Comments Add Comment

प्रदेश ४ मा खुले ४ मन्त्रालय

२२ माघ, पोखरा । पोखरामा प्रदेश ४ का चारवटा मन्त्रालय खुलेको छ । तत्काललाई ७ मन्त्रालय रहने भए पनि हाल ४ वटा मन्त्रालय सञ्चालनमा आएका छन् । सोमबार प्रदेशका २ मन्त्रालय खुलेपछि मन्त्रालयको संख्या ४ पुगेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सोमबारदेखि सञ्चालनमा आएको छ । पार्दीस्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पोखरा-१ बगरस्थित क्षेत्रीय वन निर्देशनालयको कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय राखिएको छ ।

यसअघि नै पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चालनमा आइसकको छ ।

क्षेत्रीय कृषि निर्देशक सहसचिव शरदचन्द्र श्रेष्ठले सञ्चालनमा आएको भूमि व्यवस्था मन्त्रालयको सचिवको रुपमा पदभार ग्रहण गरेका छन् । यही मन्त्रालयमा उपसचिव उर्मिला काˆलेसहित ४/५ जना कर्मचारी सोमबार नै हाजिर भएको र बाँकी कर्मचारी आउने क्रम जारी रहेको उपसचिव झलकराम सुवेदीले जानकारी दिए ।

अन्य मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय आसपासमै भए पनि वन मन्त्रालयभन्दा सबैभन्दा टाढा बगर पुगेको छ । ‘क्षेत्रीय वन कार्यालयको भवन मुख्यमन्त्रीको कार्यालय नजिकै निर्माणाधीन छ त्यसैले तत्कालका लागि बगरबाटै भए पनि कार्यसञ्चालनका लागि वन मन्त्रालय सञ्चालनमा ल्याएका हौं,’ उपसचिव सुवेदीले भने ।

क्षेत्रीय वन कार्यालयका निर्देशक डा. वुद्धिसागर पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवको रुपमा सोमबारै पदभार ग्रहण गरेका छन् । यो मन्त्रालयमा पनि ४/५ जना कर्मचारी हाजिर भइसको सचिव पौडेलले जानकारी दिए । ‘मन्त्रालयको तत्काल धेरै काम नभए पनि कर्मचारी तथा कार्यालय व्यवस्थापनको काम गछौं,’ सचिव डा. पौडेलले भने ।

४ मन्त्रालय सञ्चालनमा आइसकेपछि अब ३ मन्त्रालयमात्र सञ्चालन हुन बाँकी छ । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालय रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालन गर्ने तयारी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय राख्ने तयारी भइरहेको प्रमुख सचिव लक्ष्मण अर्यालले बताए ।

सरकारले सबै मन्त्रालयमा कर्मचारीसमेत खटाइसकेको छ । तर, कार्यालयमा सबै कर्मचारी आइसकेका छैनन् ।

मुख्यमन्त्रीको कार्यालयमा २१ जना, आन्तरिक मामिलामा २३ जना, आर्थिक, योजनामा १८ जना, भौतिक पूर्वाधारमा २४ जना, भूमि, कृषि तथा सहकारीमा २९ जना, उद्योग, पर्यटनमा २९ जना, सामाजिक विकासमा ३० जना कर्मचारी सरकारले खटाएको छ । तत्काल मन्त्रालय सञ्चालनका लागि कर्मचारी खटाइएको र तयारी तीव्र पारिएको प्रमुख सचिव अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment