
१० वैशाख, ललितपुर । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएका बुङ्गमतीका धेरै घरहरु बनिसके ।
कतिपयले पुरानै घरलाई टालटुल गरेर बस्न मिल्ने बनाए, कतिपयले नयाँ घर बनाए । केही घरहरु बन्ने क्रममै छन् । तर, वर्षा र सहकालका देवताका रुपमा उनीहरुले पुज्ने रातो मछिन्द्रनाथको मन्दिर भने एक्लै लडिरहेको छ ।
हुन त भूकम्प गएकै वर्षको २ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिर पुनर्निर्माणको शिलान्यास पनि गरेका थिए । पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवापछि फेरि ओली नै प्रधानमन्त्री भएको एक वर्ष कट्दा पनि यो मन्दिर भने बनेको छैन ।
यस्तो मन्दिर पनि ढल्यो !
मन्दिर छेवैमा थुपारिएका ईंटाका टुक्रा, टुँडाल, ढुंगाका पिलर हेरेर स्थानीयबासी काम होला भन्ने आश गर्छन् । त्यही आशले चार वर्ष बित्यो । काम भइरहेको छ, काम होला भन्दै बसेका उनीहरु अब भने मन्दिर नै नबन्ने त होइन भन्ने प्रश्न गर्न थालेका छन् ।
‘अब त समय पनि धेरै भइसकेको छ । ठेक्का लिनेले पनि समय गुजारिसक्यो’ स्थानीय अनिल शाक्य भन्छन्, के भइरहेको छ, कसरी काम हुने हो भन्ने केही थाहा छैन, आफू खाइखेली हुर्किएको मन्दिर अलपत्र परेको देख्दा असाध्यै नरमाइलो लाग्छ ।’
हुन पनि भूकम्प गएको दिन पनि उनी रातो मछिन्द्रनाथ देखेर अवाक भएका थिए । मन्दिरकै अगाडि उनको घर थियो । भूकम्प आएपछि दुई छोरीलाई अँगालो हालेर मन्दिरतिर नै आँखा लगाइरहेका थिए । रातो मछिन्द्रनाथको १२ वर्षे मेला चलिरहेको त्यो समय वरपरका पुराना घरहरु सबै भत्किएर धुलोको मुस्लो आयो ।
‘धक्का अलिकति साम्य भएपछि आँखामा एक्कासी भत्किएको मछिन्द्रनाथ मन्दिर पर्यो । यसो हेर्दा त मन्दिर नै छैन । म त अक्क न बक्क भएँ,’ उनले सम्झिए ।
त्यस्तो मन्दिर पनि ढल्ला भन्ने अनिललाई लागेकै थिएन तर, ढल्यो । केही समयपछि स्थानीय मन्दिर पुनर्निर्माणबारे छलफलमा जुटे । आर्थिक सहयोग गर्छु भन्नेहरु निस्किए । स्थानीय चन्दन शाक्य सम्झन्छन्, ‘बुङ्मतीका मात्र होइन, ललितपुरका अन्य बासिन्दाहरुले कसैले कति लाख, कसैले कति लाख सहयोगका बचन दिएका थिए ।’
उनका अनुसार सहयोग लिएको भए ५ करोड नाघ्थ्यो । तर, सहयोगका बचन आए पनि पैसा उठाएनन् ।
त्यो उच्चस्तरीय सहमति
स्थानीय स्तरमा पुनर्निर्माणबारे छलफल चलिरहँदा नै श्रीलंकन सरकारले नेपाल सरकारसँग दुई सम्पदाको पुनर्निर्माणको सहमति गर्यो । स्वयम्भूको आनन्द गुठी बिहार र बुङ्गमतीको रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि उच्चस्तरीय रुपमा भएको सहमति स्थानीय बासिन्दा त परको कुरा पुरातत्व विभागलाई समेत जानकारी थिएन ।
रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काममा श्रीलंकन सरकारको आर्थिक सहयोगमा हुने भयो । करिव ५ करोड लागतमा पुरातत्व विभागमार्फत ठेक्का प्रक्रिया अगाडि बढ्यो । ‘मन्दिर बनाउने सहमति भएर काम सुरु भइसक्दा मात्रै हामीलाई जानकारी भयो । वडाअध्यक्ष समेत अरुले सोधेको प्रश्नको जवाफ दिन सक्ने अवस्थामा थिएनन् भने हाम्रो त कुनै सहभागिता र जानकारी हुने कुरै भएन,’ चन्दन भन्छन् ।
थेगिम/प्रेरा/तुलसी गरी तीन कम्पनीले संयुक्त रुपमा ४ करोड ७४ लाख ४५ हजारमा ठेक्का पाए । त्यसबेला मन्दिर पुननिर्माणको काम दुई वर्षमा नै सक्ने भनिएको थियो ।
अनि परपर भाग्यो ठेकदार
सुरुदेखि नै सशंकित स्थानीय त्यसबेला झस्किए, जब ठेकदारले मन्दिरको जगमा पुरानो दाँची (इँटा)को सट्टा तराईबाट ल्याएको इँटा प्रयोग गर्यो । श्रीलंकन दूतावासले खटाएका इञ्जिनियर, पुरातत्वका अधिकारीसँग छलफल गर्दा पनि यो विषय नसल्टिएपछि स्थानीयबासीले ठेकदारले लगाएको जग भत्काइदिए र आफैं श्रमदान गरेर नयाँ बनाए ।
‘झण्डै ७० जना मिलेर बिगारेर गरिएको जगको सबै ढुंगा निकाल्यौं र श्रमदान गरेर बनायौं । त्यसपछि पनि काम राम्ररी हुनुपर्छ भनेर ठेकदारलाई पनि भन्यौं,’ स्थानीय अनिल शाक्यले भने ।
स्थानीयबासीले निगरानी गर्न थालेपछि ठेकदार कम्पनी परपर भयो र दुई वर्षमा सक्नुपर्ने पुनर्निर्माणको काम ६ महिना समय थप्दा पनि सकेको छैन ।
ठेकदार आउने, हेर्ने र फर्किने काम मात्रै भयो । झ्यालमा जसोतसो अडाइएका खापाहरुमा समेत बुट्टा कुँद्न बाँकी नै रहेकाले पनि उनीहरुको कामको गति बुझ्न सकिन्छ ।
‘हामीले धेरै ठाउँमा छलफल गरिसकेका छौं, तर भएको केही छैन । काम नगर्ने ठेकदारलाई कारबाही नगरेसम्म केही हुँदैन । ठाउँमा बसेका मान्छे जागरुक हुनुपर्यो,’ रातो मछिन्द्रनाथ मन्दिर रहेको वडा नम्बर २२ का वडाध्यक्ष अम्बिर राज शाक्य भन्छन् ।
अहिलेसम्म ३० प्रतिशत जति मात्रै काम भएको छ । किन बनेन त मन्दिर ? स्थानीयको गुनासो छ, ‘मन्दिर भनेकै थाहा नहुनेले ठेक्का लिएर काम गरेपछि यस्तै हुनेरहेछ । सडकको ठेकदारहरु मन्दिर बनाउन लागिपर्छन्, अनि नाफा मात्रै खोज्दा काम हुँदैन ।’
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन स्थानीयको दाबी एक हदसम्म स्वीकार गर्छन् । ‘खरिद ऐनले नै सडकको ठेकदारलाई सम्पदाको ठेक्का लिनबाट रोक्दैन, यसमा सुधार नगरेसम्म मछिन्द्रनाथमा जस्तो अवस्था आइरहन्छ, बरु स्थानीयकै सहभागितामा पुनर्निर्माण भएका सम्पदामा काम भएका छन्,’ उनी भन्छन् ।
मछिन्द्रनाथ मन्दिरको पानेरु (३२ जना पुजारी) संघले पुनर्निर्माणमा भएको काम हेरिरहेको भएपनि आवश्यक चासो नदिएको स्थानीयको गुनासो छ । पहिलाको भन्दा मन्दिरको भित्री भाग साँघुरिएको उनीहरुको दाबी छ, जसलाई पुजारीले भने सुनेका छैनन् ।
‘आफ्नै मछिन्द्रनाथ मन्दिर बनाउन आफैं पैसा हाल्छौं र बनाउँछौं’ भनिरहेका उनीहरु पर्ख र हेर बाहेक अरु केही गर्न सक्दैनन् । मूर्तिहरु चोरी भएर हैरान भएका बुङ्मतिका बासिन्दा भूकम्पपछि अलपत्र भएका बहुमूल्य सामान हराउला कि भन्ने डरमा पनि छन् ।
काम नगर्ने ठेकदारले नै मुद्दा हाल्यो
रातो मछिन्द्रनाथमा कछुवा गतिमा जसोतसो भइरहेको काम पनि गएको दुई महिनादेखि ठप्प छ । ठेक्कामाथि ठेक्का हुँदा बिगि्रएको काममा अहिले ठेकदारहरुबीच नै बेमेल देखिन्छ ।
ठेक्का लिने मुख्य कम्पनी थेगिमबाट काम लिएर सुवर्ण श्रेष्ठले गरिरहेको काम समयमा सम्पन्न नभएपछि श्रीलंकन सरकार पनि बेखुशी देखियो । पुरातत्वमा भएको निरन्तरको छलफलमा कालोसूचीमा राखेर कारबाही गर्नेसम्मको तयारी सुरु भयो ।
पुरातत्व विभागका सिनियर डिभिजन ईन्जिनियर सम्पत घिमिरे रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण ढिलाई हुनुमा निर्माण व्यवसायीबाहेक अरुको गल्ती नरहेको बताउँछन् । ‘ठेक्का लिने, पैसा लाने अनि काम भने समयमा नगर्ने, ठेक्का लिनेकै गल्ती स्पस्ट छ । यसैले श्रीलंकन सरकार, ठेकदार कम्पनी र स्थानीय सबैसँगको छलफलमा ठेकदारले काम गर्न सक्दैन भनेर हामीले भनेका छौँ,’ उनले भने ।
थेगिमबाट काम लिएका सुवर्णले आफूले काम गर्न नसक्ने भन्दै अर्कोलाई दिने बताएका छन् । तर, आन्तरिक सहमति विपरित उनले अहिले श्रीलंकन दूतावास, थेगिम/प्रेरा/तुलसी जेभी र बैंक ग्यारेन्टी थुतिएको बंगलादेश बैंकविरुद्ध मुद्दा हालेका छन् ।
‘बैंक ग्यारेन्टी राखेर उसले लगेको पेश्कीको काम पनि भएन । त्यसैले श्रीलंकन सरकारले बैंक ग्यारेन्टी तानिदियो । त्यही कारण मुद्दा हालेको छ,’ पुरातत्वका इन्जिनियर घिमिरेले भने ।
अर्कोलाई काम गर्न दिन्छु भनेर सहमति नै गरेका सुवर्णले थप भएको म्यादमा समेत काम नगरेर बैंक ग्यारेन्टी थुतिँदा किन मुद्दा हाले त ? सुवर्ण भन्छन्, ‘मैले राम्ररी काम गर्न पाएको समय ६ महिना मात्रै हो । त्यतिमा ३० प्रतिशतभन्दा कति काम हुन्छ त ? कहिले चुना भएन भन्ने, कहिले ईंटा भएन भन्ने, जग हाल्ने साइत नमिल्ने, सामान भनेको बेला नपाउने समस्या परेकाले म्याद गुज्रिएको हो ।’
१६/१४ को ढुंगा खोज्नेदेखि भनेकै ईंटाको लागि कुुर्नपर्दा समय गएको र आफ्नो खर्च भएको ५० लाख रुपैयाँ नदिई उल्टै ६० लाख बैंक ग्यारेन्टी थुतिदिएकाले मुद्दा हालेको उनको तर्क छ ।
स्थानीयबासी भने ठेकदारमाथि ठेकदार लाग्दा मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अझै कति समय लम्बिने हो भन्ने चिन्तामा छन् । ‘श्रीलंकन सरकारले ललितपुर महानगरपालिकासँग सम्झौता गरेर काम गर्ने कि भन्ने कुरा पनि भएको थियो त्यसरी भयो भने काम होला कि,’ स्थानीय अनिल शाक्य झिनो आश व्यक्त गर्छन् ।
तस्वीर : शास्वत पन्त
प्रतिक्रिया 4