Comments Add Comment

विद्यार्थीको रोजाइ, सत्यवतीको पढाइ !

 ९ वैशाख, दमौली । आम नेपालीको सोचाइ के छ भने सरकारी स्कुलको पढाइ राम्रो हुँदैन त्यसैले बोर्डिङ स्कुलमा छोराछोरी पढाउनु पर्छ । तर, तनहुँको सत्यवती उच्च माविले यस्तो सोचाइ गलत सावित गरिदिएको छ ।

अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयमा छोराछोरी पढाउने चाहनेहरुको थामिनसक्नुको भिड हुन्छ ।

तनहुँको भानु १२ की सुर्यकला घर्तीले आफ्नो एक मात्र छोरालाई गाउँकै सरकारी विद्यालयमा नपढाएर सत्यवती उच्च माविमा पढाउन सदरमुकाम आएकी छिन् । भानु नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी घर्तीले घरबाट झण्डै ४० किलोमिटर टाढा रहेका जिल्ला सदरमुकाम दमौलीमा कोठा भाडामा लिएर छोरा सुरेशलाई पढाउँदै आएको सुनाइन् ।

सूर्यकला जस्तै धेरैजना अभिभावकहरुले सरकारी विद्यालय सत्यवतीमा पढाउन दमौलीका घरहरुमा कोठा भाडामा लिएका छन् ।

दमौलीमा अन्य सरकारी र निजी बोर्डिङ स्कुलहरु नभएका पनि होइनन् तर अभिभावकहरुको पहिलो रोजाइ सत्यवती नै पर्ने गरेको छ । किन यस्तो भयो त ? अनलाइनखबरको जिज्ञासामा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल भन्छन्, ‘गुणस्तरीय शिक्षा, निरन्तरको मेहनत र अभिभावकको हौसलाले हो । विद्यालयले आधुनिक शिक्षण विधी अबलम्वन गरेको छ । सकभर कुनैपनि विषयमा कम्प्रमाइज नगर्ने नीति विद्यालयले लिएको छ ।’

नयाँ विद्यार्थी भर्नाकै लागि प्रवेश परीक्षा लिने सत्यवती जिल्लाकै पहिलो विद्यालय हो । कतिपय सरकारी विद्यालय बालबालिका भर्ना नभएर बन्द हुने अवस्थामा पुगेका बेला सत्यवती उच्च माविमा विद्यार्थी पढाउन हानथाप हुन्छ । कतिपयले नेता, सांसद, प्रशासक र ठूला व्यापारीहरुको सोर्सफोर्स पनि लगाउँछन् । तर, प्रवेश परीक्षा लिएर उत्कृष्ट विद्यार्थीहरुलाई मात्रै भर्ना गर्ने गरेको प्रधानाध्यापक पौडेल बताउँछन् ।

‘भनसुन गर्नेले गर्दै गर्नुहुन्छ हामी सुनिदिन्छम् तर उत्कृष्ट विद्यार्थीलाई हटाएर भनसुनका विद्यार्थी भर्ना गर्दैनौं,’ प्रधानाध्यापक पौडेलले भने ।

तनहुँको यो एकमात्रै यस्तो विद्यालय हो जहाँ भर्ना हुन सिट नपाएर आकांक्षी अभिभावक मन दुःखाउँदै आफ्ना सन्ततिलाई अन्यत्रै लैजान बाध्य हुन्छन् ।
यो वर्ष सत्यवतीमा नयाँ भर्नाका लागि करिव पाँच सय जना नयाँ विद्यार्थीले आवेदन दिए । तर पढ्न पाउने अवसर भने ३५० जनाले मात्रै पाए ।

विद्यालयमा पहिले अन्तरवार्ताबाट विद्यार्थी छनोट गरिन्थ्यो । तर विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि केही वर्षयता भने लिखित प्रवेश परीक्षा नै लिन थालिएको छ । आवेदन दिने सबैलाई भर्ना गर्न नसकिने, भौतिक पूर्वाधार र शिक्षकले धान्न नसकिने अवस्था आएपछि लिखि प्रवेश परीक्षा लिन थालिएको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए ।

नयाँ शैक्षिक सत्रका लागि विद्यालयले ४ वैशाखमा प्रवेश परीक्षा लिएको थियो । विद्यालयमा प्रवेश परीक्षा फर्म भर्न आउने भिड छिचोल्नै नसक्ने हुन्छ ।

यतिको संख्यामा आउने आवेदनले विद्यालयको सान मात्रै बढाएको छैन । विद्यालयले उत्कृष्ट विद्यार्थीलाई छानेर पढाउने मौकासमेत पाएको छ ।
गत वर्षको एसईई परीक्षामा सत्यवती ३ सय ५० जनाले परीक्षा दिएका थिए । तिनै पास आउट हुने विद्यार्थीकै हाराहारीमा विद्यालयले भर्ना लिने गरेको छ ।
‘हामीसँग सीमित भौतिक पूर्वाधार र जनशक्ति छ बढी विद्यार्थी चाहेर पनि पढाउन सक्दैनौं,’ प्रधानाध्यापक पौडेलले भने, ‘अनुपात मिलाएर पढाउनुपर्‍यो । विद्यालयले कक्षा एकदेखि नै नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्ने गरेको छ ।’

गत शैक्षिक सत्रमा सत्यवतीमा २ हजार ५८० जना विद्यार्थीले अध्ययन गरेका थिए ।

सबै शिक्षकका छोराछोरी सत्यवतीमा

विद्यालयका व्यवस्थापन समितिको अथक मेहेनत, शिक्षक तथा कर्मचारीको परिश्रमले नतिजामा देखाएको सफलता र अभिभावकको भरोसाको कारणले न सत्यवतीप्रति हरेक वर्ष आकर्षण बढ्दै गएको बताउँछन्, प्रधानाध्यापक पौडेल ।

सत्यवतीमा अध्यापन गराउने सबै शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी सत्यवतीमा नै पढाएका गराएका छन् । शिक्षक शिक्षिकाका छोराछोरी मात्रै उक्त विद्यालयमा १ सय ८५ जना छन् । सत्यवतीमा शिक्षक शिक्षिका मात्रै ८९ जना छन् ।

विद्यालयबाट एसएलसी र एसईईमा झण्डै ८० प्रतिशतभन्दा बढी विद्यार्थी पास हुने गरेका छन् । हरेक वर्षको एसएलसी वा एसईई परीक्षामा ल्याएको उत्कृष्ट नतिजाकै कारण सत्यवतीमा नयाँ विद्यार्थी भर्ना गराउन तछाडमछाड हुन्छ ।

विद्यालयमा कक्षा ११ मा समेत पढ्न उतिकै भिडभाड हुन्छ । कक्षा ११ मा ११ सेक्सन छन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कम्प्युटर इन्जिनियरीङ विषय पढाउँदै आएको छ । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र व्यवस्थापन विषय पढाउँदै आएको छ ।

अझ विज्ञानमा त उत्कृष्ट नतिजा नै हासिल गर्दै आएको छ, करिब ९० प्रतिशतको उत्तीर्ण दरका साथ । विद्यालयले साना सबै कक्षाहरुमा अंग्रेजी माध्यमबाट पढाउँदै आएको छ । कक्षा ९ र १० मा नेपाली माध्यम पनि छ । शिक्षणमा स्मार्ट विधि अपनाइएको छ । विद्यालयमा ४ भवनमा गरी ४३ कोठा छन् । दैनिक ६१ कक्षा सञ्चालन हुन्छ । बायोलोजी, केमेष्ट्रि र फिजिक्सका अलगअलग आधुनिक ल्याव छन् । दुईवटा लाइब्रेरी छन् ।

पढाइमा मात्र हैन, अतिरिक्त क्रियाकलापमा पनि सत्यवती सधैं अग्रस्थानमा पर्दछ, सत्यवती ।

तनहुँको गौरवको रुपमा रहेको सत्यवतीलाई अझ उचाइमा पुर्‍याउन सबैको सहयोग आवश्यक भएको प्रअ पौडेलले बताए । ‘सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको रेडिमेट धारणामा परिवर्तन ल्याउन सफल भएका छौं,’ प्रअ पौडेलले भने ।

पुरस्कारै पुरस्कार

सत्यवती उच्च माध्यमिक विद्यालयले २०५७ सालदेखि तनहुँ जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयो । चारपटक पश्चिमाञ्चल क्षेत्रको सर्वाेत्कृष्ट विद्यालय, एकपटक राष्ट्रियस्तरको प्रथम र दुईपटक राष्ट्रियस्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सत्यवती सफल भएको छ ।

सत्यवतीले २०५७, २०६६, २०६७, २०७० को एसएलसी परीक्षामा पश्चिमाञ्चल क्षेत्रमा प्रथम स्थान हासिल गर्‍यो । २०५७ मा ५० हजार र ०६६ र ०६७ मा उत्कृष्ट भएवापत शिक्षा मन्त्रालयबाट ध्वजा, शिल्ड र एक लाख नगद रुपैयाँ नगदबाट पुरस्कृत बन्यो । विद्यालयबाट अहिलेसम्म करीव ४ हजार विद्यार्थीले माद्यमिक शिक्षा पास गरिसकेको प्रअ पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment