News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यान जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ र मतपेटिका ढुवानीको कार्य जारी छ।
- सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता र ३ हजार ३५५ अस्थायी मतदाता रहेका छन्, प्रारम्भिक विवरण अनुसार करिब ४८.४२ प्रतिशत मत खसेको छ।
- सल्यानको मतगणना स्थलमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ र मतगणना सर्वपक्षीय छलफलपछि सिफ्ट प्रणालीमा सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।
२१ फागुन, सल्यान । सल्यान जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतदान सम्पन्नपछि जिल्लामा मतपेटिका ढुवानीको कार्य चलिरहेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता रहेका थिए भने ३ हजार ३५५ अस्थायी मतदाता पनि सहभागी थिए । प्रारम्भिक विवरण अनुसार जिल्लाभर करिब ४८.४२ प्रतिशत मत खसेको छ, जुन करिब ७९ हजारभन्दा बढी हो ।
यद्यपि सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम नआएकाले अन्तिम तथ्यांक आउन अझै समय लाग्ने बताइएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार भौगोलिक विकटता, सञ्चारको सीमित पहुँच तथा कतिपय मतदान केन्द्रबाट विवरण प्रविष्ट नभएकाले अन्तिम नतिजा संकलनमा ढिलाइ भएको हो ।
सबै मतपेटिका प्राप्त भएपछि मात्र राजनीतिक दलहरूसँग छलफल गरेर मतगणनाको समय निर्धारण गरिने उनले बताए ।
अघिल्लो निर्वाचनको तथ्यांक
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सल्यानमा १ लाख ५७ हजार ७०१ मतदाता रहेकामा ५३ .०८ प्रतिशत अर्थात् ८३ हजार ७०४ मत खसेको थियो । समानुपातिकतर्फ भने ८४ हजार ७८९ मत खसेको थियो । त्यसमध्ये प्रत्यक्षतर्फ ७ हजार ३७६ मत (८.८१ प्रतिशत) बदर भएका थिए भने समानुपातिकतर्फ ६ हजार २१६ मत (७.३३ प्रतिशत) बदर भएका थिए ।
यस पटक जिल्लाभर ११७ मतदान स्थल र २०५ मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको थियो भने ३ वटा अस्थायी मतदान केन्द्र पनि सञ्चालनमा आएका थिए ।
कारागारमा शतप्रतिशत मतदान
सल्यान कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा भने शतप्रतिशत मतदान भएको छ । कारागारमा रहेका सबै १९ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
सिसिटिभी निगरानीमा मतगणना
मतगणनाका लागि सल्यानको सदरमुकाम खलंगामा जिल्ला समन्वय समितिको ठूलो हलमा मतगणना स्थल तयार गरिएको छ । पारदर्शीता र सुरक्षालाई ध्यानमा राख्दै उक्त स्थलमा ६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
मतगणना स्थल वरिपरि करिब साढे ६ फिट अग्लो तारजाली लगाइएको छ भने त्यस माथि थप जाली राखेर करिब १० फिट अग्लो सुरक्षा घेरा तयार गरिएको छ । हलभित्र मतगणना सहज बनाउन म्याट्रेस बिछ्याइएको छ।
मतगणना कार्य सिफ्ट प्रणालीमा सञ्चालन गरिने बताइएको छ। प्रत्येक सिफ्टमा मुख्य गणना अधिकारीसहित ६ जना कर्मचारी खटिनेछन् । सबै राजनीतिक दलसँग सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4