Comments Add Comment

डोटीमा एक वर्षमा एक हजार ८९ जनाले गर्भपतन गराए

६ भदौ, डोटी । डोटी जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा एक हजार ८९ जना महिलाहरुले गर्भपतन गराएका छन् ।

जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत १८ स्वास्थ्य सँस्थामा उक्त संख्यामा महिलाहरुले सेवा लिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको तथ्याङ्क अनुसार जिल्ला अस्पतालमा मात्रै गत आर्थिक वर्षमा तीन सय ८३ जनाले उक्त सेवा लिएका छन् ।

नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको हो ।

नौ हप्तासम्मको गर्भ तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा प्रदान गरिने औषधि सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणहरुको प्रयोग गरी पतन गराउन मिल्ने प्रावधान रहेकोमा यस जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउनेको संख्या अत्याधिक रहेको छ ।

गाउँगाउँमा सरकारी स्वास्थ्य सँस्थाहरु र स्वास्थ्यकर्मीहरु सूचीकृत रहेका कारण नौ हप्तासम्मको गर्भपतन गराउनेको संख्या बढी देखिएको हो ।

एक वर्षको अवधिमा आठ सय ७१ जनाले औषधि सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएका छन् ।

यस्तै १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या एक सय ६६ रहेको छ । तथ्याङ्क अनुसार १८ हप्तासम्मको गर्भपतन गराउनेहरुको संख्या ५२ देखिएको छ । १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार डोटी जिल्ला अस्पतालले मात्रै पाएको छ ।

एउटै महिला तीन पटकसम्म गर्भ पतन गराउँछिन्

एउटै महिलाले पटक-पटक गर्भपतन गराउने गरेको जिल्ला अस्पतालका चिकित्कस डा. गिरीश अवस्थी वताउँछन् । ‘परिवार नियोजनका साधनहरुको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो,’ डा अबस्थी भन्छन्, ‘परिवार नियोजनका साधनहरुप्रति अहिले पनि नकारात्मक धारणा रहेको छ ।’

उनले गर्भपतन गराउन आउनेहरुमा बढी जसो सन्तानको रहर पुगिसकेका ३० देखि ४० उमेर समूहका महिलाहरु रहेको बताए ।

एउटै महिलाले तीन/तीन पटकसम्म गर्भपतन गराउने गरेको डा. अवस्थीको भनाइ छ । पटक-पटक गर्भपतन गराउनु स्वास्थ्यको लागि जोखिमपूर्ण भएपनि अधिकांश महिलाहरुले पटक-पटक गर्भपतन गराउने गरेको अवस्थीले बताए ।

‘एक महिला लगातार तेश्रो पटक उक्त सेवा लिन आईन, मैले उनलाई पटक पटक गर्भपतन गराउँदा तपाईको ज्यान जोखिममा हुन्छ, त्यसैले म गर्दैन भनेर पठाएँ,’ डा अवस्थी भन्छन्, ‘ती महिलाले बजारबाट औषधि किनेर खाइछन्, लगातार रगत बग्ने भएपछि फेरि अस्पतालमा आइन् ।’

स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने भ्रम रहेका कारण स्थायी वध्याकरण नगर्ने गरेको पाईएको डा अवस्थीको भनाइ छ । ‘पुरुषहरु आफू स्थायी वध्याकरण गर्दैनन, महिलाहरुप्रति शंका गरेर परिवार नियोजनका अस्थायी साधनसमेत प्रयोग गर्न दिदैनन्,’ उनी भन्छन्, ‘त्यसकारण गर्भपतन गराउनेहरुको संख्या बढेको हो ।’

अबैध रुपमा औषधि बिक्री

औषधि पसलहरुले गर्भपतन गराउने औषधि बिक्री गर्न नपाउने कानुनी व्यवस्था रहेपनि अधिकांश औषधी पसलबाट बिक्री बितरण भइरहेको बताउँछन् अस्पतालका मेडिकल अधिकृत डा भुषण मिश्र ।

उनी भन्छन्, ‘यस बिषयमा अनुगमन गर्ने र कारवाही गर्ने अधिकार हामीसँग छैन, औषधि व्यवस्था विभागले हेर्नु पर्ने हो ।’

१२ हप्ता भन्दामाथि भइसकेपछि सूचीकृत स्वास्थ्य सँस्थाहरुले गर्भपतन नगराउने भएपछि औषधि पसलबाट औषधि किनेर खाने गरेको डा. मिश्रको भनाइ छ । ‘हामीले हुँदैन भनेर फर्काएपछि उनीहरु बजारबाट औषधि किनेर खान्छन्,’ उनी थप्छन्, ‘जब लगातार रगत बग्ने हुन्छ फेरि उपचारका लागि जिल्ला अस्पताल आउँछन् ।’ डा. मिश्रले परम्परागत बिधिको प्रयोग गरी जोखिमपूर्ण रुपमा गर्भपतन गराउने चलनसमेत रहेको बताए ।

मुलुकी अपराध -संहिता) ऐन, २०७४ को दफा १८९ अनुसार महिलाको मञ्जुरीमा १२ हप्तासम्म, हाडनाता करणी वा जवरजस्ती करणीबाट रहेको गर्भ १८ हप्तासम्म, एचआईभीलगायत यस्तै जिवाणु शरीरमा रहेकी महिलाले गर्भपतन गराउने चाहेमा र गर्भवती महिला र गर्भमा रहेको बच्चाको ज्यानमा खतरा छ भन्ने चिकित्सकले प्रमाणित गरेमा जुनसुकै बेला पनि सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ ।

तर, उक्त व्यवस्थाको दुरुपयो गरी गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment