३० पुस, दार्चुला । जिल्लामा पहिलोपटक विद्युतीकरण हुँदा प्रयोग गरिएका काठेपोल जीर्ण हुँदासमेत फेरिएको छैन । जसले गर्दा सदरमुकाम खलंगा क्षेत्रमै विद्युतबाट विभिन्न जोखिम सिर्जना भएका छन् ।
दार्चुला जिल्लामा २०४९ सालमा डुङरी जलविद्युत योजनाले राखेका विद्युतीय काठेपोलहरु जीर्ण हुँदा पनि नफेरिएका हुन् ।
२०४३ सालमा निर्माण सम्पन्न भएको डुङरी साना जलविद्युत् योजनाको उद्घाटन तत्कालिन राजा विरेन्द्र शाहले उद्घाटन गरेका थिए ।
सुरुमा निजी क्षेत्रको स्वामित्वमा सञ्चालन भएको डुङरी जलविद्युत् योजना २०७३ कात्तिक महिनामा नेपाल विद्युत् प्राधिकणलाई हस्तान्तरण गरिएको थियो ।
अव्यवस्थित र घना बस्ती रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा हावाहुरी चलेर काठेपोल भाँचिने सम्भावना देखिएकाले विद्युतीय खतरा उत्पन्न भएको छ । कतिपय घरको पर्खालमा छोएर विद्युतीय लाइन विस्तार गरिएको छ ।
१०/१५ ओटा काठेपोलहरु फेर्ने तायरीमा रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका निमित्त प्रमुख मीनराज पन्तले बताए । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा कति ओटा काठेपोलहरु छन् भन्ने यकीन तथ्यांक नेपाल विद्युत् प्राधिकरणसँग पनि छैन ।
सुरुमा डुङरी जलविद्युत् योजना दार्चुला विद्युत् प्रालिको व्यवस्थापनमा सञ्चालन भएकाले काठेपोलको यकीन विवरण नभएको प्राधिकरणको दार्चुला वितरण केन्द्रको भनाइ छ ।
जोखिम रहेको भन्ने सेवाग्राहीहरुको गुनासो आए तत्काल काठेपोलहरु फेर्ने कार्य भइरहेको केन्द्र प्रमुख पन्त बताउँछन् ।
महाकाली नगरपालिकाले भने काठेपोल विस्थापनका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । विद्युत क्षेत्र सुधार शीर्षकमा महाकाली नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले बताए ।
प्रतिक्रिया 4