Comments Add Comment

नेपाल – भारत सीमासम्बन्धी बैठक अर्को हप्ता काठमाडौंमा हुने

२८ भदौ, काठमाडौं । नेपाल-भारत सीमा समस्या समाधानका लागि गठित कार्यदल ( बाउन्ड्री वर्किङ ग्रुप ) को बैठक अर्को हप्ता काठमाडौंमा हुने भएको छ ।

सीमा समस्या समाधानका लागि नेपाल-भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा गठित कार्यदलको बैठक बस्न लागेको हो । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो ।

बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल-भारतबीचका कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गरेका कारण कतिपय ठाउँमा सीमा निर्धारणमा कठिनाई भएको लगायतका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य, नक्शा हेरेर र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल-भारतबीचको सीमा समस्या समाधान गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिए ।

उनले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन पनि नापी विभाग नेतृत्वको नेपाल- भारत अन्तराष्ट्रिय सीमा सम्बन्धि समस्या समाधान गर्न गठित कार्यदललाई सचेत गराए ।

‘विवादित ठाउँमा अहिले जेजस्तो अवस्था छ, त्यस्तै अवस्थामा छाड्न, जो जसले जोतभोग गरिरहेका छन्, त्यही रुपमा उपभोग गर्न दिने गरी वार्तामा कुरा राख्न र आपसी सहमतिका साथ अगाडि बढ्न निर्देशन दिनुभएको छ’ प्रधानमन्त्रीको निर्देशनबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको यकीन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागसहितका सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment