तर शान्तिपूर्ण ढंगले सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुपर्छ,’ जिसीले अनलाइनखबरसँग भने ।
नवलपुरस्थित गैँडाकोटको एउटा मतदान केन्द्रमा विवाद सिर्जना भएको थियो । तर, दल र उम्मेदवारको छलफलपछि त्यो विवाद पनि समाधान भएपछि नवलपुरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए ।
उनका अनुसार नवलपुरमा ६१ दशमलव ३६ प्रतिशत मत खसेको छ । मतपेटिका संकलन गरेर सर्वदलीय बैठक गरेर मतगणनाको समय तय गरिने उनले बताए ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार त्यहाँ करिब ५३ प्रतिशत मतादाताले भोट हालेका छन् । मतपेटिका संकलन गरेर सर्वदलीय बैठकपछि गणनाको समय तय हुने सिडिओ खनालले अनलाइनखबरलाई जानकारी दिए ।

कास्कीमा शान्तिपूर्ण मतदान सम्पन्न भएको र सबै क्षेत्रको सहयोग मिलेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । कास्कीमा ६१ दशमलव ३४ प्रतिशत मत खसेको छ ।
‘एकदमै उत्साहजक हिसाबले मतदान सकिएको छ,’ शर्माले भनिन्, ‘कास्की ३ वटा निर्वाचन क्षेत्रका ३ ठाउँमा मतगणना हुने छ ।’ कास्कीमा सबै मतपेटिका संकलन भइसकेको छ भने आजैबाट मतगणना थाल्ने तयारी भइरहेको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार ४८ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ । मतदान चाहिँ शान्तिपूर्ण हिसाबले सम्पन्न भएको र अहिले मतगणनाबारे बैठक चलिरहेको आचार्यले जानकारी दिए ।
पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार ५३ प्रतिशत मत खसेको छ । राति ११ बजेसम्म सबै मतपेटिका आइसक्ने भएपनि उम्मेदवारकै आग्रहमा भोलिमात्रै गणना गर्न लागिएको उनले बताए ।
म्याग्दीमा ५४ दशमलब दुई प्रतिशत मत खसेको छ । म्याग्दीका अनलाइनखबर संवाददाता सन्तोष गौतमका अनुसार ८६ हजार तीन सय ९७ मध्य ४६ हजार ८९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
मतदान स्थलबाट बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्न थालिएको छ । बिहिबार रातिसम्म सडक मार्गबाट बेनीमा मतपेटिका संकलन गरिसक्ने, शुक्रबार बिहान सात बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको प्रजिअ आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4