+
+

विद्यासुन्दरको गुनासो : मिडियालाई हट न्युज चाहिने, म कुल परेँ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते १६:३४

१२ चैत, काठमाडौं । मंगलबार पाँचवटा ब्रुमरमार्फत सडक सफाइको उद्घाटन गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सञ्चार माध्यमसँग भने गुनासो गरे ।

उनले आफूले विस्तारै विस्तारै राम्रो काम गरिरहे पनि सञ्चार माध्यमले चासो नदिएको बताए ।

उनले सञ्चार माध्यमले महानगरपालिकाको सकारात्मक कामबारे नलेखेको गुनसो पनि गरे ।  ‘मिडियालाई पनि हट–हट (तातो) न्युज चाहिने रहेछ, मेयर कुल–कुल (शितल) परेको चाहिँ थाहा छैन,’ उनले भने ।

उनले धुलो सिर्जना गर्ने निर्माण व्यवसायीलाई पनि खबरदारी गर्न पत्रकारलाई आग्रह गरे । ‘धरहरा क्षेत्र, बसपार्क क्षेत्रमा भइरहेको कामले सडकमा धुलो आइरहेको छ, त्यसमा पनि तपाईंहरुले लेखिदिनुपर्‍यो’, उनले भने ।

सडक विभागको बिग्रिएको ब्रुमरको अपजससमेत महानगरपालिकालाई थोपरिएको भन्दै उनले गुनासो गरे ।

‘एउटा पुरानो ब्रुमरको माथि जाली फुटेको रहेछ, तलबाट धुलो टिप्दै माथिबाट फाल्ने ब्रुमर भनेर मिडियामा समाचार आयो, यो मेयरले भ्रष्टाचार गरेको रहेछ भनेर लेखे, हट हट न्युज आएछ, सेयर पनि सयौं भएछ, त्यो सडक विभागको हो, हामीले किनेको होइन’, मेयर शाक्यले प्रष्टिकरण दिए ।

सञ्चार माध्यमसँग विगतमा पनि सहकार्य गर्न नसकेको भन्दै मेयर शाक्यलेसकारात्मक सहयोगको अपेक्षा गरिएको बताए ।

‘पेटिकोट लाएर जुलुस निकाल्यो भने सबै मिडियामा आउँछ, एक जना नांगो भएर सिंहदरबार अगाडि उभियो भने सयौं जना जान्छ, सबै मिडियामा कभर न्युज बन्छ, राम्रो काम चाहिं न्युज नै बन्दैन, मिडियालाई पनि हट हट न्युज चाहिने रहेछ’, उनले थपे ।

मेयर शाक्यले ब्रुमर किन्न खोज्दा अनेकन शंका आशंका गरिएको भन्दै सानो योजना पूरा गर्दा पनि ठूलो युद्ध नै जितेजस्तो हुने अवस्था सरकारी क्षेत्रमा रहेको सुनाए । ‘निजी क्षेत्रले गर्ने हो यो काम २ महिनामा सकिन्थ्यो,’ मेयर शाक्यले भने ।

साँघुरा सडकमा पनि ब्रुमर चल्ने

मेयर शाक्यले साँघुरा सडक र गल्लीमा पनि ब्रुमर चलाउने योजना रहेको बताएका छन् । मंगलबार ५ वटा ब्रुमरमार्फत सडक सफाइको उद्घाटन गर्दै उनले अब तत्कालै दुईवटा थप्ने जानकारी गराए ।

‘अब नयाँ ब्रुमर चल्न थालेपछि मेरो क्षेत्रमा सडक सफा गरिएन भनेर गुनासो आउँछ,’ उनले भने, ‘हामी फाराकिला सडकमा मात्रै हैन ३ मिटरसम्मका साँघुरा सडकमा पनि ब्रुमर लगाएर सफा गर्छौं ।’

उनले दुई वर्ष पहिलेदेखिको नयाँ ब्रुमर किन्ने योजना सफल बनाउन सकिएकोमा खुसी व्यक्त गरे । महानगरपालिको १० करोडभन्दा बढी रकम खर्चिएर इटालीबाट ५ वटा ब्रुमर हालै ल्याएको छ ।

मेयर शाक्यले राम्रो काम गर्न भनेरै महानगरपालिकाको नेतृत्वमा आएको बताउँदै सहयोग गर्न आग्रह गरे । आफूले राम्रो काम गरेको भन्दै कसैसँग नडराएको पनि जिकिर गरे । ‘लेख्नेको कामै हो लेख्दै गर्छ, उसले आफ्नो कर्तव्य निर्वाह गर्छ, आफूले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ’, उनले भने ।

काठमाडौंलाई धुलोमुक्त बनाउन लागिपरेको बताउँदै विस्तारै आफूलाई सबैले चिन्दै गएको उल्लेख गरे । ‘परिपक्व काम हुन अलि समय लाग्ला तर, अब काम हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?