Comments Add Comment

सांसदहरु भन्छन्– नागरिकता विधेयकमाथि राजनीतिक सहमति खोजौं

२ मंसिर, काठमाडौं । सांसदहरुले नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न राजनीतिक सहमति खोज्नुपर्ने बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा आइतबार भएको छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले विवाद समाधान गर्न राजनीतिक दलहरुबीच सहमति गर्नुपर्ने बताए । ‘नागरिकता विधेयकका सन्दर्भमा गृहमन्त्रालयको औपचारिक धारणा, संशोधनकर्ताहरुको संशोधनबारे प्रष्टता र राजनीतिक दलका कुरा सुनेर अगाडि बढ्नुपर्ने उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ’ शर्माले भने ।

नेकपाकी सांसद रेखा शर्माले नागरिकताबारे संविधानमै त्रुटी रहेको बताइन । ‘जटिल परिस्थितिमा त्यतिबेलाको राजनीतिक सहमतिका आधारमा निर्माण गरेको संविधानमा नागरिकताबारे केही त्रुटीहरु छन्’, शर्माले भनिन्् ‘त्यसलाई हामीले यहाँ (समिति) बाट सल्ट्याउन सक्ने कुरा भएन ।’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम सांसद राजेन्द्र महतोलेसंशोधनकर्ता सांसदहरुहरुकै संशोधनमा आधारित भएर छलफल गर्नुपर्ने बताए ।

सांसद वृजेशकुमार गुप्ताले नागरिकता विधेयकका सन्दर्भमा समिति बाहिर राजनीतिक सहमतिको आवश्यकता नरहेको बताए । समितिमा सबै राजनीतिक दलका प्रतिनिधिहरु हुनुहुन्छ’, गुप्ताले भने, अहिलेको विधेयक ०६३ को जस्तो होइन । समितिलाई पूर्ण अधिकार छ । ठोस निर्णय गर्नुपर्छ ।’

नागरिकतासम्बन्धी विधेयकमा ५५ जना सांसदले २३ समूहमा एक सय दुई वटा संशोधन दर्ता गरेका छन् ।

नागरिकता विधेयक गृहमन्त्रालय नै तयार पारी वर्षे अधिवेशनमै संसदमा पेस गरेको थियो । उक्त विधेयक अहिले राज्य व्यवस्था समितिमा छलफलमा छ । संशोधनकर्ता सांसदहरुसंग पहिले छलफल गर्ने कि सरोकारवालासँग भन्ने विषयमा समिति सदस्यहरु सोमबार आन्तरिक छलफलमा जुटेका हुन् ।

आइतबार बैठकको सुरुमा सभापति शशी श्रेष्ठले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकलाई हिउँदे अधिवेशनको सुरुमै पेस गर्नुपर्ने दायित्व समितिसमक्ष रहेको बताइन् ।

नागरिकता विषय संवेदनशील विषय भएकाले सबै पक्ष (सरोकारवाला, पीडित पक्ष, यस क्षेत्रका विज्ञ र राजनीतिक दलका प्रतिनिधिहरु) को राय र सुझाव लिएरै अगाडि बढ्ने आफ्नो सोच रहेको उनको भनाइ थियो ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने ढङ्गले नागरिकताको विषयलाई अगाडि बढाउन नहुने बताए । ‘कोही विदेशीले नेपाल खाने उदेश्यले योजनाबद्ध ढङ्गले नेपाली नागरिकता लिन खोजेका छन् । तिनलाई नागरिकता दिनुहुन्न’, श्रेष्ठले भने, कुनै पनि नेपाली नागरिक नागरिताविहीन पनि हुनुहुन्न ।’

सांसद देवेन्द्रराज कँडेलले विगतमा साक्षीका आधारमा नागरिकता दिँदा धेरै विदेशीले नेपाली नागरिकता लिएको भन्दै त्यसको पनि छानबिन हुनुपर्ने बताए ।

यसैगरी, सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गरे ।

यो पनि पढ्नुहोस अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ : गृहमन्त्री थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment