Comments Add Comment

तपाईंको घरमा हजुरआमा हुनुहुन्छ ?

तपाईंको घरमा हजुरवा, हजुरआमा हुनुहुन्छ ? उहाँहरु दिनभर के गर्नुहुन्छ ? बुढ्यौलीले छोप्दै लगेको यो उमेरमा पट्यारलाग्दो दिनहरु कटाइरहनुभएको छ कि ? भजन-किर्तन गर्दै मनको शान्ति खोजिरहनुभएको छ कि ? औषधी-उपचारका लागि अस्पताल धाइरहनुभएको छ कि ? चिसो हातखुट्टा तताउन सिरकमा गुम्सिएर दिन बिताइरहनुभएको छ कि ? टोल-छिमेकमा आफ्ना दौतरीसँग पुराना दिनहरुको कुरा गर्दै मन बहलउनु भएको छ कि ?

दुर्लभ हुँदैछन् हजुरआमा-हजुरबा

अहिले परिवारमा हजुरआमा-हजुरबा दुर्लभ हुँदै गएका छन् । कतिपय दम्पती शहरमा बस्छन् । जागिर खान्छन् । व्यवसाय गर्छन् । उनीहरुलाई आफ्ना बुवाआमासँग बस्ने फुर्सद छैन । कतिपयलाई आफ्नै बुढा बुवाआमा बोझिलो लाग्छ । उनीहरुको स्यहार-सुसार गर्ने, पालनपोषण गर्ने, औषधी-उपचार गर्ने काम झन्झटिलो लाग्छ । तर, के ति बुढ्यौलीले छोप्दै गएका ति आमाबुवाको महत्व कति छ भन्ने कुरा हेक्का राख्नुभएको छ ?

तपाईंका आमाबुवा, तपाईंका छोराछोरीका हजुरआमा-हजुरबा हुन् । अहिलेका बालबालिका आफ्ना हजुरआमा-हजुरबासँग बस्न, खेल्न पाएका हुँदैनन् । किनभने उनीहरुलाई तपाईंले हजुरआमा-हजुरबाबाट विमुख गराउनुभएको छ । हजुरआमा हजुरबा गाउँमा छन् वा मुल घरमा छन् । तपाईं अलग हुनुहुन्छ । तपाईं आफ्ना पार्टनर र छोराछोरीसँग बस्नुभएको छ ।

यसमा तपाईंको रहर मात्र होइन, वाध्यता पनि छ । किनभने अहिलेको प्रतिस्पर्धात्मक युगमा तपाईंको व्यायभार बढेको छ । खर्च गर्नुपर्ने ठाउँहरु असिमित छन् । त्यही कारण तपाईंलाई कमाउनुपर्ने बाध्यता छ । घर-खर्च चलाउन मात्र होइन, जीवनलाई सरल र सहज बनाउनुपर्ने वाध्यता छ ।

आफ्ना सन्ततीका खातिर धन-सम्पति संचित गरिदिनुपर्ने वाध्यता छ । यस्ता वाध्यताहरुले तपाईंको दैनिकी धपेडीमा वित्दो छ । यतिसम्म कि, तपाईंलाई आफ्नै छोराछोरीसँग सुख दुःख बुझ्ने, कुराकानी गर्ने फुर्सद छैन ।

दिनभर तपाईं आफ्नै काम-धन्दामा व्यस्त । छोराछोरी स्कुल, पढाईमा व्यस्त । साँझ-विहानको भेटमा न तपाईंलाई छोराछोरीसँग खेल्ने, बोल्ने फुर्सद हुन्छ । न छोराछोरीलाई ।

तपाईंलाई थाहै छ, छोराछोरीलाई पालनपोषण गरेर, शिक्षा-दिक्षा दिएर मात्र पुग्दैन । उनीहरुलाई प्रेममय वातावरण पनि दिनुपर्छ । उनीहरुलाई हुर्कनका लागि मायालु स्पर्श पनि दिनुपर्छ । तर, यो कसरी संभव होला ?

संभव छ, यदि छोराछोरीका हजुरआमा-हजुरबाबा छन् भने उनीहरुलाई एकाकार हुने वातावरण तय गरिदिनुहोस् । अर्थात नातानातिनी र हजुरआमा-हजुरबाको सामिप्यमा पुर्‍याउनुहोस् ।

हजुरआमाको न्यानो स्पर्श

हजुरआमा-हजुरबासँग नातानानितीले सुरक्षित मात्र महसुष गर्दैनन्, न्यानोपन पनि अनुभूत गर्छन् । हजुरआमा-हजुरबाको अनुभवी, परिपक्क हातको स्पर्शले मात्र पनि उनीहरु परम आनन्द लिन सक्छन् । हजुरआमासँग आफ्ना लालाबाला हुर्काएको अनुभव हुन्छ । बालबच्चालाई कसरी स्यहार्ने, कसरी ख्वाउने, कसरी खुसी बनाउने, कसरी फकाई-फुल्याई गर्ने, कसरी निरोगी एवं बलियो बनाउने ? यावत् कुराको खास अनुभव हुन्छ, हजुरआमासँग ।

हजुरआमाको काखमा लुटपुटिदै हुर्कन पाउँदा नातीनानितीहरु पनि निकै फुरुंग हुन्छ ।

हजुरआमाको घरेलु ओखती

अहिलेका बच्चाहरु स्वास्थ्यका हिसाबले कमजोर छन् । जंकफुडमा अभ्यस्त उनीहरु शारीरिक रुपले निस्त्रिmय छन् । यसले गर्दा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । सामान्य चिसो लाग्दा रुँघाले सताउँछ । धुलो-मैलो खेल्नसाथ ज्वरो आउँछ । त्यही कारण उनीहरुलाई औषधी ख्वाउनुपर्ने हुन्छ ।

तर, हजुरआमा हुँदो हो त उनीहरुलाई घरेलु औषधी ख्वाइन्थ्यो । किनभने हजुरआमासँग त्यस्ता अनुभव हुन्छ, जसले भान्सामा उपलब्ध सामाग्रीबाट औषधी बनाउन सक्छिन् । उनीहरुमा कतिसम्म परिपक्क अनुभव हुन्छ भने, बालबालिकाको लक्षण हेरेर कुन समस्या छ र त्यसलाई कसरी निको बनाउने भनेर उचित घरेलु औषधी तयार गर्न सक्छन् ।

हजुरआमा-हजुरबा खुला विश्वविद्यालय

हजुरआमा-हजुरबासँग आफ्ना युगमा भोगेका मिठा मिठा कुराहरु हुन्छन् । ति कुराहरु अहिलेका बालबालिकालाई ‘परी कथा’ भन्दा कम रोचक लाग्दैन । उनीहरुका लागि हजुरआमा-हजुरबाको युग कसरी गुजि्रयो भन्ने कुरा पनि चासोको विषय हुनसक्छ ।

त्यसो त हजुरआमा-हजुरबा आफैमा खुला विश्वविद्यालय हुन् । उनीहरुसँग अथाह ज्ञान भण्डार हुन्छ । त्यो पनि व्यवहारिक र जीवनोपयोगी ज्ञान । आफ्नो जमनामा भोगेका, देखेका, बुझेका, सुनेका कुराहरुबाट उनीहरुले धेरै कुरा सिकेका हुन्छन् । त्यही कुरा आफ्ना नाती-नातिनीलाई बाढ्न सक्छन् । यस्तो ज्ञान हामीले अन्यत्र पुस्तकमा खोजेर पनि पाइदैन ।

हजुरआमाको खुसी

हजुरआमा-हजुरबाका लागि पनि नाती-नातिनीसँग खेल्न पाउनु आफैमा रोमाञ्चक क्षण हो । नाती-नातिनीसगँ खेलिरहँदा, कुरा गरिरहँदा उनीहरुले आफ्नो बुढ्यौली बिर्सन्छन् । उनीहरु बालापनमा र्फकन्छन् । वैंशालुवयमा र्फकन्छन् । नाती-नानितीसँग खेल्दा खेल्दै उनीहरुले आफ्नो पीडा, व्यथा भुल्छन् ।

दुबै एक्लोपनबाट मुक्त

नाती नातिनी  र हजुरआमा-हजुरआमा एकसाथ रहँदा दुबै एक्लोपनबाट मुक्त हुन्छन् । एकअर्काको साथी पाउँछन् । दुबै रमाउँछन् । खुसी हुन्छन् । न असुरक्षाको भय हुन्छ न एक्लोपनको दिक्दारी । नाती-नातिनीमा हजुरआमा हजुरबाले आफ्नो भविष्य खोज्छन् । आफ्नो भविष्य देख्छन् ।

ति कलिला आँखाहरुबाट उनीहरु सुदूर भविष्य हेर्ने अभिलाषाले रमाउँछन् । यसले उनीहरुको रोग-व्यथा पनि कम हुन्छ । बुढ्यौलीमा उन्मुक्त र उमंगमय दिनहरु विताउन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment