Comments Add Comment

कांग्रेसीहरु ! कि फुट, कि जुट

बिराटनगर एक हप्ता बसेर राजधानी फर्कंदा सडकका पोलहरुमा चारतारे झण्डा फहराएको देखें । खुसी लाग्यो । कांग्रेस प्रतिपक्षको भूमिकामा नदेखिए पनि बिजुलीको पोलमा देखियो ।

अन्यथा, केन्द्र र सातवटै प्रदेशमा प्रतिपक्षको रुपमा कांग्रेस छ भनी ‘नोटिश’ गर्ने कुनै जाँगर यसवीच कसैले देखाएको थिएन ।

ज्याला दिएर घुसारिएका चारतारे झण्डा बिजुलीको पोलमा भेटिँदा पनि काठमाण्डौंको चिसोमा देशभरिबाट आएका महासमिति सदस्यहरुलाई गौरवान्वित लाग्न सक्छ ।

अन्तरघातीलाई सम्वोधन

बिराटनगरमा केही पुराना कांग्रेस साथीहरुसँग भेटघाट र कुराकानी हुँदा एकजना मित्रले हिजोआज कांग्रेस संस्कृति भनेको ‘भेटघाटमा जयनेपाल सम्वोधन गर्ने अनि दुबै हात पछाडि कस्सिएर मित्रमाथि हान्नका लागि चक्कु समात्ने’ भएको छ भने । निश्चय नै कांग्रेसमा ‘ बु्रटश संस्कृति’ छ र यो अवस्था आउनुमा कांग्रेसभित्रका मठाधीश र ठालुहरु नै जिम्मेवार छन् ।
यो पनि पढ्नुहोस कांग्रेसकै वरिपरि सबै घुम्दैछन्

महान अंग्रेज लेखक शेक्सपियरले मित्रघात र राज्यशक्ति प्राप्तिको लिप्सालाई लिएर रचेको ड्रामा ‘जुलियश सिजर’ को दुखान्त पक्ष नेपाली कांग्रेस अहिले आफ्नो आन्तरिक जीवनमा भोग्दैछ । बु्रटश रोमन सम्राट जुलियश सिजरको सबैभन्दा विश्वासिला र भरोसा लायक मित्र थिए । सिजरको हत्या षडयन्त्रमा जब बु्रटश पनि चक्कु लिएर मार्न प्रकट हुन्छन्, तब महान सम्राट सिजर ‘ब्रुटश, तँ पनि मेरो हत्यामा ?’ भनेर आश्चर्य मान्दै संसारबाट विदा लिन्छन् ।

कांग्रेसभित्र गत निर्वाचनमा पराजय भोगेका कुनै पनि उम्मेदवारले ‘मित्रघातको’ वर्णन सविस्तार गर्छन् बु्रटश शैलीमा । अर्थात बु्रटश संस्कृतिवाट आफू पराजय भएको पीडा पोख्छन् ।

कांग्रेसमा को छन् बु्रटश ? र, किन बु्रटश संस्कृति कांग्रेसमा निर्माण भयो ? यसको कारण र निदानको छलफल काठमाण्डौंको महासमिति बैठकमा होला भन्ने अपेक्षा गरिन्छ ।

कांग्रेसभित्र हुर्केको अन्तरघाती संस्कार र बु्रटश चरित्रलाई तत्काल निर्मूल गर्न संभव छैन । किनकि, पार्टी संगठन पूर्णरुपमा नभए पनि अधिकांश जिल्लामा गैरराजनीतिक चरित्रका व्यक्तिबाट सञ्चालित छ, निर्देशित छ ।

तर, पनि कांग्रेस महासमितिका इमान्दार सदस्यहरुले कांग्रेसलाई जोगाउन चाहन्छन् भने पार्टी विधानमा गुटवन्दी र भागवण्डालाई कम गर्ने विधिसम्मत बाटो निकाल्न सक्छन् ।

कांग्रेसमा केन्द्रीय नेताहरुले गुट गरे, पार्टीलाई अंशवण्डा गरे । यही रोग देशभरि फैलियो । जिल्ला, गाउँ र वार्डका नेताहरुले पनि त्यही सिको गरे । पार्टी तलदेखि माथिसम्म विभाजन भयो । चुनावमा आफ्नो पक्षको व्यक्तिले टिकट पाए तिनलाई जिताउन र आफ्नो गुट विरोधीले पाए हराउन सकृय भए । आजको यथार्थ कांग्रेसको यही हो ।

तसर्थ, गुटलाई मान्यता दिने व्यवस्था विधानमा कसरी गर्ने ? चुनौति यहाँ छ ।

वार्डदेखि केन्द्रसम्म निर्वाचन लडेर पराजित उम्मेदवारलाई पार्टीमा दोश्रो तहको पदाधिकारीको जिम्मेवारी दिने व्यवस्था पार्टी विधानमा गर्ने । जस्तोः कांग्रेस केन्द्रीय सभापतिमा शेरबहादुर देउवा उठे । उनको विरोधमा गगन थापा उठे । गगन थापाले हारे । तर, ४० प्रतिशत कांग्रेस महाधिवेशन सदस्यहरुको मत प्राप्त गरेमा उनी स्वतः पार्टी उपसभापति भए । यो व्यवस्था गर्नुपर्छ पार्टी विधानमा ।

अब गगनले गुट बनाएर होइन, पार्टी सभापतिसँग तालमेल मिलाएर सहयोग गर्दै उपसभापतिको जिम्मेवारी बहन गर्नुपर्छ । यसका लागि कांग्रेस विधानमा थ्रेसहोल्ड राख्नुपर्ने हुन्छ । जस्तो– निर्वाचन लड्ने र ३० प्रतिशतभन्दा पनि कम मत ल्याउनेलाई पार्टीभित्र गुट निर्माण गर्नका लागि केन्द्रीय सदस्यमा राखिरहन जरुरी छैन, कुनै पनि पदमा मनोनित गर्न जरुरी छैन ।

महासमिति बैठकपूर्वको कांग्रेस केन्द्रीय सदस्यहरुको वैठकमा सभापति शेरवहादुर देउवाले आफूले मनोनित गरेका केन्द्रिय सदस्यहरु सामु नैतिक प्रश्न उठाए । उनले भने– चुनावमा उठ्ने । हार्ने । अनि मैले नियुक्त गर्ने । अनि मलाई नै काम गर्न नदिने ? मेरो नै विरोध गर्ने ?

यो नैतिक प्रश्न उठाउने हैसियत सभापति देउवामा छ कि छैन, यो भिन्दै प्रश्न हो । तर, देउवाले रामचन्द्र, गगन, अर्जुन र कृष्ण सिटौलामाथि उठाएको प्रश्न राजनीतिक हो र नैतिक पनि ।

हार्ने नेतृत्व हट्छ

जब कांग्रेसले निर्वाचनमा सर्वत्र पराजय भोग्यो । र, देउवाले नैतिक जिम्मेवारी लिएनन् । त्यसबखत नै यी अनिर्वाचित केन्द्रीय सदस्यहरुले नैतिक जिम्मेवारी लिँदै केन्द्रीय सदस्यबाट राजिनामा दिएर कांग्रेस कार्यकर्ता र समर्थकसमक्ष पुग्न मैले सल्लाह दिएको थिएँ ।

अझ खासगरी रामचन्द्र पौड्याललाई । देउवालाई चुनौति दिँदै अब हाम्रो भेटघाट भावी महाधिवेशनमा हुन्छ, तिमीलाई आफ्नो कार्यकाल जसरी चलाउनु छ, खुला छौ भनी हाँक दिएको भए आज गगन र पौड्याल सामु नैतिक ‘ट्राप’ हुने थिएन । यो ‘ट्राप’ यी दुईले सामना गर्नु थियो राजनीतिमा ।

पार्टीमा नैतिक ‘ट्राप’, गुटवन्दी, भागवण्डा अन्तरघात र मित्रघातलाई केही हदसम्म पार्टी विधानबाट सम्वोधन हुन सक्छ । र, त्यसको बाटो भनेको पराजय हुनेलाई विधिसम्मत रुपमा पार्टीभित्र भूमिका दिने हो ।

दोश्रोः देशको निर्वाचन र पार्टी महाधिवेशनवीच सम्वन्ध स्थापित गर्नुपर्छ । देशको राष्ट्रिय निर्वाचनमा जुन नेताको नेतृत्वमा पार्टी जान्छ र विजयी हुन्छ भने उ स्वतः पार्टी संसदीय दलको नेता पनि चुनिने व्यवस्था पार्टी विधानमा गरे हुन्छ । यद्यपि यसको संवैधानिक व्यवस्था भिन्दै होला ।

यदि पार्टी सभापतिको नेतृत्वमा राष्ट्रिय निर्वाचनमा पार्टी हार्छ भने त्यस्तो सभापतिले पदवाट राजिनामा दिएर ६ महिनाभित्र महाधिवेशन बोलाई नयाँ सभापति चयनको ढोका खोल्नुपर्छ । वर्तमान सभापति देउवाले पार्टी पराजय पछि नैतिकरुपले राजिनामा नदिएको कारण अब कांग्रेस विधानमा नै यो व्यवस्था गरेर पार्टीको साख उठाउने जिम्मेवारी महासमिति सदस्यहरुले लिन सक्छन् । पार्टी विधानमा यी दुई व्यवस्था भए कांग्रेसमा नयाँ नेतृत्व आउने र पार्टी नोकरशाहीतन्त्रको चरित्रवाट माथि उठ्ने सम्भावना रहन्छ ।

कांग्रेस कम्युनिष्टसँग कित्ताकाट गर

राजनीतिक प्रस्तावमा प्रष्ट रुपमा कांग्रेस कम्युनिष्टसँगका सम्वन्धको छिनोफानो गर्नेबेला आयो ।

गणेशमानसिंहले वाम एकताको आधार निर्माण गर्न सहयोग गर्नुभयो । राजनीतिमा यसको परिणाम सुखद रह्यो । कृष्णप्रसाद भट्टराईले कम्युनिष्टसँग मिलेर आफ्नै पार्टी कमजोर पार्न गिरिजाप्रसादलाई अप्ठ्यारो पार्ने रणनीति लिनुभयो । भट्टराईको कम्युनिष्टसँगको हिमचिमले कांग्रेसभित्र गुट, उपगुट र विभाजन ल्यायो ।

गिरिजाप्रसादले राजालाई धम्काउने नाममा उग्र कम्युनिष्ट माओवादीसँग चाहिनेभन्दा बढी समर्पण गर्नुभयो । यसले कांग्रेस कमजोर मात्र भएन, दिशाहीन भयो । यो महासमिति बैठकले कांग्रेसको विगतको समीक्षा र भावी दिशा निर्माण गर्दा यी पृष्ठभूमिहरुलाई सिंहावलोकन गर्नुपर्ने छ ।

कांग्रेस–कम्युनिष्टवीचको सम्वन्ध अब कति नगिच र कति टाढा ? यसको छिनोफानो गर्ने थलो महासमिति हो । कांग्रेस सत्ता प्राप्तिका लागि भावी दिनमा कम्युनिष्टहरुसँग कुनै साइनो राख्दैन भन्ने निर्णय मात्रले पनि कांग्रेसमा उर्जा थप्छ । यो निर्णय राजनीतिक हो र कांग्रेस स्वयमका लागि चुनौति पनि ।

कांग्रेसको संगठनको मूलधार कम्युनिष्टविरोधी छ र यसका कार्यकर्ताहरुले पाउने उर्जा यहीँबाट प्राप्त गर्छन् । तसर्थ, राजनीतिक परिवर्तन र निरंकुशताविरुद्ध विगतमा कांग्रेस –कम्युनिष्ट एक भएर लडे । अब देश र नेपाली समाज रुपान्तरको मुद्दामा कित्ता फरक छ भनी साहसिक निर्णय गर्ने थलो महासमिति नै हो । गर ।

कि जुट, कि फुट

धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र वर्तमान संविधानका मूल्य र आदर्श हुन् । कांग्रेस यी सवै संवैधानिक मूल्य मान्यताप्रति आधा मनले अगाडि बढेको हो । यो महासमिति बैठकमा संविधानका मूलभूत मान्यताहरुप्रति सघन विचार विमर्श गरेर एउटा निष्कर्षमा पुग्न सक्नुपर्ने छ कांग्रेसले । आवश्यक पर्दा भोट पनि गर्नुपर्नेछ यी मुद्दाहरुमा । यहाँ कांग्रेस फुट्न पनि तयार हुनुपर्छ ।

वर्तमान संविधानलाई अंगीकार गर्ने कि यसका मूल्य मान्यताप्रति असहमत हुने ? महासमिति सदस्यहरुवीच जनमत गराउने श्रेय हुन्छ । यसो गर्दा कि पार्टी फुट्छ, कि जुट्छ र एकाकार भएर अगाडि बढ्छ ।

समाजवादी बन

आर्थिक प्रस्तावमा बजारमुखी उदारीकरणले ल्याएको सुविधा, सेवा र सम्पतिको थुप्रोबारे विषद बहस र छलफल गर्नुपर्छ महासमितिमा । उपभोक्तावादले नेपाल कहाँ पुग्यो र यो ठीक बेठीक कस्तो छ भनी बहस गर्ने थलो महासमिति नै हो ।

निश्चय नै नेपाली समाजमा उदारीकरणले थुप्रै अवसर र सम्भावनाको ढोका खोल्यो । तर, रोजगारी, गरिवी निवारण, भ्रष्टाचार, कुशासन, सरकारी संस्थाहरुको नैतिक पतन लगायत अनेकन रोग पनि पस्यो । समाजमा विकृति र विसंगतिको आक्रमक रुप पनि यतिखेर देखिन्छ भने त्यसको मूलकारण अनियन्त्रित क्रोनी पूँजीवाद नै हो भन्ने निष्कर्ष अध्येताहरुको छ ।

महासमितिको बैठकले नेपाली समाज विगत तीन दशकको खुला अर्थतन्त्रमा कता जाँदैछ र हाम्रा मूल्य मान्यताहरु कसरी पतनोन्मूख भैरहेका छन् भनी छलफल गर्ने कि नगर्ने ? संविधानमा उल्लेखित समाजवाद उन्मूख राष्ट्रलाई मूर्तरुपमा कस्तो हो भनी प्रष्ट पार्ने थलो पनि महासमिति नै हो । कम्तिमा पनि कांग्रेस दक्षिणपन्थी र वामपन्थीभन्दा फरक हो भन्ने सिद्धान्तको सूत्र यो महासमितिबाट प्रष्ट हुन जरुरी छ ।
यो पनि पढ्नुहोस वीपी, केपी र पुस १

भर्खरै कांग्रेस नेता रामचन्द्र पौडेलले सार्वजनिक गरेको लोकतान्त्रिक समाजवाद भन्ने हाते पुस्तकमा कांग्रेसले अब उग्र मध्यमार्गी अर्थात ‘एक्सट्रिम सेन्ट्रिस्ट’ पार्टी बन्नुपर्छ भनेका छन् । मध्यमार्गको ‘एक्सट्रिम’ रुप भनेको शिक्षा, स्वास्थ, यातायत, उर्जा, रोजगारी र भवनमा सरकारको नियन्त्रण हुन्छ भनी मानिन्छ ।

संविधानले परिकल्पना गरेको समाजवाद उन्मूख राष्ट्र अनि वीपी कोइरालाले परिकल्पना गरेको समतामूलक समाजवाद र अहिले रामचन्द पौडेलको हाते पुस्तिकाको समाजवाद झण्डै उस्तै छ । तर, के कांग्रेसले मध्यमार्गको बाटो समात्न सक्छ अहिले ? यो यस कारण पनि गाहे छ कि पार्टीमा उग्र दक्षिणपन्थी सोच भएकाहरु प्रभावशाली छन् ।

नेता नै हो लोकतान्त्रिक पार्टीमा

पार्टी संगठनभित्र न्यूनतम राजनीतिक चरित्र र नैतिक पक्षको सम्मिश्रण जरुरी हुन्छ । अराजनीतिक र अनैतिक संगठनले देश र समाज रुपान्तरणको कल्पना गर्न सकिन्न । कांग्रेसले नेतृत्वले संगठन ध्वस्त पारेर व्यापारी, ठेकेदार र भ्रष्टलाई च्यापेका छन् । संगठनमा कुनै योगदान नगर्नेलाई पटक–पटक सांसद, मन्त्री र अनेकन अवसर दिइएका छन् । यसले पार्टीको जुझारुपन र इमान्दारितामा खडेरी परेको छ । पार्टी किन यो ट्रापमा प¥यो भनी नेतृत्वलाई कठघरामा उभ्याउन सक्ला यो महासमिति बैठकले ?

अन्तमा,

लोकतान्त्रिक पार्टीको नेतृत्व हेरेर समग्र पार्टीको इमेज निर्माण हुन्छ आम जनतामा ।

पार्टी संगठनमा आसेपासे, लेनदेन, लाभ र संरक्षणबाट नेता हुन सम्भव छ । त्यस्तै पितापूर्खाको कथा र कहानी सुनाएर कार्यकर्तालाई भावनामा बगाउन पनि सकिन्छ । तर, आम नागरिक त्यसरी पार्टीसँग जोडिँदैनन् ।

पार्टी नेतृत्वको जनतासँगको सम्वाद शैली, शब्द चयन, र शारीरिक क्षमताले लोकतान्त्रिक नेता निर्माण हुने हो । नैतिक ओज र प्रतापवाट आम नागरिक पार्टीसँग जोडिने हो ।

देउवा मात्र असक्षम होइनन् । आज कांग्रेससँग राजनीतिक नेतृत्व क्षमताको भण्डारण केन्द्रदेखि जिल्ला अनि वार्ड तहसम्म पनि निथ्रिएको अवस्था छ । पुरानाले ओगटेका छन् पार्टी । नयाँले अवसर पाउँदैनन् । अनि नयाँ युवाहरु पनि कांग्रेसप्रति आकर्षित छैनन् । महासमिति बैठक सामु यस्ता अनेकन् चुनौति र अवसर दुबै छन् वृहत छलफल गरी पार्टीलाई दिशा निर्देशित गर्ने ।

कांग्रेस महासमिति बैठक कर्मकाण्डी नहोस् र यसले आफ्नो गौरवमय इतिहासको रक्षा गर्ने बाटो रोजोस् । तब मात्र कांग्रेस बिजुलीको पोलमा होइन, केन्द्र र सात प्रदेशमा अनि गाउँघर र अन्तराष्ट्रिय जगतमा पनि विश्वासिलो र भरपर्दो होला ।

अहिलेलाई यत्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment