
१६ चैत, बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको नाम परिवर्तन गर्न सुझाव दिएका छन् । उनले नेकपाको नाम फेरेर ‘सोसियल डेमोक्रेटिक पार्टी’ राख्न सुझाव दिए ।
शनिबार बिहान रुपन्देहीको बुटवलमा आयोजित साक्षात्कारमा वैद्यले भने, ‘आफ्नो बिचार, सिद्धान्त छोडेर हिँडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिबिधि गर्ने भएपछि किन नेकपा नाम राख्ने, सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् ।’
नेकपा नेतृत्वको अहिलेको सरकारले कम्युनिष्ट पार्टीकै बदनाम गरेको उनको आरोप छ ।
वैद्यले वर्तमान सरकारबाट बिकास र समृद्धि सम्भव नभएको दावी गरे । ‘भाषण र शब्दजालले मात्रै समृद्धि आउँदैन, सरकारका गतिबिधिले समृद्धिको लक्षण र सम्भावना देखाएन,’ उनले भने ।
प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल ‘भर्जिन ल्याण्ड’ भनेर नयाँ शब्द जाल फ्याँकेको वैद्यले टिप्पणी गरे ।
‘उहाँले नेपालमा बिकास कहाँ पुर्याउनुभयो । पानीजहाज, रेलगाडी कुदाइसक्नु भो, अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभाछ भर्जिन ल्याण्ड -कुमारी भूमी) मा । लगानी देशका मान्छेले गर्ने हो की बिदेशीले,’ प्रतिप्रश्न गर्दै वैद्यले भने ।
नेपालको प्रगतिका स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
सरकारले क्रान्तिकारीहरुलाई दमन गर्न थालेको भन्दै विरोध जनाए । पत्रकारहरुको प्रश्नमा वैद्यले नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका पार्टीसँग एकता सम्भव नभएको बताए ।
प्रतिक्रिया 4