+
+

अर्थमन्त्रीले भने : वृद्धभत्ताको आर्किटेक्ट नै म हुँ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १९ गते १:३०

१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ०५१ सालमा सुरु भएको वृद्धभत्ता आर्किटेक्ट आफू भएको भन्दै विपक्षीले उक्साउन जरुरी नरहेको जवाफ दिएका छन् ।

वृद्धभत्तालगायत सामाजिक सुरक्षाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको भएकाले यसलाई आफूहरुले बिर्सनै नसक्ने उनले बताए ।

बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता ०५१ सालमा एमालेले शुरुवात गरेको स्मरण गराए ।

उनले भने, ‘अकस्मात चिन्ता भयो प्रतिपक्षका माननीयज्यूहरुलाई । यसका लागि म धन्यवाद पनि दिन्छु । तर, २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालको पहिलो बजेट बनाउदै थियौं । संयोगले म त्यसको एउटा आर्किटेक्ट पनि हुँ । त्यो हाम्रो स्वमित्वको विषय हो, त्यसलाई बिर्सने कुरै आउँदैन ।’

सामाजिक सुरक्षाको स्वरुप दायरा भएको र सबैभन्दा प्रभावकारी हुने भएर नै सरकारले ७० वर्ष उमेर पुगेकालाई स्वास्थ्य विमा र आवासको योजना अघि सारेको उनले बताए । उनले भने, ‘अब नगदै दिने कुरामा पर्खनुस्, हेर्दै जानुस् । हामीले बिर्सिएका छैनौं र क्षमता विकास गरेर त्यसलाई पनि सम्बोधन गर्छौं ।’

सामाजिक सुरक्षा आफूहरुको एजेण्डा भएको भन्दै उनले यसलाई पूरा गरेरै छाड्ने बताए ।

बजेट न वायुपंखी घोडा, न कछुवा

अर्थमन्त्री युवराज खतिवडाले बजेट वायुपंखी घोडा र कछुवा दुवै नभएको बताएका छन् ।

कसैले वायुपंखी भन्दैमा उक्साहटमा नलाग्ने र कछुवा जस्तो ढिलो पनि नहिड्ने उनले प्रष्ट पारे । ‘यो बजेट वायुपंखी घोडा पनि होइन । यो बजेट कछुवा पनि होइन’ उनले भने, ‘कसैले वायुपंखी हो भन्दैमा उक्साहटमा हावा दौडिने पनि हामी होइनौं र कछुवाजस्तो ढिलो हिँड्ने पनि हामी होइनौं । हाम्रो आफ्नै गति छ ।’

‘अब नगदै दिने कुरामा पर्खनुस्, हेर्दै जानुस् । हामीले बिर्सिएका छैनौं र क्षमता विकास गरेर त्यसलाई पनि सम्बोधन गर्छौं ।’

८ प्रतिशत आर्थिक वृद्धि, ५ लाखलाई रोजगारी, ३ वर्षमा खानेपानी र सिञ्चाई सुविधाजस्ता योजनालाई कसैले कछुवा गति भने अझ गर्नुपर्छ भन्ने शुभकामनाका रुपमा लिने उनले बताए । अर्थमन्त्री खतिवडाले अघि भने, ‘वायुपंखी भन्ने हो भने यति पनि नगरे हामी अल्पविकसित अवस्थामै रहन्छौं ।’

बजेटको आकारबारे ठूलो भ्रम रहेको उनले बताए । नेपालमा स्थानीय, प्रदेश र संघीय सरकार गरी ७६१ सरकार रहेको भन्दै उनले चालु आर्थिक वर्षको बजेटसँग दाँजेर सानो भन्न नहुने बताए ।

प्रदेश र स्थानीय तहमा गएका अधिकार, राजश्व, बजेटलाई बिर्सिएर बजेटको आकार तुलना गर्नु स्याउ र सुन्तलाको तुलना गरे जस्तै हुने उनले बताए ।

चालु आर्थिक वर्षको बजेट १२ खर्ब ७९ अर्बको भए पनि २ खर्बको स्रोत नभएको र संशोधित अनुमान १० खर्ब ४६ अर्ब रहेको भन्दै उनले भने, ‘यो ४० प्रतिशत ठूलो छ र यसले आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउँछ भन्ने हाम्रो अनुमान छ ।’

चालु आवको बजेटमा ७३० अर्बको राजश्व लक्ष्यबाट बढाएर अहिले ८३१ अर्बको लक्ष्य राख्दा मात्र १४ प्रतिशतको ? भन्ने तर्क पनि आउन सक्ने उनले अनुमान गरे । करको अधिकार प्रदेश र स्थानीय तहमा पनि गएको भन्दै उनले भने, ‘राजस्वको वृद्धि करिव ३५ प्रतिशत वृद्धि हो । त्यसैले हामी ठूलो फड्को मार्दैछौं । तर, हाम्रो खुट्टा चाहिँ जमिनमा टेकेका छौं, हावामा टेकेका छैनौं ।’

कसैले वायुपंखी हो भन्दैमा उक्साहटमा हावा दौडिने पनि हामी होइनौं र कछुवाजस्तो ढिलो हिँड्ने पनि हामी होइनौं । हाम्रो आफ्नै गति छ ।’

यो लक्ष्य हासिल गर्न कर प्रणालीमा सुधार गर्न खोजिएको तर, भ्याट फिर्ता लिएर मोज गर्नेहरुले विरोध गर्दा निजी क्षेत्रलाई पाखा लगाइयो भन्न नहुने उनले बताए । अर्थमन्त्री खतिवडाले भने, ‘राष्ट्रिय उद्योगलाई संरक्षण दिने नीति पहिलो पटक बजेटले ल्याएको छ ।

उद्योगले आफ्नो नाफालाई पुनःलगानी गरे कर छुट दिन्छौं भनेका छौं । भन्सार अन्तशुल्कका कारण हिजो संरक्षण नपाएका उद्योगलाई संरक्षण दिने भनेका छौं । यो निजी क्षेत्रलाई संरक्षण गर्ने बजेट हो ।’

धेरै पैसा कमाउने व्यक्तिलाई कर लगायो भनेर निजी क्षेत्रलाई जोड्न जरुरी नरहेको अर्थमन्त्रीले बताए । व्यक्तिगत आम्दानी धेरै गर्नेले बढी कर नतिर्ने हो भने समाजवादतर्फको यात्रा अघि नबढ्ने उनले बताए ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयका नाममा छुट्याएको बजेटले अधिनायकवाद नआउने प्रष्टीकरण दिए ।

कांग्रेस सांसदहरुले संघीयताको मर्म विपरीत प्रधानमन्त्री कार्यालयमा बजेट धेरै राखेको भन्दै आलोचना गरेका थिए । त्यसतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री कार्यालयमा डेढ खर्ब जति पुनर्निर्माणकै बजेट रहेको भन्दै अघि भने, ‘भूकम्प पीडितको लागि छुट्याइएको बजेटले अधिनायकवाद आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?