+
+

‘जुन दिन नदेख्न छोरीलाई तर्साउँथे, त्यही दिन देख्नुपर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १०:५१

१६ असोज, काठमाडौं । सम्झनाका बुबा-आमालाई जुन अनिष्टको डर थियो, त्यही भयो । ३० वर्षसम्म ‘अधबेस्री’ छोरीको आब्रुक जोगाउन सफल भएका थिए तर, रक्सीको नसामा आफ्नै पसलका नियमित ग्राहकको शिकार भइन् छोरी सम्झना । दशा ढोल बजाएर आउँदैन भन्थे हो रहेछ ।

गत भदौ ३१ गते त्यही अकल्पनीय परिस्थितिको सामना गर्दै थिए सम्झना पौडेल (नाम परिवर्तन)का आमाबुबा । मानसिक रुपमा अस्वस्थ रहेकी छोरीलाई उनीहरुले सधैं भन्ने गर्थे-कसैले बोलायो भने नजानू, केटी मान्छेले कतै जाउँ भने पनि नजानू । तिम्रो आँखा र मुटु निकालेर लैजान्छन् ।

मान्छेको नियत बुझ्न नसक्ने छोरीको सुरक्षाका लागि आमाले यस्तो त्रास देखाएकी थिइन् । तर, हुने हार दैव नटार । आमाको त्यो सूत्र फेल खायो । सम्झना आफ्नै छिमेकी र चिरपरिचित ग्राहकबाट बलात्कृत भइन् ।

रक्सीले मातिएको छिमेकीले उनलाई झुक्याएर कोठाभित्र लग्यो । अप्राकृतिक यौन सम्बन्ध राख्यो । एउटी मानसिक विरामी अवोध युवतीमाथि पशुवत व्यवहार भयो । जबकी पीडित युवती आफूमाथिको पाशविक व्यवहार बलात्कार हो भन्ने बुझ्न समेत समर्थन छैनन् ।

त्यो दिन देख्न नपरेको भए हुन्थ्यो

सम्झनाका आमाबुबा रामेछापबाट काठमाडौं झरेको ३० वर्ष भयो । उनीहरु काठमाडौं आउनका पछाडि तीन-चार वटा कारण थिए- रोजगार, सन्तानलाई गुणस्तरीय शिक्षा र सुरक्षा । यही सपनालाई पच्छाउँदै उनको बुवाले काठमाडौंमा व्यवसाय थाले । कपनको सिमलटारमा घर पनि जोडे ।

अहिले आरुबारीमा एउटा किराना पसल छ र खुद्रा सामान बेचिरहन्छन् । देशको राजधानीमा बस्न पाउँदा निकै सुरक्षित अनुभव गरिरहेका थिए उनीहरु ।

०००

भदौ ३० गते, शनिबार । दिउँसोको त्यस्तै १२ बज्दै थियो । घामले मौसम खुलेको थियो । बुवा-आमा पसलमै व्यस्त थिए । त्यहीबेला छोरी सम्झना नजिकैको चर्चबाट टुप्लुक्क पसल आइपुगिन् । दुई-तीन वर्ष भयो सम्झना चर्च धाउन थालेको ।

कसैले आएर भनिदियो कि क्रिश्चियन धर्ममा लागेपछि सुस्तमनस्थितिको समस्या छुमन्तर हुन्छ । होला त नि भनेर बुबा आमाले चर्च पठाउन थाले । सम्झना पनि नियमित चर्च पुगेर प्रार्थना गर्न थालिन् ।

तर, चर्चका मान्छेले ‘तिम्रो घरमै सैतान रहेसम्म ठीक हुन्नौ, बाउ-आमालाई पनि चर्चमा ल्याऊ अनि सैतान भाग्छ र ठीक हुनेछेउ’ भनेपछि उनी चर्च नजाने निष्कर्षमा पुगेकी थिइन् । यो कुरा घरमा भनेकी पनि थिइन् ।

सुस्तमनस्थितिकी सम्झना विस्तारै भए पनि सोधेको उत्तर दिने प्रयास गर्छिन् । खाना पकाउन त सक्दिनन् । तर, कपडा धुन्छिन्, भाँडा माझ्न सक्छिन्, भाइलाई स्कुल पुर्‍याउँछिन् । उनी आफैं भन्छिन्, ‘मलाई मानसिक समस्या छ । ०६० सालदेखि यस्तो भएको हो ।’

६० सालमा १३ वर्षको थिइन् सम्झना । उनी कक्षा पाँचमा उक्लिसकेकी थिइन् । दशैँ आउँदै थियो । दशैँमा टीकासँगै आशिर्वाद लिन सपरिवार गाउँ रामेछापको भीरपानी फर्किएका थिए । तर, एक रात सम्झना अकस्मात निद्रामै उठिन् र जथाभावी हिँड्न थालिन् । पाँच दिनपछि उनी निद्राबाट ब्यूँझिइन् । होसमा त आइन् तर, आधा होसमा ।

त्यसपछि उसले पकेटबाट चुरोट निकाल्यो र सल्क्यायो । चुरोटको धुवासँगै केके कुरा गर्दै थियो । म उठेर हिँड्न लागेँ । उसले मेरो चुंगीमा समाएर तान्यो । अनि ममाथि आइलाग्यो

बा-आमाले अनेक उपचार गरे, विधि अपनाए । अहँ केही पार लागेन । तीन वर्षपछि पाटन अस्पतालको औषधिले काम गर्‍यो । आफैं भन्छिन्, ‘अहिले पनि औषधि खाइरहेकी छु । बाचुञ्जेल खानुपर्छ ।’

त्यही मासिक १३ सय रुपैयाँको औषधिले सम्झना यो अवस्थामा छिन् ।

०००

त्यसदिन दावा तामाङ सम्झनाको बुबाआमाको पसल अगाडि बसिरहेका थिए । दावाको खास घर त सोलुखुम्बु हो तर, अहिले सम्झनाका छिमेकी हुन् । नजिकैको ग्रील फ्याक्ट्रीमा काम गर्छन् । करिब तीन महिना भयो दावाले त्यहाँ काम गर्न थालेको ।

सम्झनाकै शब्दमाः त्यस दिन के भयो ?

सम्झनाको पसल छेउमा एउटा होटेल पनि छ । दावा विहानदेखि त्यही होटेलबाहिर बसेर रक्सी पिइरहेका थिए र बेला-बेला चुरोट माग्न पसलमा आउँथे ।

यतिबेलासम्म त ठीकठाक थियो । सम्झना सुनाउँछिन्, ‘मलाई हातको इशाराले बोलायो । त्यसअघि उसँग कहिल्यै पनि बोलेकी थिइनन् । किन रहेछ भनेर म उसको छेउँ गएँ । उसले मलाई हातमा समायो र सीधै आफ्नो ग्रिल फ्याक्ट्रीमा लग्यो । टिनको छाना भएको कोठामा पुर्‍यायो र भित्रबाट चुकुल लगायो । मलाई भित्रभित्रै डर लागिरहेको थियो ।

उसले भन्यो – तिमीले बिहे गरेकी छ्यौ ?

मैले भनेँ – छैन ।

उसले भन्यो-मैले पनि छैन ।

त्यसपछि उसले पकेटबाट चुरोट निकाल्यो र सल्क्यायो । चुरोटको धुवासँगै केके कुरा गर्दै थियो । म उठेर हिँड्न लागेँ । उसले मेरो चुंगीमा समाएर तान्यो । अनि ममाथि आइलाग्यो । मलाई केके गर्न भन्यो । मुखमै गर्‍यो । म फुत्किन खोज्दै थिएँ । उसले एक घण्टासम्म चल्नै दिएन ।

उसले मुखमा पनि नराम्रो काम गर्‍यो । अगाडि र पछाडिबाट पनि गर्‍यो । धेरै दुख्यो । तर बेस्सरी थिच्यो । दुई घण्टापछि भन्यो, ‘ल जाउँ अर्को शनिबार खान पकाउन आउनु है ? मलाई अर्को बाटो र्फकन भन्यो । म पसल आईपुगेँ ।’

बुबाको पसल आइपुग्दासम्म सम्झना अर्कै भएकी थिइन् । उनको शारीरिक अशक्ततामाथि दावाले घृणित प्रहार गरेको थियो । अशक्तता नै अभिशाप बन्यो ।

०००

अर्को दिन विहान सम्झनाले कान्छी बहिनीसँग भनिन्, ‘अब मैले बिहे गरेको छैन भन्दिनँ ।’

खासमा सम्झनाको कमजोरी के थियो भने उनलाई आफ्नो बिहे नभएकोमा चिन्ता रहेछ । चिनेका मान्छेसँग उनी मेरो बिहे भएको छैन भन्ने गर्थिन् ।

बलात्कारको मुद्दामा प्रहरीले मिलापत्र गराउन नसक्ने र अदालतमा पनि सरकारवादी मुद्दा हुने भएकाले पीडितले फिर्ता लिन नपाउने कुरा उनलाई कसैले भनिसकेको थियो, तर पनि यो परिवारमा ठूलो त्रास चाहिँ कायमै छ ।

बलात्कृत भएको दिन डरले गर्दा उनले कसैलाई भनिन् । भोलिपल्ट दुखाइ बढी भएपछि उनले कान्छी बहिनीलाई भनेकी थिइन् । कान्छी बहिनीले माइली दिदीसम्म कुरा पुर्‍याइन् र माइली दिदीले आमा-बुबासम्म ।

त्यसै दिनदेखि सम्झनाका आमा-बाबुको मनमा चैन छैन । ‘यो कुरा सुनेपछि मैले केही सोच्नै सकिनँ,’ उनले भने, ‘पहिला त आफ्नै छोरीलाई नै कुटेँ । त्यो राक्षसले बोलाउँदा हामीलाई भनेकी भए यो दिन देख्नुपर्ने थिएन होला । अहिलेसम्म रगत बगिरहेको छ । पेट दुखिरहेछ भन्छे ।’

बुवालाई त्यस्तै असहृय पीडा भयो । उनीहरुले छोरीलाई सम्झाएका थिए, ‘छोरी कसैले बोलाउँदा पनि जानु हुँदैन है । फेरि मिर्गौला झिकेर बेचिदिन्छन् !’ उनले पनि बुबा-आमाले सिकाएजस्तै गरेकी थिइन् ।

सम्झनाका बा सुस्केरा हाल्छन्, ‘के गर्ने, के नगर्ने मेसै पाइन । एक्लै थिएँ । ज्वाईंलाई बोलाएँ र त्यो केटा भएको ठाउँ पुगेँ । कपालमा झुण्डिएँ । जिन्दगीमा यस्तो दिन पनि देख्नुपर्ला भनेर कहिल्यै सोचेको थिइनँ ।’

अहिले दावा प्रहरी हिरासतमा छन् । दावालाई समात्ने क्रममा भाँचिएको सम्झनाको बुबाको हातमा प्लास्टर लगाइएको छ । तर, मनको चोटमा लगाउने प्लास्टर त कहिँ छैन ।

परिवारलाई डर छ, ‘प्रहरीले दावालाई छोड्ने पो होकी ? हामीलाई कसैले केही गर्ने पो हो की ?’

अनलाइनखबरकर्मीसँग कुरा गर्दागर्दै सम्झनाका पिताले आफ्नो मनको डर लुकाउन सकेनन् । यस्तासँग मुद्दा मामिला गर्नुभन्दा मिलापत्र गरेर छाड्ने पो हो कि ? भोलि आएर झ्न दुःख पो दिने हुन् कि ?

बलात्कारको मुद्दामा प्रहरीले मिलापत्र गराउन नसक्ने र अदालतमा पनि सरकारवादी मुद्दा हुने भएकाले पीडितले फिर्ता लिन नपाउने कुरा उनलाई कसैले भनिसकेको थियो, तर पनि यो परिवारमा ठूलो त्रास चाहिँ कायमै छ ।

बुबा-आमाको अर्को चिन्ता भनेको छोरीको भविष्य हो । त्यो घटनापछि घरबाट बाहिर निस्कँदा पनि मान्छेले उनलाई सोध्न थालेका छन्-तिम्रो त बिहे भयो रे नि हो ? अनि अस्ति के भयो ? यस्तैयस्तै ।

भविश्यमा छोरी के गरेर खाली ? कसले संरक्षण गर्ला ? यस्ता पीडितलाई सुरक्षा र संरक्षण दिने कुनै निकाय छैनन् ? बुबाआमाको प्रश्न अनुत्तरित छ । तर, पीडित सम्झना भन्छिन्, ‘मलाई यस्तो हालत बनाएको छ । अब मेरो बिहे पनि हुँदैन । त्यसलाई छोड्नुहुँदैन, जेल हाल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?