Comments Add Comment

छोरालाई कस्तो संस्कार दिदै हुनुहुन्छ ?

तपाईंको घरमा छोरी छन् ? वा छोरा ? अहिले धेरैजसो दम्पतीले एकल सन्तान हुर्काइरहेका छन् । त्यसैले धेरैसँग छोरा र छोरी छैनन् । अझ दुई भन्दा बढी सन्तान त दुर्लभ छ । एक पुस्ता अघिसम्म एउटा दम्पतीले न्युनतम चार/पाँच छोराछोरी हुर्काउँथे । त्यसबेला ‘सन्तातले डाँडाकाडा ढाकुन्’ भनिन्थ्यो । पछि, ‘दुई सन्तान, ईश्वरको बरदान’ मान्न थालियो । अहिले दुई सन्तान पनि छाटिएर एक सन्तानमा सीमित भएको छ ।

अतः दुई श्रीमान् र श्रीमतीले एउटा सन्तान हुर्काइरहेका छन् । कसैसँग छोरा छ, कसैसँग छोरी ।

अब विषयलाई थोरै मोडौं ।

हाम्रो समाज अहिले फरक अवस्थाबाट गुज्रिरहेको छ । समाजमा यौन हिंसा बढेको छ । घरेलु हिंसा बढेको छ । केही समयअघि मात्र एक चिकित्सकको कुटाइबाट श्रीमतीको मृत्यु भएको खबर आएको छ । वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक सचितानन्द यादवले ४५ बषिर्षय श्रीमती सुनितालाई कुटपिट गरी हत्या गरे ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय वितिसकेको छ । त्यसबीचमा पनि थुप्रै महिला बलात्कारको शिकार भएका छन् । उनीहरुमाथि हिंसा भएको छ । हत्या भएको छ ।

समाजमा महिलाप्रति यति धेरै अमानविय व्यवहार बढ्दो छ । महिलामाथि हुने यस्ता दूव्र्यवहार पुरुष अर्थात छोरा दोषी छन् । जबकी महिला जो कसैकी छोरी हुन् । कसैकी आमा हुन् । कसैकी चेली हुन् । उनीहरु आज कति असुरक्षित ?

महिलाहरु बलात्कृत भएको, हिंसामा परेको, हत्या गरिएको शृंखला हेर्दा यस्तो लाग्छ, मानौं छोरा अर्थात पुरुषहरु यौन पिपासु, क्रुर, अमानविय हुन्छन् । अतः तपाईंको घरमा पनि त छोराहरु हुर्कदैछन् । तपाईंले उनीहरुलाई यस्तो कलंकबाट कसरी बचाउनुहुन्छ ?

छोराप्रतिको आशक्ति ?

हाम्रो समाज छोरामैत्री छ । दम्पतीहरु चाहन्छन्, छोरा होस् । जतिसुकै शिक्षित भनिएपनि, जतिसुकै सभ्य भनिएपनि छोराप्रतिको आशक्ति घटेको छैन । अंश र बंश धान्नका लागि छोरा हुनैपर्छ भन्ने मान्यताले नराम्ररी जरा गाडेको छ ।

हुन यही समाजमा यस्ता उदाहरण पनि छन्, जसले एक्लो छोरी हुर्काइरहेका छन् । उनीहरु एउटै छोरीमा चित्त बुझाइरहेका छन् ।

यद्यपी छोराप्रति आशक्ति राख्ने दम्पतीको तुलनामा एउटा छोरीमा चित्त बुझाउनेको संख्या न्युन छ । छोराप्रतिको आशक्ति कतिसम्म छ भने, कन्या भ्रुण हत्याको अत्यासलाग्दो शृंखला भित्रभित्रै मौलाइरहेको छ ।

गर्भ रहेपछि लिंग पहिचान गरेर छोरा जन्माउने जमात ठूलो छ, भलै यसलाई कानुनी रुपमा मान्यता नदिइएको भएपनि । अतः छोराप्रतिको यो आशक्ति र छोरा अर्थात पुरुषबाट हुने महिला हिंसामाथि अहिले केही प्रश्न उठाउनैपर्ने अवस्था छ ।

छोरालाई काख

अँ त, तपाईंको घरमा छोरो होलान् । छोरोलाई निकै राम्रो ख्याल राख्नुभएकै होला । शिक्षादिक्षा राम्ररी दिनुभएको होला ।

संभ्रान्त, शिक्षित भनिनेको घरमा पनि छोरालाई निकै महत्व दिएर हुर्काइरहेको पाइन्छ । उनीहरुको पालनपोषणमा आमाबुवाले निर्धक्क समय र पैसा खर्च गरिरहेका हुन्छन् । किनभने भोलिका दिनमा आफुलाई पाल्ने त्यही छोरो हो भन्ने मानसिकताले गहिरो जरा गाडेको छ । यसले गर्दा पनि छोराप्रति दम्पतीको आशक्ति निकै छ ।

तपाईंले आफ्नै घर वा छिमेकमा नियाल्नुहोस्, छोरीलाई भन्दा छोरालाई हरेक कुरामा महत्व दिइन्छ । उनीहरुलाई धेरे कुरामा छुट दिइन्छ । घुमफिर, मनोरञ्जन, किनमेल । तर, छोरीलाई भने कतिपय कुरामा बन्देज लगाइन्छ ।

खानेकुरा, लुगाफाटो, अन्य सुविधामा छोरालाई बढी काखी च्यापिरहेका हुन्छन् ।

कस्तो छोरा हुर्काउँदै हुनुहुन्छ ?

तपाईंलाई यो प्रश्न अलि तीतो लाग्नसक्छ कि, आज तपाईंले सम्पूर्ण प्रेम दिएर हुर्काउनुभएको छोराले तपाईंजस्तै कुनै नारीमाथि खराब कृत्य गर्ने होइनन् ?

तपाईंका छोरा हुर्कनेछन् । उनीहरु स्वभाविक रुपमा युवतीप्रति आकषिर्त हुनेछन् । के उनले अरुको छोरी-चेलीलाई राम्रो व्यवहार गर्लान् ?

विवाह गर्नेछन् । श्रीमती भित्र्याउनेछन् । के उनले आफ्नी श्रीमतीलाई राम्रो व्यवहार गर्लान् ?

भोलिको दिनमा तपाईंको छोराले ति तमाम गल्ती दोहोर्‍याउन सक्छन्, जो तपाईंले कल्पना गर्नुभएको थिएन । त्यही कारण तपाईंले आज नै छोराको आचरण र बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । उनीहरुको सोंच र शैली बदल्नुपर्छ । तर, कसरी ?

उपदेश दिएर वा अर्ति दिएर छोराको बानी परिवर्तन गर्न सकिदैन । यसका लागि उनलाई घरमा नै यसरी अभ्यास गराउनुपर्छ कि, उसले हरेक नारीप्रति सन्तुलित व्यवहार गर्न सकोस् । हरेक नारीलाई सम्मान गर्न सकोस् ।

घरका काममा लिंगभेद नगरौं । कुनैपनि काममा छोरा र छोरीलाई सराबरी खटाउने गरौं । छोरालाई पनि खाना पकाउने, भाँडावर्तन सफा गर्ने, घर सफा गर्ने काममा अभ्यस्त गराऔं । भलै उनीहरुले यी काम गर्नु नपरेपनि त्यसबारे उनीहरुमा अनुभव हुन्छ । घरायसी काम गर्दाको दुःख, समस्या राम्ररी अनुभूत गर्न सक्छन् ।

घरलाई महिलामैत्री बनाउने अभ्यास गरौं ।

अक्सर चाडपर्व, जमघट, उत्सवमा महिलाहरु खानेकुरा बनाउने, भाँडावर्तन सफा गर्ने प्रवृत्ति हुन्छ । यस किसिमको प्रवृत्तिलाई निरुत्साहित गरौं र छोरालाई पनि यस्तो काममा सहभागी गराऔं ।

महिलाहरु विभिन्न शारीरिक समस्याबाट गुजि्ररहेका हुन्छन् । कोही मासिक श्रावको अवस्थामा हुन्छन्, कोही गर्भावस्था । उनीहरुको शारीरिक पीडाबारे पनि छोरालाई जानकारी गराउनुपर्छ ।

सार्वजनिक ठाउँमा हिँडडुल गर्दा वा सार्वजनिक यातायात चढ्दा महिलालाई प्राथमिकता दिन सिकाऔं ।

हामीले छोरालाई यसरी हुर्काइरहेका हुन्छौ कि भोलि गएर उनीहरु नै घर परिवारका सर्वेसर्वा हुन् । उनीहरु नै स्वमी हुन् । यसले नै छोराहरुमा दम्भको विजारोपण हुन्छ । उनीहरु अंहकारले फुल्दै जान्छन् । आफ्नो छोरामा यस्तो दम्भ, अहंकार पैदा नहोस्, त्यसका खातिर अहिले नै तपाईंले उनलाई उचित संस्कार दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment